सोमवार, अक्टोबर २४, कार्तिक ८
‘फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ।’ —हितोपदेश २७:१७
जब तपाईं वृद्धि हुन छोड्नुहुन्छ, तब तपाईंले आफ्ना सहकर्मी तथा मित्रहरूसँग आनन्द गर्न छोड्नुहुन्छ। अधिकांश अवस्थामा, यो भनेको वृद्धिको अभावको लक्षण हो, अनि यो तपाईंको प्रभावको अभावसँग प्रत्यक्ष रूपमा सम्बन्धित हुन्छ। तपाईं सूचना र जानकारीका लागि मानिसहरू ‘सहायता माग्न जाने’ व्यक्ति हुनुहुन्छ भने, सबैले तपाईंलाई खोज्छन्।
विभिन्न विषय वस्तुमा उनीहरूले तपाईंको सल्लाह र दक्षता खोज्दछन्। तर तपाईं वृद्धि हुन छोड्नुभएपछि, त्यस्तो ध्यान कुनै अरू व्यक्तिमा केन्द्रित हुन्छ। व्यक्तिगत वृद्धिले तपाईंलाई मानिसहरूमा केन्द्रित राख्छ, अनि मानिसहरूलाई तपाईंमा केन्द्रित राख्छ। त्यसोभए, ताजा रहिरहन तपाईंले के गर्नसक्नुहुन्छ त ? पारस्परिक परागसेचन सुरु गर्नुहोस्। माहुरीहरूले एउटा फूलबाट अर्को फूलमा जाँदै, एउटाबाट अर्कोमा परागकण लैजाँदै आफ्नो जीवन बिताउँछन्। अनि त्यसको परिणाम के हुन्छ ? वृद्धि !
माहुरीहरूले निरन्तर रूपमा बगैैँचामा परागकण फैलाइरहने हुँदा, अझै धेरै फूलहरू बढ्छन् र वातावरण अझै सुन्दर बन्छ। जीवनमा, पारस्परिक परागसेचन गर्नुको अर्थ विभिन्न स्रोतहरूबाट मूल्यवान सूचना पत्ता लगाउनु र यसलाई विभिन्न माध्यमद्वारा फरक–फरक मानिसहरूकहाँ फैलाउनु हो। यसकारण आशा नगरिएका स्थानहरूमा उत्तरहरू खोज्न सुरु गर्नुहोस्।
पावल लेख्छन्, ‘तिमीले पाएका वरदानलाई प्रज्वलित राख’ (२ तिमोथी १:६), अन्यथा यो निष्कृय रहनेछ अनि तपाईं आलस्यपूर्ण बन्नुहुनेछ। व्यक्तिगत वृद्धिका लागि हरेक दिन केही समय छुट्टयाउनुहोस्। कुन ठाउँमा तपाईंले उत्तम तरिकाले सोच्न सक्नुहुन्छ पत्ता लगाउनुहोस् र नियमित रूपमा त्यहाँ जानुहोस्। बिहान सवेरै उठ्नुहोस्, दिउँसोको खाना खाने समयलाई प्रयोग गर्नुहोस्, बेलुका टेलिभिजन बन्द गर्नुहोस्। समय र स्थान महत्वपूर्ण कुरा होइन— तपाईं त्यो तालिकाअनुसार चल्नुचाहिँ महत्वपूर्ण छ। अमेरिकी शिक्षाविद युजिन एस. विल्सनले भनेकाछन्, ‘उत्सुकहरूले मात्रै सिक्छन्, अनि दृढहरूले मात्रै सिक्ने क्रममा आउने बाधाहरूमाथि विजय पाउनेछन्। कति जानेको छ भन्ने कुराले भन्दा पनि खोजी गर्ने कुरामा मेरो चासो सधैँ बढी रहेको छ।’ प्रायः जान्न खोज्ने भित्री उत्सुकताले तपाईंलाई बौद्धिकताले भन्दा बढी कुरा बताउनेछ। मुख्य कुरा के हो भने, सफल बन्नको लागि तपाईं व्यक्तिगत वृद्धिको लागि प्रतिबद्ध हुनुपर्छ।
आत्मिक भोजनः यशैया १२–१६, यूहन्ना ६:३५–५१, भजन ९८, हितोपदेश २७:२३–२४






















Discussion about this post