माघ ६, २०८० : शनिबार
झापा- झापाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती गरिएको छ।
गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा किसानले उक्त क्षेत्रफलमा तोरी खेती गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)ले जानकारी दिए। गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो।
प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन प्रारम्भिक अनुमान गाउँपालिकाको छ। हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त छ। अहिले यहाँका खेत तोरी फुलेर पहेंलपुर भएका छन्।
हल्दीबारी-२ का कृषक डम्बरप्रसाद चम्लागाईंले तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास व्यक्त गरे। ‘अरू बालीमा जस्तो झन्झट छैन’, उनले भने, ‘मूल्य पनि राम्रो छ।’
गत वर्ष प्रतिमन रु छ हजारमा तोरी बिक्री भएको उनले बताए। यो वर्ष झापाभरिमा सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ।
www.khabardainik.com













Discussion about this post