२० कात्तिक २०८३, शुक्रबार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न सेवा, समूह र तहका गरी ४०५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले शुक्रबार (२०८३ कात्तिक २०) सूचना प्रकाशित गर्दै खुला प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्ने जनाएको हो।
प्राधिकरणका अनुसार अधिकृतस्तरमा ८३ जना र सहायकस्तरमा ३२२ जना कर्मचारी माग गरिएको छ। अधिकृतस्तरमा प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासनिक अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट तथा विभिन्न विधाका इन्जिनियरलगायत पद समावेश छन्।प्राविधिकतर्फ इलेक्ट्रिकल इन्जिनियरका लागि ४२, सिभिल इन्जिनियर पाँच, मेकानिकल इन्जिनियर चार, इलेक्ट्रोनिक्स इन्जिनियर तीन र कम्प्युटर इन्जिनियर चार जनाको माग गरिएको छ।
सहायकस्तर तह पाँचअन्तर्गत मिटर रिडिङ सुपरभाइजरका लागि ३१, लेखापालका लागि ३४, इलेक्ट्रिकल सुपरभाइजरका लागि २४६, मेकानिकल सुपरभाइजरका लागि आठ र सिभिल सुपरभाइजरका लागि तीन जना माग गरिएको छ। सहायकस्तरका यी पदमा प्रदेशगत रूपमा कर्मचारी पदपूर्ति गरिनेछ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले प्राधिकरणको अनलाइन आवेदन प्रणालीमार्फत मंसिर १० गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। उक्त अवधिमा आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर तिरेर मंसिर १७ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
भर्ना प्रक्रिया खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत लोक सेवा आयोगले सञ्चालन गर्नेछ। पदअनुसार आवश्यक शैक्षिक योग्यता, अनुभव, उमेर सीमा, समावेशी समूह र अन्य सर्तहरू फरक रहेकाले उम्मेदवारले आवेदन दिनुअघि प्राधिकरणले प्रकाशित गरेको आधिकारिक विज्ञापन अध्ययन गर्नुपर्नेछ। यस भर्नाले प्राविधिक तथा प्रशासनिक क्षेत्रमा रोजगारी खोजिरहेका युवाका लागि अवसर सिर्जना गरेको छ। विशेषगरी इन्जिनियरिङ, व्यवस्थापन, वाणिज्य तथा प्राविधिक शिक्षा हासिल गरेका उम्मेदवारले आफ्नो शैक्षिक योग्यता र अनुभवअनुसार विभिन्न पदमा प्रतिस्पर्धा गर्न सक्नेछन्।














Discussion about this post