– जगदीश पोखरेल
आफ्नो संख्या बढाउनका निम्ति मात्रै ख्रीष्टियानहरू सेवाका काम गर्छन् भन्ने आरोप विल्कुल गलत हो । सतहीरूपमा हेर्दा त्यस्तो देखिए पनि कुरोको चुरो बेग्लै छ । बाइबल पढ्ने र यसका आज्ञाअनुसार जीवन जिउन चाहनेहरूलाई बाइबलले हात बाँधेर बस्ने अनुमति दिएको छैन । आफ्नो छिमेकीलाई आफुलाई झैं प्रेम गर्न बाइबलले सिकाएको छ । यहाँ सम्म कि आफ्नो शत्रुलाई समेत् प्रेम गर भनेर बाइबलले अह्राएको छ । यस लेखमा म बाइबलका केही भागहरू प्रस्तुत गर्न चाहन्छु । यी खण्डले स्पष्ट गर्नेछन् कि बाइबलले गर् भनेका कारणले ख्रीष्टियानहरू सेवाका कामहरू गर्छन्, न कि आफ्नो संख्या बढाउनलाई ।
गरीबले पुकारा गर्दा यदि कसैले आफ्नो कान बन्द गर्छ भने, त्यसले पनि पुकारा गर्नेछ तर जवाफ भने पाउनेछैन । हितोपदेश २१:१३
गरीबप्रति दयालु हुनु परमप्रभुलाई सापट दिनु हो । हितोपदेश १९:१७
परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु । याकूब १:२७
विधवा अथवा टुहुराबाट फाइदा नलेओ । फाइदा लियौ र तिनीहरूले मेरो पुकारा गरे भने, म निश्चय नै तिनीहरूको पुकारा सुन्नेछु । प्रस्थान २२:२२-२३
दुर्बल र अनाथहरूको रक्षा गर, गरीब र थिचोमिचोमा परेकाहरूको न्याय गर । भजनसंग्रह ८२:३
कसैसित संसारको धन-सम्पत्ति छ, र पनि आफ्ना दाजुभाइलाई खाँचोमा परेको देख्दा उनीहरूप्रति आफ्नो मन कठोर पार्छ भने, परमेश्वरको प्रेमले कसरी त्यसमा वास गर्छ? १ यूहन्ना ३:१७
उदार मानिसले आफै पनि आशिष् पाउनेछ, किनभने त्यसले आफ्नो भोजन गरीबलाई बाँड्छ । हितोपदेश २२:९
एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर । गलाती ६:२
भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ । यशैया १:१७
तिमीले भोज लगाउँदा, गरीब, लुला, लङ्गड़ा, अन्धाहरूलाई बोलाऊ, र तिमीले आशिष् पाउनेछौ । लूका १४:१३
जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ । याकूब ४:१७
देओ, र तिमीहरूलाई पनि दिइनेछ । मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन् । किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ ।” लूका ६:३८
मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ । यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने, तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्नुहोस्” भन्छौ, र त्यस गरीबलाई चाहिँ “तँ त्यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्छौ भने, के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्यायकर्ता भएनौ र? याकूब २:१-४
यी त केही उदाहरणहरू मात्रै हुन् । बाइबलले सयौंपटक कमजोरहरूको पक्षमा उभिन अह्राएको छ । खान नपाउनेहरूलाई खान दिनु, लगाउन नपाएकाहरूलाई एकसरो लगाउन दिनु, अनाथलाई आश्रय दिनु, विधवाको पक्षमा बोल्नु पाप होईन । चाहे यसलाई पाप भनियोस् वा प्रलोभन; ख्रीष्टियानहरूले कुनैपनि अवस्थामा यी कामहरू गर्न छोड्दैनन, किनकि बाइबलले यी कामहरूलाई गरे पनि हुने नगरे पनि हुने काम नभएर अनिवार्य गर्नैपर्ने कामको सुचीमा राखेको छ ।
Discussion about this post