आइतवार, जुन १२, जेठ ३०
‘तर परमप्रभुको (तिनीहरूको खाँचो र उहाँको वचनको अधिकारद्वारा) खोजी गर्नेहरूलाई (खोजतलास गर्ने र खाँचो पर्नेहरूलाई) कुनै उत्तम कुराको अभाव हुँदैन ।’ —भजन ३४:१०
तपाईंभित्र गरिबी बढ्दै नगएसम्म र त्यसले तपाईंको सोचाइलाई नियन्त्रण नगरेसम्म गरिबीमा हुर्कनु ठीकै छ । एक जना प्रसिद्ध कलाकारलाई गरिबीमा हुर्कंदा उनलाई कस्तो अनुभव भयो भन्ने प्रश्न सोधियो । आश्चर्यको कुरा, उनले स्वीकार गरे कि भविष्यमा आफूसँग पर्याप्त होला भन्ने बारेमा उनलाई अझै पनि फिक्री थियो । त्यसैले उनी निकै कम खर्चालु थिए, आफ्नो रुपैयाँपैसा उनलाई अलि अनौठो वा अवास्तविक लाग्थ्यो, अनि उनले सफलतासँगै आएका आशिष्हरूमा निश्चिन्त भएर आनन्द मनाउन सकेका थिएनन् । तथापि, उनकी पत्नीले दिने, खर्च गर्ने र बचत गर्ने योजना बनाएर उनीहरूको सम्बन्धलाई सन्तुलित बनाएकी थिइन् । तपाईंको सफलताको लागि को जिम्मेवार छ भनी तपाईं विश्वास गर्नुहुन्छः तपाईं आफै वा परमेश्वर ? जबसम्म तपाईं आफैं त्यसको निम्ति जिम्मेवार हुनुहुन्छ, तबसम्म तपाईंलाई मानिसहरू, परिस्थितिहरू तथा आर्थिक अवस्थाले असर पार्नसक्ने खतरा रहिरहन्छ । तर जब तपाईंले आफ्नो सफलताको निम्ति परमेश्वर जिम्मेवार हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुहुन्छ, तब तपाईंले पाउनुभएको कुरा तपाईंले कायम राख्न पनि सक्नुहुन्छ । यसकारण तपाईंका विकल्पहरू यिनै हुन्ः तपाईं आफैमाथि भरोसा राख्नु— वा परमेश्वरमाथि ! भजनकारले लेखेका छन्, ‘उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन । जवान सिंहहरू कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको (तिनीहरूको खाँचो र उहाँको वचनको अधिकारद्वारा) खोजी गर्नेहरूलाई (खोजतलास गर्ने र खाँचो पर्नेहरूलाई) कुनै उत्तम कुराको अभाव हुँदैन’ (पद ९–१०) । तपाईंले भन्नुहोला, ‘तर त्यो त पुरानो करारको प्रतिज्ञा हो ।’ त्यसोभए नयाँ करारको एउटा प्रतिज्ञा यहाँ छः ‘परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रमा दिन सक’ (२ कोरिन्थी ९:८) ।
आत्मिक भोजनः पुनरुत्थानको शक्ति इजकिएल ३७:१–१४, मत्ती २७: ५०–५३, १ थेसलोनिकी ४: १३–१८, एफिसी १: १९–२०
Discussion about this post