अभिषेकले त्यसबेला वास टुटाउँछ जब प्राथमिकताले आफ्नो स्थान गुमाउँछ। अगुवा त्यो बेला सेलाउँछ जब मनमा दश हजार कुरा खेलाउँछ । एक किताब, एक परमेश्वर, एक वचनको मान्यतामा दनदनी आगो लाग्छ – अनेक किताब, अनेक, विचार र अनेक चिन्ताले तिमीलाई सताउन लागेपछि । दृढ विश्वास, दृढ भरोसा अनि दृढ प्रार्थनाको इतिहास, अभ्यासमाथि मौन महाभुकम्प गइसकेपछि मन्दिरमा फेरि तिमी फर्की नआउनू । जहाँ पवित्र, पवित्र, पवित्र भनी सराफहरू दिन रात गर्जी रहेछन्, मन्दिरका ढोकाहरू, जगहरू आज पनि थरथर हल्लिरहेछन् । समय आउँछ, न तिमीले नयाँ किताबलाई बुझ्नेछौं न तिम्रो पुरानो किताबलाई बुझनेछौ । एक जातीय उच्चताको पद्धतिलाई सबै जातको फूलबारीमा परिणत गर्ने शक्ति बाइबलमा छ । बाइबलमा मात्र छ । त्यही अभियानमा, ख्रीष्ट प्रेमको प्रचारमा वर्षौं अघि घरबार गमाएर हिँडेको मान्छे आज कति के कुराको अभियान र अभिमानमा फस्यौ ? गिल्ला र घृणा आजकल तिमीलाई पच्दैन हगि ? तिम्रो शानदार इतिहास त तीतो गालीमाथि कोरिएको थियो हैन र ? आजकल जोडदार ताली नै तिम्रा कानले सुन्न रुचाउँछ रे ।
छुनै हुन्न, पस्नै हुन्न, खानै हुन्न भन्ने विश्वास मनमा वास गर्ने धर्मको देश हो यो । युगौं पुरानो । त्यसलाई कुनै संविधानले मेटाउन सक्दैन । तिमीले समातेको किताबले मात्र त्यो सुधार्नसक्छ, हटाउनसक्छ ।
देशभित्र अनि विदेशभरि भौंतरिने लाखौं लाखले के खोज्दैछन्, बाटो हैन र ? “अख्तियारको” सगरमाथा जति अग्लो फाइलको राशले के भन्दैछ ? यहाँ सत्य हृदय चाहिन्छ । स्कुल, अस्पताल र हरेक “सेवा”हरूको मृत्युदण्डजस्ता खेलाहरूको बीचमा मान्छेले के खोज्दैछ ? जीवन । सुखी, शान्त जीवन । तिमीलाई अझै पनि त्यो कर्तव्य दिइएको छ, यो देशमा येशू मात्र त्यो बाटो सत्य र जीवन भनी बताउने । मलाई थाहा छ तिमीलाई कम गिल्ला भएको थिएन त्यो बाटो, सत्य र जीवनलाई आफ्नो निम्ति स्वीकार गर्दा । उपहासै उपहासले घेरिन्दा तिमीले चट्टानमाथि खुट्टा बसाएको नयाँ गीत गाउँथ्यौ । म तिमीसँग बोल्दैछु । ‘येशूको पछि म हिँड्न लागे’ भन्ने गीत हामीलाई सिकाउने र गाउने र बाँच्ने मान्छे तिमी आज केको र कोकसको पछि हिँड्दैछौं ? “पहिलो प्रेम” थाहा छ नि तिमीलाई त्यसमाथि कति सुन्दर प्रवचन तिमीले बोलेको हिजै मात्र न हो । परिवर्तन गर्ने शक्ति हो हामी सबैलाई चाहिने । चिसो किताबमाथि कोरिएको आदर्श अक्षर होइन । बाइबल नछोड त्यो किताबको नाता, नतोड । त्यहाँ तिम्रो अभिषेक छ, तिम्रो बोलावट र वरदान त्यहीं लुकेको छ । देश र समाजलाई सिकाउने, बनाउने मूल मन्त्र अझ नि त्यहीँभित्र छ । सोच ।
Discussion about this post