३० असोज २०८३, शुक्रबार
काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको २९औँ संस्करणमा भाग लिन २० जना युवा खेलाडीसहित २९ सदस्यीय नेपाली खेल टोली आज चीन प्रस्थान गर्दैछ। आगामी असोज ३१ गतेदेखि कात्तिक ९ गते (अक्टोबर १७ देखि २६ तारिख) सम्म हुने यस प्रतिष्ठित प्रतियोगितामा १६ देखि १८ वर्ष उमेर समूहका खेलाडीहरूले देशको प्रतिनिधित्व गर्नेछन्।
देशभरिबाट खुला प्रतिस्पर्धात्मक रूपमा आयोजित छनोट चरणमा सहभागी ३७२ जना खेलाडीहरूमध्येबाट विभिन्न चरणको कडा प्रतिस्पर्धा पार गर्दै यो अन्तिम टोली तयार पारिएको विद्यालय खेलकुद महासङ्घका महासचिव तथा टोली नेता राजकुमार कार्कीले जानकारी दिएका छन्। यस २० जना युवा खेलाडीको टोलीमा इभानरत्न तुलाधर, मानव सुब्बा, आरभ श्रेष्ठ, अग्रिमजङ्ग सिंह बस्नेत, साहिलराज थापा, प्रशान्त मेयाङबो, रिवाज गुरुङ, सगर्वबहादुर श्रेष्ठ, सम्योग राई, सुयास पौडेल, अन्शुमन केसी, भविष्य शाह, सिभान्स भट्टराई, आकृष्ट महत, कृष्चल थापा, कृष्णा गुरुङ, कृयाश सापकोटा, तेन्जिङ शेर्पा, आइज्याक शाही र आर्गेन तुलाधर रहेका छन्।
टोलीको व्यवस्थापन तथा नेतृत्व अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घका कार्यकारी समितिका सदस्यसमेत रहेका महासचिव राजकुमार कार्कीले गर्नेछन् भने अफिसियलका रूपमा विनोद श्रेष्ठ, रामकृष्ण महर्जन, पशुपति अधिकारी, भूवनलाल श्रेष्ठ, सोविनराज रेग्मी र सुमिद भट्टराई रहेका छन्। त्यस्तै, टोलीको मुख्य प्रशिक्षणको जिम्मेवारी थमन भुसाल र सन्तोष न्यौपानेले सम्हालेका छन्। अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिष्ठा उच्च राख्ने अङ्कका साथ चीनतर्फ प्रस्थान गर्न लागेको नेपाली युवा टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ र राखेपकी सदस्य मोनालिसा खम्बू लगायतका व्यक्तित्वहरूले एक कार्यक्रमबीच सफलताको शुभकामनासहित बिदाइ गरेका छन्।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) विद्यालय स्तरका विद्यार्थीहरूका लागि स्थापित एक अन्तर्राष्ट्रिय गैर-नाफामुखी खेलकुद संस्था हो, जसको स्थापना सन् १९७२ मा भएको थियो। यस संस्थालाई सन् १९९५ देखि अन्तर्राष्ट्रिय ओलम्पिक समिति (IOC) ले मान्यता प्रदान गरेको छ। विद्यालय तहका युवा खेलाडीहरू (विशेष गरी ११ देखि १८ वर्ष उमेर समूह) मा खेलकुदको विकास गर्ने, उनीहरूमा शैक्षिक तथा सांस्कृतिक आदानप्रदान गराउने र ओलम्पिक भावना तथा अनुशासनको विकास गर्ने यसको मुख्य लक्ष्य रहेको छ। हाल विश्वभरका सयभन्दा बढी देशका राष्ट्रिय विद्यालय खेलकुद संस्थाहरू आबद्ध रहेको यस महासङ्घले विभिन्न अन्तर्राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताहरू र शैक्षिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।















Discussion about this post