२० कात्तिक २०८३, शुक्रबार
सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालबालिका तथा किशोरकिशोरीको मानसिक र भावनात्मक स्वास्थ्यमा पारिरहेको प्रभावबारे नयाँ अध्ययनले महत्त्वपूर्ण तथ्य सार्वजनिक गरेको छ। भारतको चण्डीगढस्थित पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च (पीजीआईएमईआर) का अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार सामाजिक सञ्जालबाट उत्पन्न हुने डिजिटल तनाव बढी उमेरका किशोरकिशोरीको तुलनामा कम उमेरका बालबालिकामा बढी देखिएको छ।
अध्ययनले विशेषगरी १० देखि १३ वर्ष उमेर समूहका बालबालिका १४ देखि १६ वर्ष उमेर समूहका किशोरकिशोरीभन्दा सामाजिक सञ्जालसम्बन्धी तनावप्रति बढी संवेदनशील रहेको देखाएको छ। अनुसन्धानकर्ताहरूका अनुसार कम उमेरका बालबालिकामा सामाजिक सञ्जालको प्रयोग नियन्त्रण गर्ने तथा त्यसबाट उत्पन्न हुने भावनात्मक दबाब व्यवस्थापन गर्ने क्षमता तुलनात्मक रूपमा कमजोर हुन सक्छ।
‘सोसल मिडिया युज एन्ड डिजिटल स्ट्रेस अमङ स्कुल एडोलेसेन्ट्स इन नर्थ इन्डिया’ शीर्षकको उक्त अध्ययन सन् २०२६ को जनवरीदेखि अप्रिलसम्म सञ्चालन गरिएको थियो। यसमा भारतको सहरी क्षेत्र चण्डीगढ र हरियाणाको पञ्चकुला जिल्लाअन्तर्गत ग्रामीण क्षेत्र रायपुर रानीका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत १० देखि १६ वर्ष उमेर समूहका १ हजार ३०६ विद्यार्थी सहभागी थिए। सहभागीमध्ये ६८७ जना चण्डीगढ र ६१९ जना रायपुर रानी क्षेत्रका थिए।
अध्ययनमा सहभागीमध्ये ५२ प्रतिशत विद्यार्थीमा सामान्यदेखि गम्भीर स्तरसम्मको डिजिटल तनाव देखिएको छ। त्यस्तै, करिब ३२ प्रतिशत विद्यार्थीले साताको कार्यदिनमा दैनिक तीन घण्टाभन्दा बढी समय सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको पाइएको छ। १० देखि १३ वर्ष उमेर समूहका करिब २० प्रतिशत बालबालिकामा समस्याजनक सामाजिक सञ्जाल प्रयोग देखिएको थियो भने १४ देखि १६ वर्ष उमेर समूहमा यस्तो अवस्था करिब १२ प्रतिशतमा सीमित थियो।
अनुसन्धानले सामाजिक सञ्जालमा बिताउने समय र डिजिटल तनावबीच पनि सम्बन्ध देखाएको छ। दैनिक तीन घण्टाभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गर्ने विद्यार्थीमध्ये साताको कार्यदिनमा ६४ प्रतिशतमा डिजिटल तनाव देखिएको थियो। दैनिक तीन घण्टाभन्दा कम समय प्रयोग गर्ने विद्यार्थीमा यस्तो अनुपात ४६ प्रतिशत थियो। सप्ताहान्तमा पनि बढी समय सामाजिक सञ्जाल प्रयोग गर्ने विद्यार्थीमा तनावको अनुपात तुलनात्मक रूपमा उच्च रहेको अध्ययनले देखाएको छ।
अध्ययनले डिजिटल तनावका विभिन्न कारणसमेत पहिचान गरेको छ। सामाजिक सञ्जालमा सधैँ उपलब्ध हुनुपर्ने दबाब, पोस्ट तथा तस्बिरमा लाइक र कमेन्टको अपेक्षा, अरूको जीवनशैलीसँग आफ्नो तुलना गर्ने प्रवृत्ति, अनलाइन गतिविधिबाट छुटिने डर अर्थात् ‘फियर अफ मिसिङ आउट’ (एफओएमओ) र लगातार नयाँ सामग्री हेरिरहनुपर्ने बानीले बालबालिकामा मानसिक दबाब सिर्जना गर्न सक्ने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।
त्यस्तै, सहरी क्षेत्रका विद्यार्थीमा ग्रामीण क्षेत्रका विद्यार्थीको तुलनामा मध्यमदेखि गम्भीर डिजिटल तनाव बढी देखिएको छ। सहरी क्षेत्रमा यस्तो तनावको अनुपात १७ प्रतिशत र ग्रामीण क्षेत्रमा ११ प्रतिशत रहेको अध्ययनले उल्लेख गरेको छ। छात्राको तुलनामा छात्रमा अनलाइन उपलब्ध रहनुपर्ने दबाब कम देखिएको तथा छात्रामा अरूको गतिविधि छुट्ने डर (एफओएमओ) बढी देखिएको पनि अनुसन्धानले औँल्याएको छ। अध्ययनमा सहभागी करिब ४० प्रतिशत किशोरकिशोरीमा इन्टरनेट निर्भरताका लक्षणसमेत देखिएका थिए।
अनुसन्धान टोलीकी प्राध्यापक मधु गुप्ताका अनुसार सामाजिक सञ्जालले किशोरकिशोरीलाई निरन्तर अनलाइन रहन, अरूबाट स्वीकृति प्राप्त गर्न र अरूले के गरिरहेका छन् भन्ने कुरासँग आफूलाई तुलना गर्न प्रेरित गर्न सक्छ। सामाजिक स्वीकृतिको चाहना र नयाँ गतिविधिबाट छुट्ने डरले डिजिटल तनाव बढाउन सक्ने उनको भनाइ छ। विशेषगरी कम उमेरका बालबालिका यस्ता दबाब व्यवस्थापन गर्न पर्याप्त रूपमा सक्षम नहुन सक्ने भएकाले अभिभावक र विद्यालयले उनीहरूलाई स्वस्थ डिजिटल बानी विकास गर्न सहयोग गर्नुपर्ने उनले बताएकी छन्।
अध्ययनले बालबालिकालाई सामाजिक सञ्जालबाट पूर्ण रूपमा टाढा राख्नुभन्दा यसको सुरक्षित, सन्तुलित र जिम्मेवार प्रयोग सिकाउनु आवश्यक रहेको निष्कर्ष निकालेको छ। अभिभावकले बालबालिकासँग उनीहरूको अनलाइन गतिविधिबारे खुलेर कुराकानी गर्ने, मोबाइल तथा सामाजिक सञ्जाल प्रयोगको समय निर्धारण गर्ने, पर्याप्त निद्रा, खेलकुद र प्रत्यक्ष सामाजिक अन्तरक्रियालाई प्राथमिकता दिने वातावरण बनाउनुपर्ने अनुसन्धानकर्ताहरूको सुझाव छ।
यद्यपि यो अध्ययन भारतका दुई भौगोलिक क्षेत्रका विद्यालयमा गरिएको भएकाले यसको निष्कर्षलाई सबै देश र समुदायका बालबालिकामा समान रूपमा लागू गर्न मिल्दैन। यो एक निश्चित समयको अवस्थालाई अध्ययन गर्ने क्रस–सेक्सनल अनुसन्धान भएकाले सामाजिक सञ्जालको प्रयोगले नै तनाव उत्पन्न गरेको हो भन्ने कारण–परिणाम सम्बन्धसमेत यसले प्रमाणित गर्दैन। तर कम उमेरमै डिजिटल प्रविधिको पहुँच बढिरहेको वर्तमान समयमा बालबालिकाको मानसिक स्वास्थ्य र सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा अभिभावक, विद्यालय तथा नीतिनिर्माताले गम्भीर ध्यान दिनुपर्ने विषयलाई यसले उजागर गरेको छ।














Discussion about this post