• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली ख्रीष्टियानहरूमाथि उठाइएका १० प्रश्नहरू र तिनका जवाफ

by Jagadish Pokhrel
January 23, 2018
in Articles

जगदिश पोखरेल

गुण र दोषको आधारमा समर्थन वा विरोध गर्नु आजको सभ्य भनिएको समाजको अपरिहार्य पाटो हो । आफ्ना कमजोरीहरूको प्रतिफलस्वरूप आएका बौद्धिक विरोध वा प्रतिवादको सबैले स्वागत गर्न सक्नुपर्छ ।

नेपालको ख्रीष्टियान समुदायमाथि पछिल्लो समय गरिएका अस्वभाविक प्रहारहरूले यहाँको सरकार, मिडियाजगत्, बुद्धिजीवीवर्ग र आमजनमानसको ज्वरो सजिलै नाप्न सकिन्छ । के नेपालका ख्रीष्टियानहरू यो लेभलको प्रतिवाद सहन योग्य नै हुन् त ? कि यी सबका पछाडी कुनै अदृश्य इसाराको हात छ र हाम्रा मानिसहरू आँखामा पट्टि बाँधेर तिनका पछाडी लागिरहेका छन् ?

यसबारेमा थुप्रै बहसहरू भएका छन्, धेरैले आफ्ना धेरैथरिका धारणाहरू सार्वजानिक गरेका छन् । एउटा ख्रीष्टियान हुनुको नाताले अहिले उठेका लगभग सबैजसो सवालहरूमा मैले आफ्नो धारणा राख्ने जमर्को गरेको छु । यहाँ दिइएका जवाफमध्येका केहि यसअघि नै बिभिन्न लेखहरूमार्फत् मैले लेखिसकेको  कुरा जानकारी गराउन चाहन्छु ।

 pp

१) के नेपालका ख्रीष्टियानहरूको यहाँ कुनै इतिहास छैन? के उनीहरू २-४ दशक अगाडि आएर हुकुम चलाउन खोज्नेहरू हुन् ?

नेपालमा सर्बप्रथम ख्रीष्टियान मिसिनेरीहरूको प्रवेश सन् १६२८ मा भएको थियो । तात्कालिन राजा लक्ष्मीनरसिंह मल्लले पोर्चुगलका मिसिनेरी जेसुइट फादर जुआन काब्रललाई हार्दिकताका साथ् स्वागत गरेका थिए । राजाले फादरलाई एउटा ताम्रपत्र दिएर पुरस्कृतसमेत् गरेका थिए, जुन ताम्रपत्रमा इसाईमतको प्रचार गर्न अनुमति दिइएको थियो । त्यसपछि सन् १६६१ मा बेल्जियमका मिसिनेरी अल्बर्ट र अष्ट्रियाका मिसिनेरी जोहानले नेपाल भ्रमण गरे, तर उनीहरू लामो समय नेपालमा बसोबास गरेनन् ।

यसको धेरै बर्षपछि सन् १७०३ मार्च १४ का दिन ६ जना केपुचिन फादरहरू इटालीको रोमबाट नेपालतर्फ हिंडे । आधुनिक खालका यातायातका साधनहरू नभएको तात्कालिन समयमा उनीहरूलाई काठमाडौं आइपुग्न झन्डै ४ बर्ष लाग्यो । सन् १७०७ फेब्रुअरी २१ का दिन काठमाडौं आइपुगेका उनीहरू ब्यवस्थित हिसावले चाहिँ सन् १७१५ बाट नेपालको भूमिमा बसोबास गर्न लागे । नेपाल आएको झन्डै ५३ बर्षपछि सन् १७६० मार्च २४ का दिन फादर ट्रान्क्विलियसले काठमाडौंमा “द एजम्प्सन अफ आवर लेडी” नामको चर्च सुरु गरे । जुन नामको चर्च ललितपुरको भनिमण्डलमा आजपर्यन्त छँदैछ ।

पछि गोरखाका राजा पृथ्वीनारायण शाहले उपत्यका कब्जा गरेपछि सन् १७६९ मा बिदेशी केपुचिन फादरहरूका साथमा दर्जनौं नेपाली ख्रीष्टियानहरूलाई पनि देशनिकाला गरेर भारतको बेतियातर्फ पठाइदिए । आज पनि भारतको बेतियामा तिनका सन्तानहरूलाई भेट्न सकिन्छ ।  

नेपाली इतिहासको यो पाटोले स्पष्ट गर्छ कि नेपालका ख्रीष्टियानहरू भर्खर छिरेकाहरू होइनन् । राजा पृथ्वीनारायण शाहले चन्द्रागिरीको डाँडाबाट काठमाडौं खाल्डोलाई हेर्नुअघि नै यहाँका थुप्रै मानिसहरू ख्रीष्टियान भइसकेका थिए । आधुनिक नेपालको एकीकरणको इतिहासभन्दा नेपालका ख्रीष्टियानहरूको इतिहास पुरानो छ ।

२) सत्रौं सताव्दीमा भित्रिएका ख्रीष्टियानहरू र सदियौंदेखि यहाँ चलिआएका अन्य धर्मका अनुयायीहरूको तुलना एकसमान कसरी हुनसक्छ ? ती दुवैथरिकाहरूको राज्यमाथिको अधिकार कसरी एकै हुनसक्छ ?

यतिबेला नेपाल देश र यहाँको धार्मिक विविधतालाई एउटा संयुक्त परिवारसँग तुलना गर्नु उचित लाग्यो । परिवारमा ८० बर्ष नाघेका बुढा मानिसहरू पनि छन्, र भर्खर २-३ बर्षका बालबालिकाहरू पनि छन् । यस्तो अवस्थामा ८० बर्ष नाघेका बुढा मानिसले- म यो घरको पुरानो व्यक्ति हुँ, मैले दशकौं अघिदेखि यस घरको निम्ति दु:ख गरेको छु, त्यसैले भर्खर जन्मेका बालबालिकाहरूको बाँच्न पाउने अधिकार र मेरो बाँच्न पाउने अधिकारको कुनै तुलना नै हुन सक्दैन । यिनीहरू त हिजो जन्मेका न हुन्, यिनीहरूको त्यति बढी हेरविचार वा वास्ता गरिनु आवश्यक छैन भनेर भन्यो भने के होला? के यो कुनै सुहाउने कुरा हो र?

चाहे ८० बर्षअघि जन्मेको मानिस होस् या १ दिनअघि जन्मेको नै किन नहोस्, दुबैको बाँच्न पाउने अधिकार बराबर हुन्छ । चाहे नयाँ होस् वा पुरानो “मान्छे” – “मान्छे” नै हुन्छ । त्यसरी नै चाहे हजारौं बर्षदेखि यस देशमा चल्दै आएको आस्था होस्, वा केहि बर्ष अघिमात्रै भित्रिएको आस्था होस्; “आस्था” – “आस्था” नै हुन्छ । नयाँ भित्रिएको हुँदैमा कम मूल्यको मान्न मिल्दैन ।

३) धर्मपरिवर्तन अपराध हो कि अधिकार हो ?

एउटा व्यक्तिलाई कम्तिमा आफ्नोबारेमा स्वनिर्णय गर्ने अधिकार हुनुपर्छ । के लगाउने, के खाने, कहाँ घुम्न जाने, घरमा कुन रंग लगाउने, कुन पार्टीलाई भोट हाल्ने वा कुन आस्थाको पछि लाग्ने भन्ने जस्ता व्यक्तिगत निर्णयको अधिकार हरेक व्यक्तिमा हुन्छ । यसमा अरूहरूले बाधा दिन मिल्दैन । व्यक्तिले चाहे नेपालमै बस्न पनि सक्छ, विदेश जान पनि सक्छ । उसले चाहेको खण्डमा पहिलाकै आस्थाको पछि लागिराख्न पनि सक्छ र नयाँ छान्न पनि सक्छ ।

यो अकाट्य सत्य हो कि जबर्जस्ति रुपमा कसैले अरूको धर्मपरिवर्तन गराउन भने मिल्दैन । यसको साथसाथमा राज्यले पनि जनतालाई तैंले यहि धर्म मात्रै मान्नुपर्छ भनेर जबर्जस्ति गर्न मिल्दैन । नेपालको परिप्रेक्ष्यमा उदाहरणको रुपमा भन्नुपर्दा कुनै ख्रीष्टियानले जबर्जस्ति रुपमा अरूहरूलाई ख्रीष्टियान बनाउन मिल्दैन र राज्यले कसैलाई जबर्जस्ति रुपमा “तँ जे थिइस्, त्यही नै रहनुपर्छ, धर्मपरिवर्तन गर्न पाउँदैनस्” भन्न पनि मिल्दैन । यो त बिल्कुल व्यक्तिगत कुरा हो, यहाँ राज्य बिचमा आउनु जरुरी छैन ।

४) त्यसो हो भने ख्रीष्टियानहरू किन जबर्जस्ति धर्मपरिवर्तन गराउँछन् त?

यो निकै गम्भीर सवाल हो । धेरैपटक उठेको सवाल पनि हो । बाइबलले त आफ्नो छिमेकीलाई प्रेम गर्न सिकाउँछ, आफ्नो शत्रुलाई समेत् प्रेम गर्न सिकाउँछ । बाइबलले अरूहरूलाई जबर्जस्ति गर्न कदापी पनि सिकाउँदैन । एकातर्फ बाइबलले यस्तो सिकाउने अनि अर्कोतर्फ ख्रीष्टियानहरू बलजफ्ती वा प्रलोभनमा पारेर मानिसहरूलाई वाक्क पार्ने । यो कुरा घामझैं छर्लंग छ कि कहीं न कहीं समस्या त पक्कै छ ।

ख्रीष्टियानझैं देखिने केहि अनौठा समूहको प्रवेश नेपालमा पनि भएको छ । चिटिक्क कपडा लगाएर घरघर डुल्ने उनीहरूले पनि बाइबल नै पढ्ने भएका कारण धेरैले उनीहरूलाई नेपालका सम्पूर्ण ख्रीष्टियानहरूको प्रतिनिधि सम्झन्छन् । त्यो गलत सोचले नै अहिलेको ख्रीष्टियान-विरोधी भावनाहरू जन्माएको हो ।  

उनीहरू वास्तवमा ख्रीष्टियानहरू होइनन् । बाइबल र ख्रीष्टियमतको आधारभूत कुराहरूलाई समेत् स्वीकार नगर्ने उनीहरूले आफू ख्रीष्टियान हुँ भनेर कहिल्यै भन्दैनन् । आफ्नो घरमा आउने वा बाटोघाटोमा भेटिने उनीहरूलाई तपाईंहरूले सिधै “के तपाईं ख्रीष्टियान हो?” भनेर सोध्नुभयो भने उनीहरूले जरुर “होइन” भन्नेछन् ।

उनीहरूले हिन्दु, बुद्धिष्ट, मुस्लिम वा अन्य कुनै धर्ममा आस्थावान व्यक्तिलाई भन्दा बढी एउटा ख्रीष्टियानलाई पछ्याउँछन् । त्यसको उदाहरण म आफै र धेरै ख्रीष्ट विश्वासीहरू छन् । जुन समस्याले आफुलाई नै सताइरहेको छ, त्यही समस्याको झुटो दोष पनि उल्टै आफैमाथि लाग्नु सानो पीडाको विषय पक्कै होइन । अरू धर्ममा भएका कतिपय विकृतिहरूजस्तै ख्रीष्टियानको पहिचान बेच्ने गरेर सुरु भएका यी गतिविधिहरूलाई पनि विकृतिको रूपमा सम्बोधन गरिनुपर्दछ ।

यदि कसैले साँच्चै जबर्जस्ति नै गर्दैछ वा मानिसहरूको इच्छाविपरित उनीहरूलाई बाधा पुग्ने गरेर आफ्नो कुरा राख्दैछ भने त्यसलाई सामाजिक अपराधअन्तर्गत राखेर कारवाही गरिनुपर्छ । त्यहाँ धर्मको कुरा ल्याउनु आवश्यक नै छैन ।

५) ख्रीष्टियानहरू किन प्रलोभनमा पारेर धर्मपरिवर्तन गराउँछन् ?

तिमी ख्रीष्टियान बन, त्यसवापत् तिमीलाई म यति पैसा दिन्छु भनेर कुनै ख्रीष्टियानले कसैलाई भन्दैन । लागेका आरोपहरूमध्येका अधिकांस कोही कसैले फैलाइदिएको अफवाहहरू मात्र हुन् ।

सयौं घुसखोरी सरकारी कर्माचारीहरूका साथमा निकै शक्तिशाली भनिएका नेताहरू समेत् भ्रष्टाचारमा मुछिएर जेलजीवन काटिसकेको यो देशमा आजसम्म किन कोही ख्रीष्टियान  पैसा दिएर ख्रीष्टियान बनाएको प्रमाणित आरोपमा पक्राउ परेन? वास्तवमा यहाँ “पैसा दिन्छु, ख्रीष्टियान बन” भनेर कसैले कहिल्यै भनेकै छैन । सामाजिक सेवाका निम्ति ख्रीष्टियानहरूको लगावलाई बंग्याउनुसम्म बंग्याएर पैसाको कुरालाई अगाडि ल्याइएको छ ।

६) ख्रीष्टियानहरूद्वारा संचालित एनजीओ/आइएनजीओहरूले किन ख्रीष्टियान धर्मलाई नै बढावा दिन्छन् ?

ख्रीष्टियानहरूले चलाएका  एनजीओ/आइएनजीओहरूले एउटा कामको लागि पैसा ल्याएर धार्मिक सवालमा लगाउनु हुँदैन । उनीहरूले जे कामको लागि ल्याएको रकम हो त्यसैमा लगाउनुपर्छ । आजसम्म कुनै एनजीओ/आइएनजीओबाट त्यसप्रकारको काम भएको पनि छैन ।

तर सुन्तला घारीमा सुन्तलाको बास्ना आउनु अनि आँप घारीमा आँपको बास्ना आउनु अस्वभाविक कुरा भने पक्कै होइन । एउटा धर्मनिरपेक्ष राष्ट्रले आफ्नो प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा हिन्दु देवता देवीहरूको मूर्ति राखेर अनि राज्यको प्रतिष्ठित निकाय समाज कल्याण परिषद्ले आफ्नो भवनभित्र मन्दिर नै स्थापना गरेर एकल धार्मिक समुदायको पक्षपोषण गर्दासमेत् आजसम्म कसैले विरोध गरेको छैन । ती कुराहरूलाई यस देशको पहिचानको रूपमा यहाँका ५० लाख गैह्रहिन्दुहरूले मानेका छन् ।

यदि त्यसो हो भने ख्रीष्टियानद्वारा नै चलाइएका संघसंस्थाले आफ्नो धार्मिक पहिचान लुकाउनुपर्ने भन्ने तर्क कत्तिको न्यायोचित हो? हिन्दु रीतिविधीअनुसार पुजाआजा गरेर प्रधानमन्त्रीले विमानस्थल शिलान्यास गर्न हुन्छ भने ख्रीष्टियानहरूले आफ्नो संस्थामा/संस्थाका कार्यक्रमहरूमा प्रार्थना गर्न किन नहुने ? ख्रीष्टियान विधीहरू पालना गर्न किन नहुने? अरू समुदायहरूका साथसाथै ख्रीष्टियान समुदायको हकहितमा पनि आफ्ना कार्यक्रमहरू संचालन गर्न किन नपाउने ?

७)   ख्रीष्टियानहरूले चलाएका बालगृहका बालबालिकाहरूलाई किन ख्रीष्टियान नै बनाइन्छ ?

कुनै पनि आमाबाबुले आफ्नो घरमा जन्मेको नवजात शिशुलाई सोधेर उसको धर्म निर्क्यौल गर्दैन । एउटा हिन्दुले आफ्नो बच्चालाई नसोधिकन नै उसको न्वारन गरिदिन्छ, मुस्लिमले आफ्नो छोरालाई नसोधिकन नै उसको खतना गरिदिन्छ । यसरी हामी स्पष्ट हुन सक्दछौं कि आफ्नो आमाबाबुले बालबालिकाहरूमाथि आफ्नो रीतिरिवाज तथा चालचलन लागु गराउनु कुनै नौलो कुरा होइन । त्यो उनीहरूको अधिकार पनि हो । यसमा आजसम्म कसैले प्रश्न उठाएको छैन ।

नेपालले समेत् हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारको अन्तर्राष्ट्रिय घोषणापत्र   (International Covenant on Civil and Political Rights-ICCPR) १९६६ को धारा १८ को उपधारा ४ ले यसरी उल्लेख गरेको छ :

The States Parties to the present Covenant undertake to have respect for the liberty of parents and, when applicable, legal guardians to ensure the religious and moral education of their children in conformity with their own convictions.

अन्तर्राष्ट्रिय घोषणापत्रको यस धाराले कानूनी बाबुआमा (जसमा बालगृह संचालकहरू पनि पर्दछन् ) लाई आफ्नो संरक्षणमा रहेका बालबालिकाहरूलाई आफ्नै आस्थामा हुर्काउन पाउने अधिकार दिएको छ र हाम्रो देश नेपालले पनि यसमा आफ्नो समर्थन जनाइसकेको छ । यसरी हामी स्पष्ट हुन सक्दछौं कि बालगृह संचालक हिन्दु, मुस्लिम, बुद्धिष्ट, ख्रीष्टियान जोसुकै भए पनि बालबालिकाहरू १८ वर्ष नपुग्दासम्म संरक्षककै आस्थामा हुर्काउन पाउने अन्तर्राष्ट्रिय कानुन छ । 

सबैले निसंकोच आआफ्नो आस्थामा बालबालिकाहरूलाई हुर्काइराखेको भए तापनि ख्रीष्टियान समुदायलाई मात्रै तोकेर दोष्याइनुको प्रमुख कारण अनाथ बालबालिकाहरूको पक्षमा ख्रीष्टियान धर्मावलम्वीहरूको ठुलो लगाव हुनसक्छ ।

ख्रीष्टियानहरू आफ्नो संख्या बढाउनका लागि मात्रै सेवाका कामहरू गर्दैनन् भनेर सबैले बुझ्नु जरुरी छ । पवित्र धर्मशास्त्र बाइबलमा यसरी लेखिएको छ: “परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलंक राख्नु ।” याकूब १:२७

बाइबलले अनाथ र विधवाको सहायता गर्ने कामलाई सबैभन्दा शुद्ध र पवित्र धर्मको रुपमा चित्रण गरेको छ ।  यही कारणले ख्रीष्टियानहरू अरूहरूको तुलनामा धेरै सेवाकार्यका संलग्न छन् भनेर सबैले बुझ्नु आवश्यक छ ।

८) किन मिडियामा ख्रीष्टियानविरोधी समाचारहरू आइराख्छन् ? हावा नचली पात हल्लिन्छ र ?

नेपालका मिडियाहरूले ख्रीष्टियानहरूको सवालमा पत्रकारिताको धर्म नै बिर्सेका छन् । ख्रीष्टियान समुदाय आफ्नो शत्रु नै हो भन्ने भान पर्ने गरेर राम्रा कामहरूलाई लुकाउने र नराम्रा कुराहरूलाई बढाइचढाइ फुकाउने गरिएको छ । उदाहरणको लागि भूकम्पको संकट परेका बेलामा राज्यसमेत् नपुगेको ठाउँहरूमा पुगेर आफ्नो अर्को नभनी लाखौँ जनतालाई राहत वितरण गरेको कुराहरूलाई चटक्कै विर्सेर हुँदै नभएको कुराहरूलाई उचाल्ने काम गरियो ।

अर्को कुरा “ख्रीष्टियानहरूको विरोध” नेपाली मिडियाहरू (मुख्यतः अनलाइन मिडिया) का निम्ति चर्चा  कमाउने राम्रो तरिका बनेको छ ।  बाहिर आएका सबै खवरहरू झुटा हुन् भन्नु मेरो आशय होइन ।

घटना विवरण समाचारका लागि योग्य/अयोग्य के छ भनेर नबुझिकनै संचारमाध्यममा ल्याइनु, आरोपित व्यक्तिको तर्फबाट एउटा पनि कुरा नलेखिनुले नेपाली संचारजगतले यहाँको ख्रीष्टियान समुदायप्रति अन्याय गरेको प्रष्ट हुन्छ ।  

हावा नचली पात हल्लिंदैन भन्ने कुरा एक हदसम्म सहि नै हो । तर पात हल्लिनलाई हावा नै आउनुपर्छ भन्ने पनि छैन । कहिलेकहिले बाँदरहरू आइदिन्छन् र पातमात्रै होइन, हाँगैसमेत् हल्लाईदिन्छन् । (उदाहरणको निम्ति प्रयोग गरिएको “बाँदर” शव्दलाई नकारात्मक रूपमा नबुझ्नुहुन अनुरोध छ ।)

९) सरकारले यत्तिको मान्यता दिंदादिंदै पनि ख्रीष्टियानहरूलाई किन नपुगेको ?

सरकारले ख्रीष्टियान समुदायलाई आजसम्म जुन मान्यता दिएको छ, त्यसका निम्ति नेपाली ख्रीष्टियान समुदाय नेपाल सरकारप्रति धन्यवादी छ । यति हुँदाहुँदै पनि सरकारसँग हाम्रो गुनासोहरू धेरै छन् ।

केहि वर्षअघि ख्रीष्टियानहरूले पशुपतिमा लास गाड्न थाले, हिन्दु धार्मिकस्थलमा कव्जा जमाउन थाले भनेर अनेक अफवाहहरू  फैलाइयो । तर वास्तविकता बुझ्ने फुर्सद कहिल्यै भएन । पशुपति हिन्दु धार्मिकस्थल भएकैले गर्दा ख्रीष्टियानहरूले त्यहाँ लास गाड्न गएका थिएनन्, त्यो त उनीहरूको अन्तिम विकल्प थियो । सरकारले उपलव्ध गराउँछु भनेर प्रतिवद्धता जनाएको समाधिस्थल आजसम्म कहींकतै उपलव्ध गराएको छैन ।

मृत्यूसंस्कार जस्तो अति भावनात्मक विधि पूरा गर्ने सवालमा सरकारले ख्रीष्टियान समुदायलाई पूरै वेवास्ता गर्नु सुहाउने विषय पक्कै होइन । सरकारले सबै जिल्लामा समाधिस्थलको निम्ति ख्रीष्टियान समुदायलाई जग्गा उपलव्ध गराउनुपर्छ । यदि त्यसो गर्न सम्भव हुँदैन भने स्पष्ट रूपमा आफ्ना निम्ति समाधिस्थल आफै किन्न निर्देशन दिनुपर्छ र त्यो ठाउँको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ । 

ख्रीष्टियानको बच्चा जनैपूर्णिमा वा इदको बिदा घरमै बसेर कटाउनेछ, तर ख्रीष्टमसको दिन बिहानै पोशाक लगाएर विद्यालय जानेछ । किनकि अब उसो ख्रीष्टमसमा सार्वजानिक विदा हुनेछैन, उसको विद्यालयमा साविकमा झैं पढाइ हुनेछ । गैह्र-सरकारी तथा व्यापारिक क्षेत्रमा काम गर्ने हजारौं ख्रीष्टियानहरू ख्रीष्टमसको दिनमा आफ्नो काम गर्न बाध्य हुनेछन्, किनकि उत्सव मनाउने उनीहरूको अधिकार हरण गरिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको ख्रीष्टमस बिदा कटौतीको निर्णयले नेपाली ख्रीष्टियान समुदायलाई निकै ठुलो भावनात्मक चोट लागेको छ । दशैं, तिहार वा अन्य थुप्रै चाडका थुप्रै बिदा धेरै नभएको हाम्रो देशलाई एउटा समग्र समुदायको प्रतिनिधित्व गर्ने “ख्रीष्टमसको एक दिन बिदा” धेरै भएको छ ।

यी त केहि उदाहरणहरू मात्रै हुन् । हरेक नागरिकले पाउनुपर्ने थुप्रै नागरिक अधिकारहरूबाट राज्यले ख्रीष्टियानहरूलाई बन्चित गरेको छ । त्यसकारण नेपाल सरकारसँग नेपाली ख्रीष्टियान समुदायको गुनासो छ । गुनासो हुँदाहुँदै पनि “शासन गर्ने प्रशासकहरूको अधिनतामा बस” भन्ने बाइबलको आज्ञालाई शिरोपर गर्दै नेपालका ख्रीष्टियानहरू राष्ट्रनिर्माणको काममा सरकारलाई सघाउन हरघडी तयार छन् ।

१०) ख्रीष्टियानहरूले अरूहरूको सम्मान किन गर्दैनन् ?

“आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नु” भन्ने बाइबलको आज्ञालाई कसरी कोही ख्रीष्टियानले नजरअन्दाज गर्न सक्ला ? ख्रीष्टियानहरूले अरू आस्थाका मानिसहरूलाई अति सम्मान गर्दछन् ।

मैले यति मात्रै भन्ने हो भने पाठकमध्येका कसैलाई पनि यो कुरा चित्त बुझ्नेछैन भनेर म जान्दछु । हामी यो स्वीकार गर्दछौं कि यदाकदा ख्रीष्टियानहरूले अरूहरूलाई होच्याउने वा तथानाम भन्नेगरेको सुनिएको छ । त्यो सिक्न नसक्ने चेला वा सिकाउन नसक्ने गुरुको कारण उत्पन्न परिस्थिति हो । ख्रीष्टियान समुदायले आफ्ना मानिसहरूबाट हुनेगरेका त्यस्ता गतिविधिहरूको निराकरणका निम्ति पाइला चाल्नुपर्छ । पछिल्लो समय अरूलाई लान्छना नलगाउन थुप्रै चर्चहरूले आफ्ना सदस्यहरूलाई सिकाएका छन् र त्यसले देखिनेगरि परिवर्तन पनि ल्याएको छ । हिन्दु वा अरू कुनै धर्मका मानिसहरूले पनि ख्रीष्टियानहरूलाई यसप्रकारको दोष लगाएर पानीमाथिको ओबानो बन्न भने कदापि मिल्दैन । होच्याउने र गाली गर्ने कुराले ख्रीष्टियानहरू नै पनि पीडित छन् ।

निष्कर्ष:

नेपालका ख्रीष्टियानहरू यो देशका दुश्मनहरू होइनन् । अरूहरूलाई झैं, सम्भवत: अरूहरूलाई भन्दा पनि बढी यो देशको माया छ उनीहरूलाई! अरू धर्म, जातजातिहरू जस्तै ख्रीष्टियानहरूको पनि यस देशमा लामो इतिहास छ । यस देशको शिक्षा, स्वास्थ्य र सामाजिक समानताको क्षेत्रमा थुप्रै अग्रज ख्रीष्टियानहरूले गरेको मेहनत आजसम्म पनि उल्लेखनीय छ। ख्रीष्टियानहरूलाई यस्तो र उस्तो भन्नुको सट्टा सबै जातजाति, धर्मधर्मावलम्बीहरू मिलेर गुण र दोषका आधारमा समर्थन वा बिरोध गर्ने सभ्य परिपाटीको थालनी गर्दा कसो होला?

Related Posts

मोरङको सुन्दरहरैँचामा २४ कोरियाली नागरिक पक्राउ प्रकरणले उठाएका पाँच गम्भीर प्रश्नहरू

October 14, 2026
Dr. B P Khanal

विपद्को समयमा विवेकशील राहतको खाँचो पर्छ

September 1, 2026
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

विपदमा स्वयंसेवा: सहयोग कति, समस्या कति ?

September 1, 2026
मण्डली व्यवस्थापन

दर्शन र उद्देश्य; मण्डली व्यवस्थापनको कुनेढुङ्गा

August 24, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In