०८ मंसिर २०८३, मंगलबार
परासी । पश्चिम नवलपरासीमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी २४ हजारभन्दा बढी परिवारको विवरण अभिलेखीकरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समितिका अनुसार जिल्लाभर हालसम्म २४ हजार ९५ परिवारको लगत प्रविष्ट गरिएको हो। समितिको विवरणअनुसार अभिलेखीकरण गरिएका परिवारमध्ये १९ हजार ६०९ अव्यवस्थित बसोबासी, दुई हजार ८५२ भूमिहीन सुकुम्बासी र एक हजार ६३५ भूमिहीन दलित परिवार छन्।
स्थानीय तहगत विवरणअनुसार सबैभन्दा धेरै बर्दघाट नगरपालिकामा आठ हजार ५३ परिवारको लगत संकलन भएको छ। सुनवल नगरपालिकामा छ हजार ५६९, सरावल गाउँपालिकामा दुई हजार ८५९ र सुस्ता गाउँपालिकामा दुई हजार ६६५ परिवारको विवरण प्रविष्ट गरिएको छ। त्यस्तै रामग्राम नगरपालिकामा एक हजार ८०६, प्रतापपुर गाउँपालिकामा एक हजार ३८४ र पाल्हीनन्दन गाउँपालिकामा ४५९ परिवारको लगत संकलन भएको छ।
लगत संकलन हुनु मात्रै भूमिहीन परिवारले जग्गाको स्वामित्व पाउनु होइन। विवरण प्रविष्टिपछि वडा तहबाट प्रारम्भिक छानबिन, स्थानीय तहबाट सिफारिस, जग्गाको नापजाँच तथा वर्गीकरण र अन्तिम प्रमाणीकरणलगायत प्रक्रिया पूरा हुनुपर्छ। पश्चिम नवलपरासीमा २४ हजारभन्दा बढी निवेदन परे पनि अहिलेसम्म एक जनाले पनि जग्गाधनी पुर्जा पाउन नसकेको विषय सार्वजनिक भएको छ। स्थानीय तहबाट आवश्यक विवरण र सिफारिस नआउँदा प्रक्रिया अघि बढ्न नसकेको सम्बन्धित अधिकारीहरूको भनाइ छ।
भूमि व्यवस्थापनसम्बन्धी व्यवस्थाअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई प्राथमिकतामा राखेर जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ। त्यसपछि मात्रै लामो समयदेखि जग्गा भोगचलन गर्दै आएका अव्यवस्थित बसोबासीको व्यवस्थापन गरिने व्यवस्था छ। पश्चिम नवलपरासीमा २४ हजारभन्दा बढी परिवारको विवरण अभिलेखीकरण हुनु भूमि समस्या समाधानको प्रक्रियामा महत्त्वपूर्ण चरण हो। तर वर्षौंदेखि लालपुर्जाको प्रतीक्षामा रहेका परिवारका लागि वास्तविक उपलब्धि भनेको जग्गाको कानुनी स्वामित्व प्राप्त गर्नु हो। अब स्थानीय तह र जिल्ला समितिले विवरण प्रमाणीकरण, जग्गाको नापजाँच तथा हकदाबीको छानबिनलाई समयमै टुंग्याउनुपर्ने देखिन्छ। साथै सार्वजनिक जग्गा, वन क्षेत्र, नदीकिनार तथा अन्य संवेदनशील क्षेत्रमा बसोबास गर्ने परिवारको हकमा प्रचलित कानुनअनुसार निर्णय गर्नुपर्ने हुन्छ।
प्रक्रिया पारदर्शी नहुँदा वास्तविक भूमिहीन छुट्ने र गैरहकदारले लाभ लिने जोखिम रहन्छ। त्यसैले प्रत्येक चरणको प्रगति सार्वजनिक गर्ने, गुनासो सुनुवाइको व्यवस्था गर्ने र लालपुर्जा वितरणको स्पष्ट कार्यतालिका बनाउने काम महत्त्वपूर्ण हुनेछ।















Discussion about this post