२८ असोज २०८३, बुधबार
काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको समूहमा देखिएको उकालो यात्राले बजार विश्लेषक तथा लगानीकर्ताहरूमा नयाँ उत्साह भरेको छ। विगतमा धेरैको गुनासो रहने गर्दथ्यो कि अत्यधिक सेयर आपूर्तिको कारण बैंकहरूको मूल्य खासै चलायमान हुँदैन, तर पछिल्लो डेढ महिनामै बैंकिङ समूहको सूचक करिब ९.१२ प्रतिशतले वृद्धि भई १,५४३ अंकमा पुगेको छ। समग्र नेप्से परिसूपार्ने चक सुस्त गतिमा रहँदा पनि बैंकहरूको सेयर मूल्यमा देखिएको यो उछालले सेयर बजारमा बैंकिङ क्षेत्र फेरि एकपटक मुख्य आकर्षणको केन्द्र बनेको स्पष्ट संकेत गर्छ।
यस अवधिमा केही वाणिज्य बैंकहरूको सेयर मूल्यमा २३ प्रतिशतसम्मको आकर्षक वृद्धि देखिएको छ भने लाभांश घोषणा गरिसकेका बैंकहरूको प्रतिफलसमेत लगानीकर्ताको खातामा जोडिन थालेको छ। सिद्धार्थ, एभरेस्ट, नबिल, सानिमा, ग्लोबल आईएमई, माछापुच्छ्रे, सिटिजन्स र कुमारी लगायतका बैंकहरूले नगद तथा बोनस सेयरमार्फत लाभांश वितरण गरिसकेका छन् र यी बैंकहरूको लाभांश मूल्यमा समेत समायोजन भइसकेको छ। लगानीका लागि सबैभन्दा भरपर्दो मानिने मूल्य आम्दानी अनुपात (पीई रेसियो) वाणिज्य बैंकहरूको तुलनात्मक रूपमा न्यून हुनु र निक्षेपको ब्याजदर ओरालो लागेर साढे २ देखि ३ प्रतिशतको बिन्दुमा झर्नुले पनि लगानीकर्ताहरू सुरक्षित प्रतिफलका लागि बैंकिङ कित्तातर्फ आकर्षित भएको देखिन्छ।
यसका साथै, बैंकहरूको निष्क्रिय कर्जा (NPL) अब योभन्दा खराब नहुने र आगामी दिनमा उठ्न बाँकी साँवा तथा ब्याजको असुली बढ्दै जाँदा यसले वितरणयोग्य नाफामा सकारात्मक प्रभाव बलियो अपेक्षा लगानीकर्तामा रहेको छ। अर्कोतर्फ, बैंकहरूले सेयर तथा डिबेन्चरमा गरेको लगानी बिक्री गर्न पाउने होल्डिङ अवधि ६ महिनाबाट घटाएर ४५ दिन कायम गरिएको लचिलो नीतिले पनि बैंकहरूको नाफा वृद्धिमा थप टेवा पुग्ने विश्लेषकहरूको विश्लेषण छ। यता जलविद्युत् लगायतका अन्य क्षेत्रमा देखिएका केही असहजता र झट्काका कारण त्यताको लगानी पनि सुरक्षित र स्थिर मानिने बैंकिङ क्षेत्रतर्फ प्रवाहित हुँदा समग्र वित्तीय बजारमा सकारात्मक तरङ्ग पैदा भएको छ।
यतिबेला नेपालको सेयर बजार समग्रमा एक किसिमको सुस्त वा स्थिर चालमा देखिन्छ। बजारमा ठूलो उतारचढावभन्दा पनि करेक्सन र कन्सोलेडेसन प्रक्रिया चलिरहेको छ। नेप्से परिसूचक करिब २,६०० को विन्दु आसपासमा स्थिर रहेर कारोबार भइरहेको छ। समग्र बजारको कारोबार रकम र सेयर खरीदविक्रीको गति केही मत्थर भए पनि यसैबीचमा क्षेत्रगत भिन्नता प्रष्ट रूपमा देखिएको छ। समग्र बजार सुस्त रहँदा पनि केही विशिष्ट समूहहरूले भने बजारलाई नेतृत्व दिने प्रयास गरिरहेका छन्, जसमध्ये बैंकिङ क्षेत्र सबैभन्दा अग्रपंक्तिमा उभिएको छ।















Discussion about this post