बुधवार, अक्टोबर १९, कार्तिक ३
‘जबसम्म तिनको सपना पूरा भएन, तथा परमप्रभुको वचनले योसेफको चरित्र प्रमाणित गरेन।’ —भजन १०५:१९
परमेश्वरले उहाँको आफ्नै समय तालिकाअनुसार काम गर्नुहुन्छ। जब तपाईंले त्यो कुरा स्वीकार गर्नुहुन्छ, तपाईंले आफू अहिले हुनुभएको स्थानमा आनन्द गर्नुहुनेछ अनि उहाँले चाहनुभएको स्थानमा पुग्नुहुनेछ। साथै, परमेश्वरले तपाईंका सबै प्रश्नको उत्तर नदिन सक्नुहुन्छ; कम्तिमा पनि तपाईंले चाहनुभएको रूपमा त होइन। तर निश्चित हुनुहोस् परमेश्वरले काम गरिरहनुभएको छ। अनि उहाँले गरिरहनुभएको कुरा प्रायः तपाईंले बुझ्न सक्नुहुनेभन्दा ठूलो हुने भएकाले, तपाईंले सम्हाल्न नसक्नुहुने विवरणहरू दिएर उहाँले तपाईंलाई समस्यामा पार्नुहुनेछैन।
विचार गर्नुहोस् त— तपाईं अहिले जहाँ हुनुहुन्छ त्यहाँ पुग्न तपाईंले सामना गरेर आउनुपर्ने सबै कुराहरूको बारेमा परमेश्वरले तपाईंलाई पहिल्यै बताइदिनुहुन्थ्यो भने, के तपाईंले ती सबै कुरालाई सम्हाल्न सक्नुहुन्थ्योहोला ? यो सबै कुरा पूरा गर्न कति धेरै समय लाग्छ र यो कति कठिन छ भन्ने कुरा उहाँलाई थाहा छ— यसैकारण उहाँले केही बताउनुहुन्न। यदि उहाँले तपाईंलाई तपाईंको सम्पूर्ण जीवन अगाडि नै देखाइदिनुहुन्थ्यो भने तपाईं बेहोस हुन पुग्नुहुन्थ्यो। कैदमा भएको समयमा योसेफले पत्ता लगाए कि परमेश्वरले एउटा दर्शन दिनुहुन्छ र तपाईंले आफैँलाई त्यसमा प्रतिबद्ध बनाउनुहुन्छ भने, त्यसलाई ‘त्याग्ने व्यवस्था’ हुँदैन।
यसकारण भविष्यमा के–कसो हुन आउला अनुमान गर्न छोड्नुहोस्। तपाईं विगतमा जिउनुहुन्छ भने तपाईं ‘यदि यस्तो भएको भए’ भन्ने कुराहरू सोच्दै जिउनुहुन्छ, अनि भविष्यमा जिउन प्रयास गर्नुहुन्छ भने ‘यस्तो भयो भने’ भन्ने कुराहरू सोच्दै जिउनुहुन्छ। एउटा गीतले यसो भन्छः ‘एक पटकमा एक दिन, प्यारो येशू, म तपाईंसँग यही माग्छु। हरेक दिन मैले जे गर्नु छ त्यो गर्ने शक्ति दिनुहोस्। हिजो बितिसक्यो, प्यारो येशू, अनि भोलि कहिल्यै नआउला। प्रभु मलाई आज सहायता गर्नुहोस्, बाटो देखाउनुहोस्, एक पटकमा एक दिन।’ तपाईंले के गर्नुपर्छ त ? परमेश्वरले उहाँको समय तालिकाअनुसार तपाईंको निम्ति काम गर्नुहुन्छ भन्ने कुरामा भरोसा राख्नुहोस्।
आत्मिक भोजनः प्रस्थान ३९–४०, यूहन्ना ५:३१–४७, भजन १५, हितोपदेश २७:१०–१२
Discussion about this post