• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, May 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

धर्म निरपेक्ष धर्म परिवर्तनका लागि हो?

by Jagadish Pokhrel
November 8, 2013
in On the Media

यस लेखका लेखक भुवन थापा हुनुहुन्छ । यो सेतोपाटी खबरसाइट प्रकाशित लेख हो ।

भर्खरै हामीले दशैँ मनायौं। धेरै नेपालीले आआफ्नै हिसाबले दशैँ मनाए। दशैँलगत्तै नेपालीको अर्को महान र रमाइलो पर्व तिहार र छठ घरआँगनमा आइसकेको छ।

यसबाहेक अरु धेरै नेपाली पहिचानको चाडपर्व हामी मनाउछौं। ती सबै पर्वको धार्मिक, सामाजिक र वैज्ञानिक महत्ताले नेपालीलाई एउटै मालामा बाँधिराखेको छ। सांस्कृतिक रुपमा हामी नेपाली साँच्चै धनी छौं, हामीसँग विश्वमै चिनिएका धार्मिक सम्पदा छन्। त्यसैले होला, नेपालमा बर्सेनि लाखौं धार्मिक पर्यटक आउने गरेका छन्।

हिन्दु, बौद्ध, किराँत र बोन्पो संस्कृति र धर्महरु नेपालको मौलिक सम्पदा हुन्।  तर अबको केही दशकपछि नेपालको मौलिक सम्पदा लोप हुँदै जाने हो कि भन्ने चिन्ता बढ्न थालेको छ। पछिल्लो समयमा नेपालमा नेपाली पहिचानसँग मेल नखाने धर्मसंस्कृतिको आक्रमण बढ्दै गएकामा हामी धेरै अवगत होलाउँ।

६२/६३ को जनान्दोलन पछि नेपाललाई विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान मेट्दै धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो। धर्मनिरपेक्ष राष्ट्रघोषणा गरिए पनि नेपालको अन्तरिम संविधानमा प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको अवलम्बन, अभ्यास र संरक्षण गर्न हक हुनेछ, कसैले कसैको धर्म परिवर्तन गर्न पाउने छैन र एकअर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न पाउने छैनन्, भनेर स्पष्ट उल्लेख गरेको छ।

त्यसैले पनि हो, त्यो समयमा ८२ प्रतिशत भन्दा धेरै हिन्दु रहेको देशलाई विश्वको एक मात्र हिन्दु राष्ट्रको पहिचान मेटी धर्म निरपेक्ष राष्ट्र घोषणा गरिँदा म लगायत धेरै नेपालीले नेपाललाई धर्म निरपेक्ष राष्ट्र हुनुमा स्वागत गरियो। तर अहिले कानुन विपरीत धर्म परिवर्तन गराउने काम व्यपाक रुपमा बढ्दै गएको छ।

नेपाली मौलिक पहिचानको एक धर्मबाट अर्को धर्ममा परिबर्तन गर्ने वा गराउने गरिएको पाइँदैन। धर्म परिबर्तन गरी हिन्दुबाट किरात वा बौद्ध धर्ममा गए पनि त्यसले नेपाली मौलिक परम्पराको संरक्षणमा कुनै असर गर्ने थिएन। तर नेपाली मौलिक परम्परासँग मेल नखाने इसाई धर्मको नेपालमा व्यापक रुपमा धर्म विस्तार हुँदै छ। हिन्दु, बौद्ध, किरात आदि धर्मबाट क्रिश्चियन धर्ममा धर्म परिबर्तन गराउने काम भइरहको छ।

२०६८ को जनगणनाले बौद्ध, किरातको संख्या घटेको देखिएकोमा विभिन्न जनजाति संगठनहरुले हिन्दु धर्मले गर्दा हाम्रो संख्या घट्दै गएको भनेर बिरोध जानएको याद छ। तर उनीहरुले वास्तविक यथार्थ मूल्यांकन गर्न सकेनन्। बिशेष गरी आज गाउँगाउँतिर आदिवासी जनजातिहरुले व्यापक रुपमा आफ्नो मौलिक संस्कृति छाडी क्रिश्चियन धर्ममा परिबर्तन भइरहेका छन्।

पहिलो संविधानसभा भंग हुनुको भित्री कारण के के हुन्, त्यो थाहा भएन, तर संविधानसभा असफल हुनुको बाहिरी कारण भनेकै संघीयताको नाम रह्यो। अहिले पनि देशमा जातीय पहिचान सहितको संघीयताको कुरा मुख्य विवाद र बहसको विषय बनेको छ। आफ्नो जातिको पहिचान संरक्षण गर्न नै जातीय राज्यको माग गरिएको हो भन्ने कुरा मैले केही नेताको भाषणमा सुनेको छु। तर, यसरी नेपाली मौलिक पहिचानको धर्मसंस्कृतिमाथि आक्रमण बढ्दै गएपछि भोलिका दिनमा हाम्रो पहिचानको के गरी संरक्षण होला?

यो नै धर्म मानिनुपर्छ भनेर कसैलाई हिन्दु वा कुनै धर्ममा लादिनु हुँदैन वा धर्म नमानी बस्ने अधिकार वा कसैलाई कुनै धर्मको ग्रन्थबाट प्रभावित हुन्छ भने उसले आफ्नो इच्छाले धर्म परिवर्तन गर्न पाउने अधिकार रहनुपर्छ, तर कानुनबाहिर गएर धर्म प्रचार गरी नेपाली संस्कृतिमाथिको आक्रमण गर्न चाहिँ पाइँदैन। धर्म परिबर्तन गर्न पाईन्छ तर धर्म परिबर्तन गराउन पाइँदैन। अहिले सरासर धर्म परिवर्तन गराउने काम भइरहेको प्रस्ट देखिन्छ।

आज प्रत्येक गाउँघर सहरमा धर्म परिबर्तन गरेर इसाई भएकै कारणले गर्दा दशैँतिहार जस्ता नेपाली कुनै पनि चाड पर्ब नमान्ने जमात देखिनु, गाउँसहरतिर मन्दिर, गुम्बाभन्दा चर्चको संख्या धेरै हुँदै जानु, सोलुखुम्बुलगायत केही हिमाली जिल्लामा धर्म परिबर्तनले गर्दा त्यहाका गुम्बा सुनसान हुन थालेको समाचार आउनु र यति छोटो समयमा सरकारी तथ्यांकलाई गलत भनी २५ लाख क्रिश्चियन भएको दाबी गरिनुले अबको केहि दशकपछि नेपाल पहिचानको धर्म मान्ने एउटा सानो जमातमा रहने र बिस्तारै नेपाली संस्कृति लोप हुने हो कि भन्ने चिन्ता बढ्न थालेको हो।

उपत्यकाको तीन जिल्लामा सबैभन्दा धेरै क्रिश्चियन रहेक तथ्यांकले देखाउँछ र बढ्ने क्रममा छ, जसले गर्दा निकट भबिस्यमै ललितपुर ,भक्तपुरमा पुर्खौंदेखि चल्दै आएको जात्रा, पर्ब संकटमा पर्ने खतरा देखिँदै छ। यदि नेपालमा क्रिश्चियन धर्मको आक्रमण नरोकिने हो भने एक दिन नेपाली मौलिक सम्पदाजस्तै हिन्दु, बौद्ध, किराँती, बोन्पो आदि इतिहासमा लेखिने छन्।

यसरी अहिले बढेको धर्म परिबर्तनले गर्दा समाजमा विभिन्न सामाजिक समस्या प्रस्ट देखिन थालेका छन्। परिवारको एक सदस्यले धर्म परिबर्तन गरेकै कारण दशैँमा टिका नलगाइदिँदा, आफ्नो घरमा हुने धार्मिक कार्यक्रममा सहभागी नहुँदा, घरमा पाठपूजा गरिएको प्रसाद नखाइदिँदा पारिवारिक मनमुटाव बढेको उदाहरण म सामु छन्। आफ्नो एक्लो दाइले धर्म परिबर्तन गरेकै कारणले गर्दा तिहारमा भाइटिका नलगाइदिँदा बहिनी तिहारको बेला रोएर बसेको देखेको छु। जसले गर्दा निकट भबिष्यमा नेपालका धार्मिक संकट उत्पत हुन सक्नेमा सबै पक्षको ध्यान पुग्नुपर्ने समय भइसकेको छ।

मेरो व्यक्तिगत कुरा गर्नु पर्दा म हिन्दु धर्म मान्ने भए पनि चर्चमा गएर प्रार्थना गरेको छु– क्रिसमसको बेला शुभकामना आदानप्रदान गर्नुको साथै बिभिन्न होटेल र चर्चमा गएर क्रिसमसको उत्सबमा सामेल भएको छु। त्यसैले धर्म परिबर्तन गरेर क्रिश्चियन भए पनि आफ्नो परापूर्वकालदेखि चल्दै आएको परम्परालाई पनि आत्मसात गर्दिए यस्तो सामाजिक समस्या आउने नै थिएन।

दसैँतिहार आदि नेपाली पर्बको धार्मिक महत्ता जतिकै सामाजिक महत्ता पनि उत्तिकै छ। दसैँतिहारले गर्दा लामो समय पछि पारिवारिक जमघट, आफन्त, गाउले साथीभाइसँग भेटघाट हुने अवसर प्रदान गर्यो। तिहारले दाजुभाइ र दिदीबहिनीबीच आत्मीय सम्बन्ध कायम राख्न सहयोग गर्छ। तिहारको बेला बज्ने देउसीभैलोको भाकाले तिहारको वातावरण नै साह्रै रमाइलो बनाउँछ। त्यसैले पनि यस्ता धार्मिक र सामाजिक महत्ताका रमाइला पर्बहरु सधैंभरि बाँचिरहन जरुरी छ। हाम्रो धार्मिक ग्रन्थमा नलेखिएका तर धर्मको नाममा चल्दै आएका केही गलत परम्परालाई छाडी नेपालीको मौलिक परम्पराको निरन्तरता हुनुपर्छ ।

कोही नेता वा जनताले म देशभक्त हुँ– नेपाललाई माया गर्छु भनेर सामाजिक संजालमा लेख्छन्  तर आफ्नो देशको सांस्कृतिक पहिचान संकटमा पर्दै गएको कुरालाई ध्यान दिँदैन भने उ देशभक्त हुन् सक्दैन। अब नेपाली धर्मसंस्कृति भबिष्यमा लोप  हुने सक्नेमा हामी सबैको ध्यान जान जरुरी भएको छ। नेपाली युवालाई आफ्नो धर्मसंस्कृतिप्रति गौरव गर्नसक्ने वातावरण बन्न सकोस्। सबै नेपालीलाई तिहार र छठ पर्बको शुभकामना।

(थापा नेपाल इन्जिनियरिङ कलेजमा सिभिल इन्जिनियर पढ्दै छन्।)

http://setopati.com/blog/5145/#sthash.UFG8L1Qo.dpuf 

त्यसको लगत्तै सेतोपाटि खबरसाइटमा नै प्रकाशित भएको जगदीश पोखरेल द्वारा लिखित “के क्रिश्चियन बन्नु अपराध हो?” शिर्षकको लेख:

के क्रिश्चियन बन्नु अपराध हो?

यो देश हल्ला, गाली र तालीले चलेको देश हो। यहाँ सबैलाई ताली खानु परेको छ, त्यसका लागि गालीबाहेक अरु गर्ने उपाय कसैसँग छैन । यहाँ कांग्रेसले माओबादीको बिरोध गर्छ, माओबादीले कांग्रेस/एमालेको बिरोध गर्छ,  गणतन्त्रबादीले राजाबादीको उछित्तो काढ़छन्, राजावादीले गणतन्त्रवादीको । बाहुनबादी बाहुनले दलित जनजातिलाई मान्छे गन्दैन,  कतिपय जनजातिले बाहुन क्षेत्रीको रगत चाट्छु भन्दै हिँड्छन्।आफूलाई चित्त नबुझ्नेबित्तिकै बिनाप्रमाण तितो बचन गरिहाल्नु पर्ने त हामी नेपालीको प्रमुख संस्कार झैं बनेको छ।

यसैक्रममा कतिपय जानेबुझेका जस्ता लाग्ने व्यक्तिहरुले पनि नेपालका क्रिश्चियनहरु प्रति निकै नै कायरतापूर्ण तर्कहरु गरेर आफैंलाई राम्रो लेखक प्रमाणित गराउने चेष्टा गरेको बेलाबखतमा देख्ने गरिन्छ।वास्तवमा भन्ने हो भने यहाँ काम भन्दा सयौं गुणा बढी कुरा हुन्छन् र त आजसम्म देश  पश्चगमनको अवस्थामा छ।

बिश्व इतिहास साक्षी छ: संसारमा आफ्नो धर्म प्रचार प्रसार नगर्ने कुनै पनि धर्म छैन। हिन्दु, बौद्ध, इस्लाम,  इसाई अनि अरु बाँकी सबैले नै कुनै न कुनै कालखण्डमा आफ्नो आफ्नो धर्म प्रचार गरेकै हुन्।

आज अमेरिका र युरोपमा पनि इस्लाम तथा हिन्दू धर्म फैलिइरहेको छ। अमेरिकाको हरेक स्टेटमा कम्तीमा एउटा मस्जिद छ।  भोलि अमेरिकामै हरेक स्टेटमा एउटा एउटा मन्दिर बन्यो भने पनि कसैले आश्चर्य नमाने हुन्छ। त्यसो भयो भने  के त्यहाँका अमेरिकनहरुले पनि मन्दिर बढ्यो भनेर हुँदा नहुँदा गन्थन गरेर बस्लान त ?  पक्कै बस्दैनन्, किनकि उनीहरु हामीझैं गफ हानेर खाना पचाउने काम गर्दैनन्।

नमच्चिने पिङको सय झड्का भनेझैं काम भन्दा कुरा बढी गरिने देशमा नै स्वदेशी धर्म, बिदेशी धर्म, यो जात, उ जात भनेर नौटंकी रचिन्छ। होइन भने यूरोप/अमेरिकाले किन हिन्दु वा इस्लाम वा बौद्ध धर्म मान्नेहरुलाई पनि निशर्त आफ्नो देशको नागरिक स्वीकार गर्दछ? अमेरिकनहरुले पनि हामीले जस्तै संकीर्ण सोच राखेको भए फिलिपिन्स, नाइजेरिया जस्ता मध्यम स्तरिय क्रिश्चियन बाहुल्य देशहरुबाट मात्रै डिभी चिठ्ठामार्फत मानिसहरु भित्र्याएको भए हुदैनथ्यो र ? तर पनि आज किन डिभी मार्फत अमेरिका जान चाहनेहरुको ठुलो ठुलो भिड लाग्नेमा चाहिं बंगलादेश, नेपाल जस्ता देशहरु पर्दछन् ?

के हामीले क्रिश्चियनहरुलाई विदेशी धर्म मानेको भनिरहँदा आँफुले दौरासुरुवाल, गुन्यूचोली वा आफ्नो जातीय पोशाक लगाइराखेका छौं?  के हामीले प्रयोग गर्ने घडी, मोटरसाइकल, कम्प्युटर,  हवाइजहाज सबै स्वदेशी उत्पादन हो? के सबकासब वैज्ञानिक आविष्कारहरु हाम्रै पेवा हुन्?

कुनै पनि मान्छे जन्मँदै यो धर्मको भनेर फिक्स भएर जन्मेको हुँदैन। यो स्वतन्त्रताको संसार हो, जो कसैले पनि जुनसुकै धर्म छान्न सक्दछ। यसलाई छेकबार गर्न खोज्नु मानव अधिकारको गम्भीर उल्लङ्घन हो।

जहाँसम्म बिदेशी पैसाकै बलमा धर्मप्रचार गरियो भन्ने आरोप छ, त्यो एक आधारहीन कुरो हो। बिदेशीको पैसा क्रिश्चियनहरुको चर्चमा त परेको होला ल, त्यो मान्न सकिन्छ। तर हामी सबैले बुझेको तर नबुझेको झैं गरेको कुरा के हो भने विदेशी पैसा त हामीले अघि भर्खर खानामा हालेको नुनमा पनि परेको छ। बिहान गाडी चढेर हिँडेको बाटोमा पनि परेको छ। यहाँका सबकासब राजनीतिक दलमा पनि परेको छ। कर्णालीमा भोकमरी लाग्दा बाँडिने पिठोमा पनि विदेशीको पैसा परेको छ। अब के यी सबैलाई बिदेशीको पैसा परेको भनेर बिटुलो मान्ने?

चाइनाको लसुन र भारतको प्याज नभई हाम्रो भान्सा तात्दैन। अरबको खाडीमा नगई हाम्रो चुलो बल्दैन। नेपाली उत्पादनले हाम्रो इज्जत जान्छ। युरोप / अमेरिका जानलाईजायजेथा बेचेर पनि ज्यानको बाजी लगाउन तम्सिन्छौँ हामी। जबसम्म समग्र देशको प्रगति हुँदैन तबसम्म यो अवस्था रहि नै रहन्छ। यो अवस्था क्रिश्चियन वा हिन्दु वा मुस्लिम मात्रको नभएर यो देशभित्र जन्मने अधिकांश नेपाली नागरिकहरुको यथार्थ धरातल हो।

दक्षिण कोरियाको चर्चहरुले कसैको पनि पैसा लिंदैनन तर धेरैलाई सहयोग पुर्याउछन किनकि त्यहाँका मान्छेहरु सक्षम छन्। उनीहरुलाई अरुको पैसा लिनु आवस्यक नै छैन। त्यस्तै नेपालका पनि केहि  चर्चहरुले त कुनै पनि अर्थमा बिदेशीको पैसा नलिने भनेर घोषणा गरिसकेको अवस्था छ। उनीहरु आफैंमा निर्भर छन्।

अधिकांश लेखहरुमा हिन्दु राष्ट्र मासेर धर्म निरपेक्षता ल्याउनुको मुख्य दोष क्रिश्चियनहरुलाई लगाएको भेटिन्छ। यसमा चाहिं हामी क्रिश्चियनहरु खुसी नै हुनुपर्छ होला,  किनकि हामीले गर्दै नगरेको कामको जस पाइराखेका छौं। हिन्दु राष्ट्र हुँदाको बखत पनि क्रिश्चियनहरुले हामीलाई धर्म निरपेक्षता चाहियो भनेर कुनै नारा, जुलुस, बन्द हड्ताल वा अन्य कुनै दवाबका कामहरु गरेको मलाई थाहा छैन।

हामी राम्ररि जान्दछौं: हिन्दु राष्ट्र वा धर्म निरपेक्ष राष्ट्र कुनैले पनि सडकमा सुतेको सडक बालकको जाडो छेक्दैन,  जाजरकोटमा झाडापखाला लागेर मर्न आँटेको मान्छेलाई निको गराउदैन, अरबको खाडीको चरम गर्मीमा पसिनाको धारा बगाइराखेका हाम्रा दाजुभाइहरुको पसिना पुछ्दैन। हामी त खालि स्वतन्त्रताको पक्षपाति हौँ, नकि हिन्दु राष्ट्र वा धर्म निरपेक्ष राष्ट्रको। नेपालको धर्म निरपेक्षता भनेको धार्मिक खोल ओढेको राजनीतिक मुद्दा हो। यसमा नता क्रिश्चियनको नता बुद्दिश्टको नता मुस्लिमहरुको नै हात छ।

यसो भन्दैमा हामी धर्म निरपेक्षता चाहदैनौं भन्ने पनि होइन, धर्म निरपेक्षता लोकतन्त्रको एउटा सर्बमान्य खम्बा हो। अमेरिका,  बेलायत,  भारत जस्ता प्रजातन्त्रका जननी मानिने मुलुकहरु धर्मनिरपेक्ष मुलुकहरु हुन्।

यतिबेला यहाँहरुमध्ये कतिले सोचिसक्नुभयो होला: धर्मनिरपेक्ष भनेर के अर्थ? अमेरिकाको राष्ट्रपतिले त बाइबलमा हात राखेर सपथ खान्छन त! यो कुरा सत्य नै हो कि अमेरिकाका राष्ट्रपतिले बाइबलमा हात राखेर नै सपथ खान्छन। तर हामीले बुझ्न जरुरि कुरो के हो भने अमेरिकाको कानुनले कुनै मुस्लिम वा हिन्दु राष्ट्रपति भएको खण्डमा उनीहरुलाई कुरान वा गीतामा हात राखेर सपथ ग्रहण गर्नबाट रोक्दैन। हालसालै एकजना इन्डियन मुलका अमेरिकन न्यायाधीशले गीतामा हात राखेर सपथ ग्रहण गरेको त हामीले सुनेकै हौँ।

धर्मनिरपेक्ष राष्ट्रले पनि बहुसंख्यक समुदायको बिशेष सम्मान गर्न सक्दछ। अमेरिकामा क्रिश्चियनहरुको बाहुल्य छ त्यसैले त्यहाँका कतिवटा कुराहरु आफैं क्रिश्चियानिटीतर्फ ढल्कन्छन्। नेपालमा हिन्दुहरुको बाहुल्य छ त्यसैले यस देशका धेरै पक्षहरु स्वत: हिन्दुजस्तै बन्छन्। राष्ट्रपति क्रिसमस वा इदको कुनै समारोहमा सहभागी हुँदैनन् तर भोटो जात्रामा सहभागी हुन्छन्, दशैंमा सामुहिक टिकाटाला लगाईदिन्छन्। देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा हिन्दु देवी देवताका मूर्ति राखिएका छन्, हिन्दु चाडपर्वहरुमा धेरै दिन बिदा हुन्छ, मन्दिरहरुले बर्षेनी सरकारी कोषबाट रकम प्राप्त गर्दछन। हिन्दुहरुलाई एउटा धर्मनिरपेक्ष देशले यहाँ भन्दा बढी के गर्नुपर्यो? बहुसंख्यकको कदर गर्ने भनेको यही होइन र? तर यति हुँदा हुँदै पनि संबिधान नै आफ्नै नाममा लेखिनुपर्ने भन्नु त अतिवादी सोच भएन र?

गल्ति मान्छेबाट नै हुन्छ, निश्चय नै क्रिश्चियनहरु बाट पनि कति गल्ति भएका होलान। गल्ति, कमीकमजोरी रहित त पक्कै पनि हिन्दु समुदाय पनि छैन। त्यसैले सबैमा मेरो अनुरोध छ कसैको पनि एकोहोरो बिरोध नगर्नुहोला। आउनुहोस हामी मिलेर गुण र दोषको आधारमा समर्थन वा बिरोध गर्ने सभ्य परिपाटीको बिकास गराऔँ। हामीले गरेका गल्ति छन् भने तोकेर देखाउनुस, हामी तिनीहरुलाई सच्याउन तयार छौं। तर यो देशमा चर्च खुल्न नै नहुने, क्रिश्चियन बढ्न नै नहुने भन्ने तालिवानी शैलीको एकलकांटे प्रवृतिलाई चाहिं हामी स्वीकार गर्न सक्दैनौं। धन्यवाद!

http://setopati.com/pathak-bichar/5157/#sthash.YqHuxoIa.dpuf

Related Posts

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

अन्तिम विकल्पः असाध्य रोग निको पार्ने विशेष वरदान प्राप्त सुवास सुब्बा

May 18, 2019

८०० वर्ष पुरानो क्याथेड्रल नोट्रे डेममा अागलागीः विश्व सम्पदामा हानि, “हाम्रा हृदय टुटेका छन्”

April 17, 2019
४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

४० जना वरिष्ठ पाष्टरहरूका जीवन गवाहीको संगालो, मार्था राइद्वारा लिखित “मनका कुरा” विमोचित

March 13, 2019
कसले त्यसको जोखिम र/वा जश उठाउने ?

कसले त्यसको जोखिम र/वा जश उठाउने ?

January 27, 2019

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In