२०८३ असोज २७, मंगलवार
काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँको अध्यक्षतामा आयोजित उक्त सभाले पुँजी विस्तार, बोनस शेयर वितरण तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने लगायतका महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय विवरणहरू स्वीकृत गर्दै शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ र उक्त बोनस शेयरमा लाग्ने कर समेत कम्पनी आफैँले व्यहोर्ने निर्णय गरेको छ । दीर्घकालीन विकास रणनीतिलाई अघि बढाउँदै कम्पनीलाई प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने प्रस्ताव समेत साधारणसभाले अनुमोदन गरेको छ ।
कम्पनीले आफ्नो चुक्ता पुँजी १ अर्ब रूपैयाँ पुर्याउने लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरूप कुल चुक्ता पुँजीको २० प्रतिशत बराबर हुन आउने २० लाख कित्ता शेयर सर्वसाधारणका लागि (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको कम्पनीले जनाएको छ ।
आगामी दिनमा लगानीको दायरा फराकिलो बनाउँदै जलविद्युत्, कृषि, आवास, उद्योग, हवाई उड्डयन, होटल तथा पर्यटन जस्ता उत्पादनमूलक र प्रतिफलमुखी क्षेत्रहरूमा लगानी विस्तार गर्ने रणनीति कम्पनीले सार्वजनिक गरेको छ । सभाका अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँले २१ वर्षे व्यावसायिक यात्रामा निरन्तर सहयोग पुर्याउने सम्पूर्ण सरोकारवालाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा संस्थालाई अझ सबल, पारदर्शी र प्रतिस्पर्धी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।















Discussion about this post