०६ मंसिर २०८३, आइतबार
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली गएका हुन्।
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने तथा प्रधानमन्त्री मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहसँगको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी तथा सञ्चारमाध्यमका प्रतिनिधि सहभागी छन्। कान्तिपुरका अनुसार टोलीमा कुल ३५ जना छन्।
आज जयशंकरसँग भेट, सोमबार मोदीसँग वार्ता
नयाँदिल्ली पुगेपछि प्रधानमन्त्री शाहले आइतबार साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेट गर्ने कार्यक्रम छ। सोमबार बिहान औपचारिक स्वागतपछि उनी महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।
त्यसपछि हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ। दुई नेताबीच एक्लाएक्लै, सीमित अधिकारीसहित र प्रतिनिधिमण्डलस्तरमा छलफल हुने तालिका छ। सोमबार नै प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति मुर्मूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।
दुई अर्ब डलरको आर्थिक सहयोग नेपालको प्राथमिकतामा
भ्रमणका क्रममा नेपालले भारतसँग करिब दुई अर्ब अमेरिकी डलर बराबरको अनुदान तथा सहुलियतपूर्ण ऋण सहयोगको प्रस्ताव अघि बढाएको छ। यस विषयमा भारत सकारात्मक देखिए पनि अन्तिम सहमति र सहयोगको स्वरूपबारे छलफल जारी रहेको अधिकारीहरूलाई उद्धृत गर्दै समाचार सार्वजनिक भएका छन्।
नेपालको अर्को प्रमुख प्राथमिकता भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने थप हवाई मार्ग उपलब्ध गराउनु हो। विशेषगरी महेन्द्रनगर रुटलाई दुईतर्फी सञ्चालन गर्न तथा भैरहवा क्षेत्रको हवाई पहुँच विस्तार गर्न नेपालले आग्रह गर्दै आएको छ। तर यस विषयमा दुवै पक्षबीच अझै सहमति जुट्न सकेको छैन।
ऊर्जा, व्यापार र पूर्वाधारमा सहकार्य विस्तारको तयारी
प्रधानमन्त्रीको भ्रमणका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासका विषयमा छलफल हुने बताइएको छ। दुवै देशबीच शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
भ्रमणका अवसरमा सम्पन्न ऊर्जा तथा सम्पर्क सञ्जालसम्बन्धी परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणसम्बन्धी परियोजना हस्तान्तरण तथा जनकपुर–अयोध्या रेल सेवासम्बन्धी घोषणा पनि भ्रमणका सम्भावित उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
प्रधानमन्त्री शाहले भारतका व्यवसायी समुदायसँग नेपालमा लगानीका अवसरबारे छलफल गर्ने कार्यक्रम पनि छ। नेपाल–भारत बिजनेस फोरममार्फत नेपाली अर्थतन्त्रका प्राथमिकता र लगानीका सम्भावना प्रस्तुत गरिनेछ।
सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम
दुईदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ नेपाल फर्कने कार्यतालिका छ। नेपाल फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणका उपलब्धिबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको कान्तिपुरले जनाएको छ।
नेपाल र भारतबीचको व्यापार, ऊर्जा, हवाई सम्पर्क तथा पूर्वाधार सहकार्यका विषय लामो समयदेखि छलफलमा छन्। प्रधानमन्त्री शाहको यस भ्रमणबाट ती विषयमा कस्तो सहमति र ठोस उपलब्धि हासिल हुन्छ भन्नेमा चासो छ।















Discussion about this post