अरूले अन्याय गरे तपाईंकहाँ जानुपर्छ भन्ने थाहा छ, तर तपाईंले नै अन्याय गरे कहाँ जानुपर्छ भन्ने थाहा भएन ।
जबर्जस्ति वा प्रलोभनमा पारेर गरिने धर्मपरिवर्तनसँग हामी सहमत छैनौं, तर ख्रीष्टियनहरूले आफ्नो आस्था नै लुकाएर बाँच्नुपर्ने भन्ने तपाईंको तर्क पनि हामीलाई मान्य छैन । लामो समयदेखि मलाई एउटा डर थियो, तपाईंको जोश र जाँगरलाई कुनै न कुनै दिन कोही कसैले आफ्नो फाइदाको लागि दुरुपयोग गर्न सक्छ । कतै अहिले त्यही पो भएको हो कि ?
बालबालिकाहरूलाई सस्तो मूल्यमा गुणस्तरीय शिक्षा दिइरहेको गुड सेफर्ड विद्यालयलाई विवादमा तानेर कतै महँगो मूल्य असुलेर अभिभावकको ढाड सेक्न पल्केका विद्यालयहरूले कार्यक्रम “सीधा कुरा जनतासँग” को गलत प्रयोग गरेका त होइनन्?
तपाईंजत्तिको मान्छेलाई यति त पक्कै थाहा हुनुपर्छ कि चाहे जुनसुकै धर्मको किन नहोस्, विद्यालयहरूमा धार्मिक शिक्षा दिने चलन कम्तिमा नेपालको निम्ति नौलो कुरा होइन । के हरेक दिन सबै धर्मका विध्यार्थीहरूलाई लाइनमा राखेर सरस्वती-बन्दना गराउने विद्यालयलाई पनि तपाईं यस्तै प्रश्न गर्न सक्नुहुन्छ ?
जगदीश पोखरेल
Discussion about this post