मंगलवार, अक्टोबर १८, कार्तिक २
‘हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ।’ —विलाप ३:२३
के तपाईं आफूले बर्बाद गरेको समय, गुमाएको अवसर, गरेका पापहरू, अनि आफूले नष्ट गरेका सम्बन्धहरूका बारेमा पछुतो गर्दै जिइरहनुभएको छ? यसले तपाईंलाई बुद्धि सिकाउँदैन र अर्को पटक योभन्दा राम्रो गर्ने तपाईंको दृढतालाई उत्प्रेरित गदैन भने, पछुतो समयको बर्बादी मात्रै हो। अनि तपाईंको सास रहेसम्म ‘अर्को पटक’ भन्ने कुरा रहनेछ। बाइबलले परमेश्वरलाई यसरी वर्णन गर्छः ‘हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईंको विश्वस्तता महान् छ।’ यसकारण, तपाईंले पछुतोसँग कसरी व्यवहार गर्नुपर्छ त ?
तीन वटा काम गरेरः
१) याद गर्नुहोस्। रोकिनुहोस् र तपाईंले जे गर्नुभयो त्यसो गर्न तपाईंलाई प्रेरित गर्ने कृयाकलाप, सोच र भावनाहरूको बारेमा विचार गर्नुहोस्। इमानदारितासाथ आफ्ना गल्तीहरूको सूची बनाउनुहोस्। ती स्वीकार गर्नुहोस् ! बहाना बनाउनुमा कुनै समाधान छैन। दाऊदलाई उनको पापसहित सामना गरिँदा, उनले भने, ‘परमेश्वरको सामु म दोषी छु।’ दाऊदको उदाहरण पछ्याउनुहोस्।
२) पश्चात्ताप गर्नुहोस्। बाइबलले भन्दछ, ‘ईश्वरीय शोकले पश्चात्ताप उत्पन्न गर्छ’ (२ कोरिन्थी ७:१०)। बारम्बार पापको चक्रमा फस्नुहुँदा, ‘अब म सुत्छु, राती नै मरेँछु भने मेरो आत्मा तपाईंकहाँ लैजानुहोस् भन्ने प्रकारको घोकन्ते प्रार्थनाले तपाईंलाई केही सहायता गर्दैन। पापले परमेश्वरलाई, तपाईंलाई र अरूलाई चोट पुर्याउँछ ! पश्चात्तापको खास अर्थ तपाईंलाई यस्तो अवस्थामा पुर्याउनु हो जहाँ तपाईंले पापलाई घृणा गर्नुहुन्छ र यसलाई इन्कार गर्ने र त्याग्ने निर्णय लिनुहुन्छ।
३) फेरि केन्द्रित हुनुहोस्। बाइबलका केन्द्रिय विषयहरूमध्ये एउटा ‘पुनरुत्थान’ हो। यसको अर्थ तपाईं फेरि उठ्न सक्नुहुन्छ। परमेश्वरले आफ्नो वचनमा भन्नुभएको छ, ‘बितेका कुराहरूलाई भूल, उहिलेका कुराहरूलाई विचार नगर। हेर, म एउटा नयाँ कुरो गर्दैछु’ (यशैया ४३:१८–१९)। तपाईंको जीवनलाई सम्हाल्न र अझ महान् कुराहरूतर्फ अघि बढ्नका लागि यो एउटा अवसरसहितको एउटा नयाँ दिन हो। पछुतोमा पुराना कुरा सम्झेर यसलाई खेर नफाल्नुहोस् !
आत्मिक भोजनः प्रस्थान ३६–३८, यूहन्ना ५:१६–३०, भजन ४१, हितोपदेश २७:७–९,
Discussion about this post