हामी सबैलाई थाहा छ कि पृथ्वीले सूर्यलाई घुम्छ; तर सूर्यले पृथ्वीलाई घुम्दैन; हैन त ? तर हाम्रो आँखाले त सधैं नै सूर्यले पो पृथ्वीलाई घुमेको देख्छौं त । अब मलाई भन्नुस सत्य कुरा कुन हो ? हामीले बिहान पूर्वबाट उदाएको सूर्य बेलुकी पश्चिमबाट अस्ताएको देख्छौं, अनि भोलिपल्ट फेरि त्यहि पूर्वबाट उदाएको देख्छौं । हाम्रो आँखाले देखेको “तथ्य” के हो भने दिन दिनै सूर्यले पृथ्वीलाई घुम्छ; तर पृथ्वी चाहिं कहिल्यै चल्दैन, यसले कसैलाई पनि घुम्दैन । यहि होइन र ? यो पक्कै पनि तपाईं हामी सबैले आफ्नै आंखाले देखेको कुरा हो । यो हामीले देखेकै हौँ कि सूर्यले पृथ्वीलाई घुमेको कुरा, तरपनि यो “सत्य” चाहि होइन, यो केवल “तथ्य” मात्रै हो ।
“सत्य” के हो भने हामीले कहिल्यै पनि नदेखेको कुरा: पृथ्वीले पो सूर्यलाई घुम्छ । जुन पृथ्वी चलेको, घुमेको हामीले कहिल्यै देखेको छैन, त्यहि पृथ्वीले चाहिं सूर्यलाइ घुम्छ रे ल.. कति अचम्म !!!
यहांहरुले यो कुरा बुझिराख्नुस “तथ्य” कुरा र “सत्य” कुरामा ठुलो भिन्नता हुन्छ । तपाईंहरु अहिले “तथ्य” हरुको पछि दुगुर्दै हुनुहुन्छ । त्यो हो हो जस्तै पनि देखिएला; धेरै मानिसले पनि पत्याउलान, तर पनि त्यो “तथ्य” “सत्य” होइन ।
“सत्य” पत्ता लगाउने हो भने त्यो “सत्य” मा भिज्नुपर्छ, त्यसलाई एकपटक चाखेर हेर्नुपर्छ । रंग एउटै छ भनेर हरियो घाँस र हरियो अंगुरको स्वाद एउटै कदापि हुदैन । तपाईंले अंगुर नखाएसम्म त्यसलाई हेरेर मात्रै त्यसको स्वाद यस्तै छ भनेर भन्न मिल्दैन ।
संसार अहिले “तथ्य”हरुको पछि कुदिराखेको छ; तर “सत्य” लाइ बिर्सिएको छ । आफ्नो आँखामा बाँधिएको कालो पट्टिको बारेमा पत्तो छैन; अनि कुर्लदै हिड्छ :- ये; धर्ति, आकास, समुन्द्र त सबकासब कालो छ । तर “सत्य” यो हो कि ख्रीष्ट येशूमा मुक्ति छ, शान्ति छ र अनन्त जीवन छ । जुन आज होइन जस्तो लाग्ला यहांहरुलाई, तर मलाई बिश्वास छ: कुनै दिन अवस्य बुझ्नुहुनेछ । आखिर सुरुमा सूर्यले पृथ्वीलाई घुम्ने होइन पृथ्वीले पो सूर्यलाई घुम्ने हो भन्दा कसले चाहिं पत्याएको थियो र हैन?
तपाईंहरु आफुँलाइ भौतिकबादी भन्नुहुन्छ । एकपटक आफ्नो कलेजो, मुटु, आन्द्रा, सबै अंगहरु सम्झनुस त; तपाईंको आँखालाइ बिचार गर्नुस त । यदि तपाईंको आँखा भएको ठाउँको हड्डीभित्र कान र कान भएको ठाउँमा बाहिरै खुल्लामा आँखा भएको भए के हुन्थ्यो होला ? सायद अहिले तपाईं अन्धो हुनुहुन्थ्यो होइन त? किनकि आँखा जस्तो संबेदनसिल अंगलाई खुल्लामा जोगाएर राख्न गाह्रै हुन्छ । तर आँखा सहि ठाउँमा नै राखिएको छ, एउटा अचम्मको शक्तिले काम गरेको छ, मान्छे लगाएत अन्य जनावरको अंगहरुको सृष्टि अनि स्थापन गर्नमा । दिमागलाइ नै बिचार गर्नुस; यदि भौतिकबादीहरुले दावी गरे जस्तै बाँदरबाट मान्छे बनेका हुन्थे भने त मान्छेले यस्तो चमत्कार गरेर ग्रह उपग्रह चहारिसक्दा सम्म त्यो बाँदरले पनि त घरजम गरेर बस्ने हुनुपर्ने नि हैन? त्यसले पनि आफ्नो छुट्टै भाषाको बिकास गरेर लेख्ने पढ्ने गर्नुपर्ने । होइन त?
तर त्यो सम्भव छैन; बाइबलले बताए जस्तै अन्य सबै जनावरहरु चाही खालि जनावर मात्रै हुन्, तर परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो । र त मानिसको दिमाग झन् भन्दा झन् तिखो बन्दैछ । तर अफसोस त्यहि तिखोले घोचेर धेरैको आत्मिक आँखा फुटाइदिएको छ । तपाईंहरु जस्तै धेरैको आँखामा कालो पट्टि बाँधीदिएको छ। अनि तपाईंले खालि देख्नुहुन्छ त केवल अन्धकार नै अन्धकार । तर अचम्मको कुरा कालो पट्टि फालेर झिलिमिली संसार देखेका हामीहरुसँग तपाईंहरु सधैं नै लिंडेढिपी गर्नुहुन्छ कि यो संसार कालो मात्रै छ । अब तपाईंलाइ कसरि सम्झाउनु ?
Discussion about this post