काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनबाट पार्टीको केन्द्रीय सभापति पदमा गगनकुमार थापा निर्वाचित भएका छन्। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा निर्वाचन निर्देशिका, २०८२ बमोजिम भएको यस महाधिवेशनको मतदान प्रक्रिया शुक्रबार सम्पन्न भएको थियो। बाँकी पदाधिकारी र सदस्यहरूको मतगणना आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुँदैछ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा सार्वजनिक गरिएको आधिकारिक निर्वाचन परिणामअनुसार सभापति पदका उम्मेदवार गगनकुमार थापाले ६ हजार ५८४ भारी मत प्राप्त गर्दै यस ऐतिहासिक जित हासिल गरेका हुन्। उहाँका निकटतम प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभएको छ। यस निर्वाचनमा कुल ७ हजार १३ मत खसेको थियो जसमा ५४ मत बदर भई ६ हजार ९५९ मत कायम रहेको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्का, सदस्य सचिव राजु कटवाल र सदस्य सुजन लोप्चनद्वारा संयुक्त रूपमा हस्ताक्षरित परिणाम घोषणा गरिएको हो। यसअघि नै विशेष महाधिवेशनबाट समेत नेतृत्व सम्हालिसक्नु भएका थापाको यो विजयसँगै पार्टीभित्र नयाँ राजनीतिक ऊर्जा र रूपान्तरणको अपेक्षा गरिएको छ।
नव निर्वाचित सभापति थापाले पार्टीलाई एकजुट बनाएर अगाडि लैजाने र आम जनताको विश्वास जित्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। यसअघि नै उनले विगतका निर्वाचनहरूमा पार्टीबाट टाढिएका वा छुटेका परम्परागत मतदाता तथा शुभेच्छुकहरूको गुनासो सम्बोधन गर्दै कांग्रेसलाई नयाँ स्वरूपमा उभ्याउने अटोण प्रतिबद्धता समेत व्यक्त गरेका छन्।














Discussion about this post