कात्तिक १, २०८३ आइतबार
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापति पदमा नवनिर्वाचित गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। बडादसैँको फूलपातीको पवित्र अवसर पारेर उनले शनिबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा शपथ लिएका हुन्।
महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व सम्हाल्ने क्रममा उनले यो शपथ लिएका हुन्। दसैँको पर्वकै बीचमा भएको यो शपथग्रहण कार्यक्रमलाई राजनीतिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ। यसरी चाडपर्वको माहोलबिच गरिएको यो शपथग्रहणले आम नगरिकको ध्यान सहजै खिच्ने मात्र नभई नेपाली राजनीतिमा एक नयाँ रणनीतिक सन्देशसमेत प्रवाह गरेकाले छ। नयाँ नेतृत्वको आगमनसँगै कांग्रेसको आगामी कार्यदिशा र साङ्गठनिक सुदृढीकरणतर्फ सबैको चासो बढेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाको काँधमा पार्टीलाई नयाँ दिशा दिनुपर्ने ठुलो जिम्मेवारी आएको छ। पार्टीको मुख्य कार्यकारी नेताको रूपमा लोकतन्त्र, राष्ट्रियता र सामाजिक न्यायका सिद्धान्तलाई आधार बनाएर पार्टीको वैचारिक नेतृत्व गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पार्टीको प्रतिनिधित्व गर्ने मुख्य उत्तरदायित्व उनको हो। यसबाहेक, पार्टीको साङ्गठनिक संरचनामा समयसापेक्ष सुधार र आधुनिकीकरण गर्दै, आधुनिक पुस्ताको अपेक्षाअनुसार तल्लो तहसम्मको सङ्गठनलाई गतिशील बनाउनु उनको अर्को प्रमुख कार्यभार हो।
केन्द्रीय कार्यसमितिको बैठकको नेतृत्व गर्ने, नीतिगत निर्णयहरू कार्यान्वयन गराउने तथा विभिन्न तह र भ्रातृ संस्थाहरूबीच समन्वय गर्ने जिम्मेवारी पनि उनैमा निहित हुन्छ। समसामयिक राष्ट्रिय राजनीति, गठबन्धन वा प्रतिपक्षी भूमिकाका सन्दर्भमा पार्टीको स्पष्ट अडान तय गर्ने, पार्टीभित्रको आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्दै बलियो एकता र संस्थागत अनुशासन कायम राख्ने तथा आगामी राजनीतिक तथा चुनावी चुनौतीहरूका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई एकजुट र उत्प्रेरित गराउने मुख्य जिम्मेवारी अब नवनिर्वाचित सभापति थापाले निर्वाह गर्नुपर्नेछ।



















Discussion about this post