२१ कात्तिक २०८३, शनिबार
काठमाडौँ । दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा आफ्नो मूल थलोबाट विस्थापित भई पश्चिमी मुलुकका सङ्ग्रहालयसम्म पुगेको इतिहास, त्यस क्रममा हराएका सांस्कृतिक अर्थ र सम्पदा फिर्ताको अधिकारसम्बन्धी बहसलाई केन्द्रमा राखेर आयोजित अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौँमा सम्पन्न भएको छ।
तारागाउँ नेक्स्टको आयोजना तथा सराफ फाउन्डेसनको सहयोगमा बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी आयोजना गरिएको थियो। ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टस् म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको उक्त प्रदर्शनीले दक्षिण एसियाली सम्पदाको विस्थापन, औपनिवेशिक इतिहास र सांस्कृतिक स्वामित्वका जटिल प्रश्नलाई कलात्मक अभिव्यक्तिमार्फत प्रस्तुत गरेको थियो।
प्रदर्शनीले विशेषगरी औपनिवेशिक शासन र साम्राज्यवादी विस्तारका क्रममा दक्षिण एसियाबाट विभिन्न सांस्कृतिक तथा धार्मिक वस्तुहरू कसरी बाहिरिए भन्ने विषयलाई उठान गरेको थियो। आफ्नो मूल स्थानबाट टाढा रहेका यस्ता सम्पदाले केवल ऐतिहासिक वा कलात्मक महत्त्व मात्र बोकेका हुँदैनन्, तिनको सम्बन्ध स्थानीय समुदायको आस्था, परम्परा, पहिचान र सांस्कृतिक स्मृतिसँग समेत जोडिएको हुन्छ भन्ने सन्देश प्रदर्शनीले दिएको थियो।
पश्चिमी सङ्ग्रहालयहरूमा सुरक्षित राखिएका सम्पदाको स्वामित्व कसको हुने, तिनलाई मूल देश वा समुदायमा फिर्ता गर्नुपर्ने कि नपर्ने र सम्पदा फिर्ता गर्ने प्रक्रियामा सम्बन्धित समुदायको भूमिका कस्तो हुनुपर्ने भन्ने प्रश्न प्रदर्शनीका मुख्य विषय थिए। यसले सम्पदालाई केवल सङ्ग्रहालयमा प्रदर्शन गरिने वस्तुका रूपमा नभई जीवित संस्कृति र समुदायको ऐतिहासिक पहिचानका रूपमा बुझ्नुपर्ने आवश्यकतासमेत औँल्याएको थियो।
दक्षिण एसियाका विभिन्न मुलुकमा धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेका मूर्ति, कलाकृति र पुरातात्त्विक वस्तुहरू लामो समयदेखि विदेशका सङ्ग्रहालय तथा निजी सङ्ग्रहमा रहेका छन्। यस्ता सम्पदाको फिर्तीसम्बन्धी बहस पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण बन्दै गएको छ। विशेषगरी नेपालजस्ता मुलुकका लागि सम्पदा संरक्षण, पुनःप्राप्ति र सांस्कृतिक अधिकारको विषय राष्ट्रिय पहिचानसँग समेत जोडिएको छ।
प्रदर्शनीले कला, इतिहास र सांस्कृतिक राजनीतिलाई एकै ठाउँमा जोड्दै सम्पदाको वास्तविक स्वामित्व र फिर्तीको अधिकारबारे दर्शकलाई सोच्न प्रेरित गरेको छ। यसले सांस्कृतिक सम्पदाको संरक्षण केवल भौतिक वस्तु जोगाउने विषय नभई त्यससँग जोडिएको इतिहास, आस्था, पहिचान र समुदायको अधिकार संरक्षण गर्ने विषयसमेत भएको सन्देश दिएको छ।














Discussion about this post