
नेतृत्वशैली विभिन्न प्रकारका हुछन् । तिनीहरूलाई परम्परागत र नवीनतम गरी दुई प्रकारले विभाजन गरिन्छ । विश्वमा प्रचलित नेतृत्वशैलीमध्ये प्रजातान्त्रिक
(democratic), प्रभावशाली (charismatic) र अधिनायकत्व (dictatorship) नेतृत्वशैली प्रख्यात मानिन्छ । सेवक नेतृत्व (servant leadership) अलि फरक प्रकारको र नवीनतम नेतृत्वशैली हो । यसमा अन्य नेतृत्वशैलीमा जस्तो नेतृत्व गर्ने व्यक्तिको पद, शक्ति, प्रतिष्ठा आदि विषयलाई नहेरी, मानिसहरू वा समूहलाई पुर्याईएको सेवा, सहयोग, सद्भावलाई महत्व दिईन्छ ।
सर्वप्रथम सन् १९७० मा Robert Greenleaf सेवक नेतृत्वशैलीलाई एउटा
नेतृत्वको विधाका रूपमा परिचित गराएका हुन् । उनका अनुसार, यो नेतृत्वशैली
मुख्यतः सेवा गर्ने मनसायबाट विकास भएको हो । पछि गएर सन् २००५ मा Larry C Spears ले र सन् २०१९ मा Natha Eva et al. ले आफ्ना कृतिहरूमा यसबारे थप प्रकाश पारेका छन् । Natha Eva et al. ले उनको प्रकाशित कृतिमा यसका तीनवटा पक्षहरू– मनसाय (Motive), तरिका (Mode) र सोच (Mindset) लाई निकै गहन रूपमा विश्लेषण गरेका छन् ।
सेवक नेतृत्वको मुख्य भूमिका सेवाको माध्यमबाट मानिसहरूलाई सक्षम बनाइ सफलतातर्फ उन्मुख गराउनु हो । उनीहरू यसमा सम्बन्धलाई उच्च प्राथमिकतामा राख्छन् र लक्ष्यमा केन्द्रित हुन्छन् र मानिसहरुले व्यक्त गरेका वा नगरेका, सुनुवाइमा आएका वा नआएका विचार र भावनाहरूलाई बुझ्दै मानिसहरूलाई सहायता पुर्याउने उद्देश्यले नेतृत्व गर्छन् । सामान्यतः सेवा, उदारता, सहनशीलता, करुणा र नम्रता जस्ता मूल्य मान्यताहरूबाट निर्देशित यस नेतृत्वशैलीमा उच्च रणनैतिक सोच, इमान्दारिता र समाज रूपान्तरणको उत्कट आकांक्षा रहेको हुन्छ । सेवक नेतृत्वका विभिन्न उदाहरणहरूलाई हेर्दा, उनीहरूले सधैँ सहनशीलता मात्र धारण नगरी आवश्यकताअनुसार कडा निर्णय र उद्देश्य केन्दित निर्देशनहरू दिने गर्छन् । यहाँनिर के भिन्नता पाइन्छ भने, सेवक नेतृत्वको
सबै काम अनि व्यवहारमा मानिसहरूप्रतिको करुणा र उनीहरूको फाइदालाई ध्यान दिइएको हुन्छ । सेवक नेतृत्वको सुरुवात कसले गर्यो र कहिले भयो भन्ने एकिन गर्न थप सोध वा अनुसन्धान गर्नुपर्ने हुन्छ । हालसम्मको विभिन्न अध्ययनहरूलाई हेर्दा यसको अभ्यास ईसा पूर्व १३०० मा तत्कालिन समयका प्रख्यात अगुवा मोशाले निःस्वार्थ साथ विभिन्न गुनासो चुनौतीहरू सहदै इस्रायलीहरूहरूलाई उनीहरूको उन्नतिको लागि नेतृत्व प्रदान गरेका थिए । उनको विशेष नेतृत्वको कारण अन्ततः झण्डै बिसदेखि तीस लाख इस्रायलीहरूलाई मिश्रको दासत्वबाट स्वतन्त्र बनाएका थिए । त्यस्तै ईसा पूर्व ४०० वर्ष पहिले, महान् दार्शनिक सुकरातले शिक्षा तथा जीवनशैलीका माध्यमबाट आफ्ना अनुयायीलाई अनुशासन र नैतिक जीवन यापन गर्न प्रेरित गरेका थिए ।
पछि गएर २० औं शताब्दीमा Robert Greenleaf ले यसलाई एउटा छुट्टै नेतृत्वशैलीका रुपमा परिचित गराएका हुन् । उनकाअनुसार “एउटा असल सेवक नै महान् नेतृत्वकर्ता हुन् ।”
येशू ख्रिष्टलाई सेवक नेतृत्वको ज्वलन्त उदाहरणको रुपमा हेर्ने गरिन्छ । उहाँले सेवक नेतृत्वको बारेमा स्पष्ट रुपले बताउनु मात्रै भएन, त्यसलाई व्यावहारमा देखाउनु भयो । येशूले भन्नुभयो, ‘यदि कोही नेतृत्व गर्न चाहन्छ भने उसले सेवा र त्याग गर्नुपर्छ (मर्कूस १०:३५-४५)’। ३५ जब्दियाका दुई छोराहरू, याकूब र यूहन्ना उहाँकहाँ आएर भने, “गुरुज्यू, हामी तपाईंसँग जे माग्छौँ तपाईँले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हाम्रो इच्छा छ ।” ३६ उहाँले तिनीहरूलाई सोध्नुभयो, “ तिमीहरूका निम्ति म के गरिदिऊँ भन्ने तिमीहरूको इच्छा छ ?” ३७ तिनीहरूले उहाँलाई भने, “ तपाईँको महिमामा हामीमध्ये एक जना तपाईँको दाहिनेपट्टि र अर्को तपाईंको देब्रेपट्टि बस्न पाउने मन्जुरी हामीलाई दिनुहोस् ।” ३८ तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू के माग्दछौ सो तिमीहरू जान्दैनौ । के जुन कचौरा म पिउँछु, त्यो तिमीहरू पिउन सक्छौ ? अथवा जुन बप्तिस्मा मैले लिएको छु, त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ ?” ३९ तिनीहरूले उहाँलाई भने, “हामी सक्छौं ।” येशूले तिनीहरूलाई भन्नुभयो, “जुन कचौरा म पिउँछु त्यो तिमीहरू पिउनेछौ, र जुन बप्तिस्मा मैले लिएको छु त्यो बप्तिस्मा तिमीहरू लिनेछौ । ४० तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्न दिनुचाहिँ मैले दिने होइन, यो त जस जसको निम्ति तयार भइराखेको छ, तिनीहरूकै निम्ति हो ।”४१ यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्नासँग रिसाए । ४२ तब येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “तिमीहरू जान्दछौ कि अन्यजातिहरूमाथि शासन गर्नेहरूले तिनीहरूमाथि अख्तियार चलाउँछन् । अनि तिनीहरूका ठुलाठालुहरूले तिनीहरूमाथि अधिकार चलाउँछन् । ४३ तिमीहरूमा चाहिँ त्यसो हुनुहुँदैन । तर तिमीहरूमा जसले ठुलो हुने इच्छा गर्दछ, त्यो तिमीहरूको सेवक हुनुपर्दछ । ४४ अनि तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्दछ, त्यो सबैको दास हुनैपर्दछ । ४५ किनकि मानिसको पुत्र सेवा पाउन होइन, तर सेवा गर्न र धेरैका छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो ।”
नेतृत्व एउटा ठूलो पद होईन बरु यो सेवा गर्ने जिम्मेवारी हो भन्ने अवधारणलाई साङ्केतिक रुपमा प्रस्तुत गर्न येशूले आफ्ना चेलाहरूको खुट्टा धुनुभयो । यो उहाँको सेवक नेतृत्वको, विनम्रताको र समर्पणताको गहन उदाहरण हो । युहन्ना १३:१३-१७ मा लेखिएको छ, “१३ तिमीहरूले मलाई गुरु र प्रभु भनी बोलाउँछौ, र तिमीहरू ठिकै बोल्छौ, किनभने म त्यही हुँ । १४ यसकारण यदि मैले, जो तिमीहरूको प्रभु र गुरु हुँ, तिमीहरूका खुट्टा धोएँ भने, तिमीहरूले पनि एक अर्काका खुट्टा धुनुपर्छ। १५ मैले तिमीहरूका निम्ति एउटा उदाहरण राखिदिएको छु, ताकि मैले तिमीहरूका निम्ति जे गरेँ, तिमीहरूले पनि त्यही गर । १६ म तिमीहरूलाई साँचो भन्दैछु, एउटा कमारो उसको मालिकभन्दा ठूलो हुँदैन, न त पठाउने मानिस नै पठाउनेभन्दा ठूलो हुन्छ । १७ यदि तिमीहरूले यी कुराहरू जान्दछौ भने, र तिनलाई पालन गर्छौ भने, तिमीहरू सुखी हुनेछौ ।” येशू सेवक नेतृत्वको मुख्य उदाहरण हुनुहुन्छ । उहाँको जीवनबाट स्पष्ट रूपले थाहा हुन्छ कि मानिसहरूको इच्छा, स्वतन्त्रता र हितमा खुशी हुनु नै सेवक नेतृत्वको प्रमुख विशेषता हो । सेवक नेतृत्वको पहिचान बनाएका विश्वका प्रख्यात व्यक्तिहरू जसमा अब्राहम लिङ्कन,महात्मा गान्धी, मार्टिन लुथर किङ्ग जे.आर., नेल्शन मण्डेला, मदर टेरेसा, मार्गेट mथ्याचर, गणेशमान सिंह, वाङग्ररी मथाई आदिले पनि मानिसहरू प्रति निस्वार्थ भई उनीहरूको हितका निम्ति योगदान पुर्याएका थिए । तिनीहरूमा धेरै जनाले त येशू खिष्टको जीवनबाट प्रत्यक्ष रुपले प्रभावित भई उक्त नेतृत्वशैलीलाई अपनाएका थिए ।
सेवक नेतृत्वबाट नै समाज रूपान्तरण भएको धेरै उदाहरणहरू छन् । अब्राहम लिङ्कनले अमेरिकी जनताहरूलाई एकत्रित बनाए र सामाजिक न्याय स्थापना गरे। मदर टेरेसाले गरिबी र संकटासन्न अवस्थामा रहेका मानिसप्रति करुणा र वास्ता प्रदर्शन गरी संसारभरि सेवा भावना जागृत गराइन् । गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलन र बहुदलीय प्रजातन्त्र स्थापनाको लागि लौह पुरुषका रुपमा
स्थापित भएका छन् ।
उल्लेखित उदाहरणहरू समाजको समष्टिगत तहमा सेवक नेतृत्वले पारेको प्रभावका उदाहरणहरू हुन् । साथै समाजका विभिन्न सूक्ष्म एकाइमा सेवक नेतृत्वले प्रभाव पारेको धेरै उदाहरणहरू छन् जो विविध कारणले गर्दा प्रख्यात हुन नसके तापनि यसले व्यक्ति तथा समूहमा गहन प्रभाव पारेको सुन्न सकिन्छ । सेवक नेतृत्व अलि भिन्न प्रकारको हुन्छ । झट्ट हेर्दा मानिसहरूलाई यो एउटा नेतृत्वशैली हो भनि पत्यार लाग्दैन । यसमा अन्य प्रकारको नेतृत्वमा जस्तै नेतृत्वकर्ताको सीप, क्षमता, कुशलता, चलाखीपन आदि मूल्याङ्कन गरिदैँन । यसमा त नेतृत्वकर्ताले कति मात्रामा आफ्ना सहकर्मीहरूलाई सेवा पुर्याए र उनीहरूको सीप, क्षमता, कौशलता, विकास गरे भन्ने मूल्याङ्कन गरिन्छ । अन्य नेतृत्वले मानिसहरूलाई नेतृत्वकर्ताप्रति विश्वास गर्न प्रेरित गर्छ भने सेवक नेतृत्वले मानिसहरूलाई उनीहरू आफैप्रति नै विश्वास गर्न प्रेरित गर्छ । अन्य नेतृत्वहरूले अनुयायी बनाउछन् भने सेवक नेतृत्वले नयाँ नेतृत्वहरू तयार गर्छन् । समग्रमा सेवक नेतृत्व आफू ठुलो हुनको लागि नभई, मानिसहरूलाई असल अनि सफल बनाउनको समर्पित भएका हुन्छन् । सेवक नेतृत्वमा प्रेम, सहनशीलता, दयालुपन, निष्पक्षता, विवेकशील, दूरदर्शी, अरुहरूको प्रगतिमा रमाउने, उनीहरूको सफलतामा आनन्दित हुने, उनीहरूलाई कदर गर्ने, सम्मान गर्ने, पत्याउने, विश्वास गर्ने, आशावादी हुने र सेवा गर्ने आदि गुण हुन्छन् । उनीहरू मानिसहरूसँग मानवीय र आत्मीय सम्वन्ध स्थापना गर्छन् । यो कुनै पद, शक्ति र प्रतिष्ठाका कारण नभई, सहकर्मीहरूप्रतिको वास्ता, सरोकार, सम्वन्ध र सहयोगका कारण स्थापित भएको हुन्छ । उनले खुल्लापन र विश्वासको वातावरण श्रृजना गर्छन् । आफ्नो सफलता र कमजोरी इमान्दारितापूर्वक, खुलस्त भएर बताउँछन् र समाजको कष्ट तथा अवरोधहरू हटाउन महत्वपूर्ण भुमिका खेल्छन् ।
मण्डली समाजको एउटा सूक्ष्म एकाइ हो । मष्डलीमा पाष्टरको राम्रो नेतृत्वले गर्दा युवा, विद्यार्थी, महिला, बालबालिका, वयस्क, जेष्ठ नागरिक आदि सबैमा सकारात्मक प्रभाव पर्छ । मण्डलीका असल नेतृत्वले धेरै विश्वासीको जीवनमा रूपान्तरण आएको हुन्छ । पाष्टरले विश्वासीहरूको उपलब्धि लाई आफ्नै झैँ ठान्नु, भेदभाव नगर्नु, सहयोगी हुनु, समर्पित हुनु नै सेवक नेतृत्वको उदाहरण बन्नु हो । पाष्टरले सेवक नेतृत्वदायी भूमिका निर्वाह गर्न विश्वासीको वस्तुस्थितिको बुझ्ने, सही कुराको समर्थन गर्ने र गलत कुरामा साहस र प्रेमसाथ असहमति जनाउँने, जिम्मेवारी लिन सक्षम बनाउने, अधिकार दिने, आवश्यक श्रोत साधनहरू उपलव्ध गराउने, पारदर्शी हुने र एक आपसमा विश्वास र इमान्दारिताको वातावरण श्रृजना गर्नुपर्छ ।
मानिसले जीवन वा आफ्नो पेशामा कठिनाइ, संघर्ष, असफलताहरू भोग्नुपर्छ ।सेवक नेतृत्वले मानिसहरूलाई असफलताबाट पाठ सिक्न र कमजोरीलाई शक्तिमा बदल्न उत्साह दिन्छन् । उनले आफ्ना संवेगलाई नियन्त्रण गर्छन् । बचनमा लेखिएको, ‘रिस गर, पाप नगर (एफिसी ४:२५)’ को आसयअनुसार असल नेतृत्वले रिसलाई विनाशको लागि नभइ, अरुको सुधारको लागि प्रयोग गर्छन् । सेवक नेतृत्वले सम्बन्ध स्थापनालाई महत्व दिन्छन् । उनी मिलनसार र सिर्जनशील हुन्छन् । सबैलाई प्रभाव पार्छन् । आफ्ना अनुयायीहरू साथै अधिकारमा भएकालाई सहायता गर्छन् । प्रायः सबै नेतृत्वहरू अनुयायीहरू बनाउन प्रयत्न गर्छन् भने हुन्छन् भने सेवक नेतृत्व मानिसहरूलाई नेतृत्वदायी भूमिकामा निर्माण गर्न प्रयत्नशील हुन्छन् ।
मानिस जति जति उच्च नेतृत्वमा पुग्छ, त्यति त्यति एक्लो हुँदै जान्छ । नेतृत्वमा रहने व्यक्ति आफैमा धेरै कष्ट तथा चुनौतीले घेरिएको हुन्छ। त्यसैले सेवक नेतृत्वले आफ्नो सुपरिवेक्षेक वा अधिकारमा भएकालाई र मातहतका मानिसहरूलाई सहायता गर्छन् ।
कतिपय नेतृत्वमा रहेका व्यक्तिले पद र नेतृत्व शक्तिको दुरुपयोग गरी अरुलाई दमन, हैकम, शोषण गर्ने; उनीहरूको सीप, ज्ञान र बौद्धिक सम्पत्तिको अनुचित फाइदा लिने; आफ्नो जिम्मेवारी अरुहरूलाई सुम्पने र त्यसले गर्दा मानिसहरूमा पर्न गएको अत्यधिक कार्यबोझको कुनै चासो नलिने; कार्यस्थलमा कर्मचारीहरूको लागि अनुकुल वातावरण श्रृजना नगर्ने; बैठकमा प्रायः आफूमात्र बोल्ने; अरुको
विचारलाई गौण मान्ने; आफू सदैव सुरक्षित रहने र अरुको जोखिम बारे केही ध्यान नदिने प्रवृत्तिका हुन्छन् । यस्ता स्वार्थी, दमनकारी, हैकमवादी, शोषक, गैर जिम्मेवारी, विलासी र अवसरवादी प्रवृत्ति भएको व्यक्ति कहिल्यै सेवक नेतृत्व हुन सक्दैनन् । समाजमा यस्तो नेतृत्ववाट प्रगति र रूपान्तरणको आशा गर्न सकिदैन । निष्कर्षमा, सेवक नेतृत्वमा रहनु एउटा महत्वपूर्ण अवसर हो । यदि कसैमा सेवक नेतृत्वको इच्छा भए, आर्जन गर्न सकिन्छ । यसका लागि समर्पण, करुणा, विचारशील, परोपकारी स्वभाव र सेवा गर्ने मनसाय हुनुपर्छ । सेवक नेतृत्व विशेषगरी सेवा मूलक र परोपकारी संस्थाहरूमा अत्यन्तै सान्दर्भिक मानिन्छ । आजको विश्वव्यापीकरण, र भूमण्डलीकरण, सूचना प्रविधि र कृत्रिम बौद्धिकताको युगमा मानिसहरू बिच सहकार्य, सम्बन्ध, संवाद, सन्तुष्टि र शान्तिको प्रवर्धन गर्ने नेतृत्वको सर्वत्र खोजी भएको छ । सेवक नेतृत्वबाट यी आवश्यकता पूरा हुन्छ र समाजको एक्लोपना, नैराश्यता, उदासिनता, र अनैतिकता आदि हटाउन सकिन्छ । यसबाट समाजमा आशा अनि उत्साह श्रृजना गर्न सकिन्छ । यो समाजको सबै तह तथा क्षेत्रमा आवश्यक पर्छ । यसबाट मात्र समाजमा रूपान्तरण ल्याउन सकिन्छ ।
यो अत्यन्तै व्यावहारिक छ र यसमा निपुणता प्राप्त गर्न सकिन्छ । यसको लागि आवश्यक पूर्वशर्त भनेको आफूलाई भन्दा अरुलाई प्राथमिकता मा राख्नु र अरुको सेवा गर्नु हो । आफ्ना सहकर्मीहरू बिच सबैभन्दा ठूलो को ? भन्ने चर्चा भएको प्रसङ्गमा येशूले सेवक नेतृत्वको बारेमा भन्नुभएको थियो, ‘तिमीहरूमा जसले महान् हुने इच्छा गर्दछ, त्यो सबैको सेवक हुनैपर्दछ (मर्कूस १०:४४) ।’
ज्योति चपाई
१३ श्रावण २०८३
नख्खु ललितपुर

















Discussion about this post