जानुपर्ने त बाबा कहाँ नै हो…
मेरी कान्छी छोरीले मलाई धेरै कुराहरू सिकाउँछिन्।
केही दिनअगाडिको कुरा हो, उसलाई बाबाले किनिदिनुभएको आइप्याड (IPad) समातेर दौडदै गर्दा लडेर त्यसको स्क्रिन फुट्यो। अनि त्यो फुटेको पनि नराम्रोसँग चकनाचूर जस्तै भएर फुटेछ। म अफिसबाट घर फर्केंर छोरीको अँध्यारो अनुहार देखेर “के भयो, कान्छु?” भनेर सोधेँ। मेरो विचारमा दिदीसँगको खटपट वा कुनै चित्त नबुझेको कुरा होला भन्ने लाग्यो तर तेसो होइन रहेछ उनले अति नै मनपराएको, बाबासँग घरिघरि आफ्नो इच्छा जाहेर गरेपछि पाएको आइप्याड फुटको रहेछ। उनले आँखाभरि आँशु पारेर भनिन्: “मामु मेरो आइप्याड फुट्यो।” अनि उनले तुरुन्तै मलाई सोधिन्,“मामु बाबा खोइ, कति बेला आउनुहुन्छ?” मैले साधारण किसिमले जवाफ दिएँ “अफिसमा हुनुहुन्छ एकछिनपछि आउनुहुन्छ।” उनको आइप्याड हेरेँ साँचि नै नराम्रोसँग फुटेछ तर स्क्रिनको एउटा टुक्रापनि झरेको रहेनछ। अनि हामीले त्यसलाई बाबा नआएसम्म नचलाउने भनेर सुरक्षित राख्यौं।
तेति बेलादेखि बाबा घर नआएसम्म उनले मसँग “बाबा खोइ? कतिबेला आउनुहुन्छ? खोई बाबा किन ढिलो आउनुभएको?” भनेर घरिघरि सोधिन्। कतिबेला त मलाई झर्को पनि लाग्यो तर मैले उनको मनको आतूरलाई बुझ्न सकिनँ।
त्यो दिन काम धेरै भएर होला बाबा पनि अरु दिनभन्दा अलि ढिला गर्नुभो। तर जब छोरीले बाबा घरभित्र पस्नुभएको थाहा पाइन् उनी उत्तेजित भएर बाबाको काखमा दगुरिन् र चर्को स्वरमा भनिन्,”बाबा कति ढिलो आउनुभएको, मेरो आइप्याड फुटिसक्यो तेति पनि थाहा छैन?” बल्ल पो मैले बुझेँ उनले किन घरिघरि बाबालाई सोधेको कारण। अनि फेरि उनले भनिन्, “बाबा मेरो आइप्याड बनाइदिनुहोस्।”
उनलाई थाहा थियो कि उनको समस्या समाधान मामुले गर्न सक्नुहुन्न केवल सहानुभुति मात्र देखाउन सक्नुहुन्छ भनेर र तेसैले उनी मेरो काखमा बसेर निराश भइन् तर बाबालाई खोज्न भने छोडिनन्। किनकि उनलाई थाहा थियो बाबासँग पक्कै समाधान छ भनेर।
कथा यही हो तर मेरो लागि यो ठूलो पाठ भयो। जीवनमा धेरै संकष्टहरू आउँछन्। आफूले अति नै चाहेको कुरा विग्रन्छ, कतिपटक आफ्नै गलतीले त कति पटक अरुको कारण हामीले जीवनमा समस्याको सामना गर्नुपर्छ। समस्या पर्दा हामी निराश हुन्छौं, आत्तिन्छौँ, हाम्रो दिमागले ठीकसँग सोँच्न सक्दैन र हामी झन गलती गर्न पुग्छौं र अझ बढी सम्यालाई बढाउँछौं। चिन्ताले हामीलाई निलिहाल्छ र हामी त्यसबाट बाहिर निस्कन सक्दैनौं।
किन यस्तो हुन्छ? किनकी हामी हताश हुँदा, निराशाले छोप्दा कता जाने भन्ने कुरालाई ठीक किसिमले ठम्याउन सक्दैनौं। शायद त्यसैले होला कति मानिसहरू चुरोटको धूवाँमा, व्हीस्कीको चुस्कीमा, यौन विलासितामा, अश्लील किताबहरू आफैलाई लुकाउन खोजिरहेका हुन्छन्। हामी मानिस त्यति मूर्ख पनि छैनौं कि भित्र कतै न कतै हाम्रो अन्तस्करणमा हामी जान्दछौं कि ती सब क्षणिक हुन्, ती समस्याका समाधान होइनन् तर अझ बढी समस्यातिर धकेल्ने माध्यम हुन् भनेर। हामीलाई त्यो समस्याले यति पेल्छ कि हामी जानिजानी आफैले आफैलाई विनाशतिर धकेल्छौं, शारीरिकरुपमा, मानसिकरुपमा, आत्मिकीरुपमा। हामी समस्याको समाधान हुन्छ भनेर सोच्न सक्दैनौं ।
मेरी कान्छीलाई थाहा थियो कि बाबा आउनुभएपछि समस्या समाधान हुन्छ भनेर। अनि बाबाले समाधान निकाल्नु पनि भयो।
हामीले चाहिं यो कुरालाई बिर्सन्छौं। हामी समाधानकालागि यताउता जान्छौं, कुलतमा लाग्छौं तर ठीक ठाउँमा जान बिर्सन्छौं। हो, हाम्रो दुखेसो पोख्न हामी हाम्रा इष्टमित्र, आफन्त कहाँ पनि जान्छौं र केही समयको लागि शान्त पार्न सहानुभूति पाउँछौं र अलिकता मन हलुका पार्ने काम हुन्छ तर, खासमा जानुपर्ने त बाबा कहाँ नै हो, जो स्वर्गमा हुनुहुने सनातनका पिता हुनुहुन्छ, जसकोमा सबै समस्याका समाधान छन्, जो अचम्मको सल्लाहकार हुनुहुन्छ अनि जसमा सबै कुरा सम्भव छ।
Category: Articles