मुलुकमा राम्रो र हाम्रो कानुन बन्न नसकेको बेला जिल्लाका उत्तरी भेगमा रहेको खुदीका नागरिकले आफनो कानुन आँफै बनाएकाछन। खुदी गाँउ बिकास समितीमा रहेको पर्यटकीय ढंगै गाउँबासीले एक वर्षसम्म परिवर्तन नहुने गरि आफ्नो गाउँको कानुन आफैले बनाएका हुन्।
प्रत्येक बर्षजस्तै यस वर्षपनि गाँउसभाले गाउँको नयाँ कानुन जारी गरेको हो। गाउँसभाले गाउँघरमा प्रयोग गरिने मानापाथी, सेरधानी तथा दैनिक ज्यालादारीको मुल्य तोक्नुको साथै गाउँमा नयाँ नितिनियम बनाएको छ। खुदी-३ ढंगैका गाउँबासीको गाउँभेलाले अन्नपात, तरकारी, मासु, दुधघ्यु, मजदुर ज्याला आदिको दरभाउ तोकेको छ। गाउँमा आयोजना गरिने कार्यक्रम, बस्तुभाउको नियन्त्रण, चरन क्षेत्र निर्धारण लगायतको नियम पनि बनाएको छ।
गाउँ सभाले डकर्मी तथा सिकर्मीहरुको दैनिक ज्याला बृद्धि गरेको छ। उनीहरुको ज्याला २५० बाट बढाएर तीनसय पुर्याइएको हो। त्यही काम गर्ने मजदुरको दैनिक ज्याला अन्यन्त्र पाँचसयदेखि एकहजार सम्म छ। ढुङ्गा फुटाउने काम गर्ने मजदुरलाई आफ्नै सामाग्री सहित आएमा तीनसय र सामाग्रीविना आए २५० रुपैयाँ ज्याला तोकिएको छ। यस्तै अन्नबालीमा प्रतिपाथी १ सय रुपैँया कामय गरिएको छ। हलगोरुको प्रतिदिन ३ सय, साधारण काम गर्ने मजदुरको दैनिक ज्याला एकसय तोकिएको छ।
गाउँ सभाले खसीबोकाको मासु एकधार्नीको नौसय रुपैयाँ, बाख्राको धार्नीको सातसय, भैंसीको एकधार्नीको पाँचसय रुपैयाँ तोकिएको छ भने मरेका, भीरबाट लडेका पसुको मासुको मुल्यभने कम तोकिएको छ। धान, मकै, कोदो एक धार्नीको एकसय रुपैयाँ, घ्यू मानाको ३ सय, रक्सी एक बोटलको ४० रुपैयाँ र छ्याङ ८० रुपैयाँ तोकिएको छ। यस्तै, राडीपाखी, बख्खु, स्याखु, डोका नाम्ला आदिको मुल्य पनि तोकिएको छ।
यो नियम अर्को बर्षो गाउँसभा नबसेसम्म लागु हुनेछ। यो अबधीमा नियम विपरित कसैले आफुँखुसी मुल्य तोक्न पाउने छैनन् र नियम तोडेमा एकहजार जरिवाना गर्ने गाउँसभाले निर्णय गरेको स्थानिय मनाशुलु युवाक्लबका सदस्य तिलप्रसाद गुरुङले बताए।
देशमा जथाभावी रुपमा बढ्दै गएको मुल्यबृद्धि र भएको कानुनको पालना हुन नसकीरहेको अबस्थामा लमजुङको ढंगैगाउँबासीले देखाएको बाटो अनुसरणिय हुनसक्छ। वडा नागरिक मञ्चका अध्यक्ष सुनबहादुर गुरुङको अध्यक्षतामा गाउँका बुद्धिजिवि, बुढापाका, बाबा तथा आमा समूह, युवाक्लब आदिको सहभागितामा निति निर्माण गरिएको हो। शुक्रबार रितिथिति सभा बसेर बस्तुभाउ, भेडाबाख्राको चरनक्षेत्रको निर्धारण गर्ने गुरुङले बताए।
लमजुङका प्रायः गुरुङ गाउँहरुमा आफ्नो गाउँको कानुन तथा नितिनियम गाउँले आफैंले निर्माण गर्ने प्रचलन छ। पर्यटकिय गाउँ भुजुङमा पनि बर्षौसाल भदौमा भदौसभा बसेर गाउँको कानुन निर्माण गर्ने चलन छ।
समून्द्री सतहबाट १ हजार ६ सय ३४ मिटर उचाईमा रहेको ढंगै गाउँमा ९० घरधुरी रहेको छ। प्राकृतिक रुपमा मनोरम उक्त गाउँ ग्रामिण पर्यटकिय गाउँका रुपमा विकास हुँदै छ। ढंगैबाट सूर्यास्त र सूर्योदयका साथै विभिन्न हिमश्रृङ्खलाहरु देख्न सकिन्छ। उक्त गाउँबाट नागवेली बगेको मर्स्याङ्दी र खुदी खोलका साथै सदरमुकाम बेसीसहर र अन्य विभिन्न गाउँहरु देख्न सकिन्छ। गाउँमा गुरुङ संस्कृतिको घाँटु, सोरठी, घ्याब्रीङ, पच्यूं, सेका, झाउरे, कृष्णचरित्र जस्ता साँस्कृतिक कार्यक्रमहरु हेर्न सकिने छ। उक्त गाउँपुग्नकालागि दुइवटा बाटो रहेका छन्। खुदीबाट तरापुहुँदै र भुलभुलेबाट टुनीखर्क काभ्रेहुँदै ढंगै पुग्न सकिन्छ। खुदी र भुलभुलेबाट करिब २ घण्टामा पुग्न सकिने ढंगैगाउँसम्म मोटरबाटोपनि पुगेको छ।
Discussion about this post