असोज २२, २०८३ बिहीबार
काठमाडौँ— भुजुङ्ग हाइड्रोपावर लिमिटेडको पाँचौ वार्षिक साधारण सभा बिहीबार काठमाडौँको नक्सालस्थित आम्रपाली ब्याङ्केटमा भव्य रूपमा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिको गत भाद्र ३० गते बसेको बैठकको निर्णयअनुसार बिहान ११ बजे सुरु भएको उक्त सभा कम्पनीका अध्यक्ष माधवराज आचार्यको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रमको सुरुवात गर्दै प्रबन्ध सञ्चालक डा. हिमाल भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हरिकृष्ण दाहालले गर्नुभएको थियो। सभामा उपस्थित शेयरधनीहरूले कम्पनीको वित्तीय अवस्था तथा आगामी दिशाका सम्बन्धमा राखेका जिज्ञासा र प्रश्नहरूको समाधान कम्पनीका वित्तीय परामर्शदाता एवं चार्टर्ड एकाउन्टेन्ट नारायण प्रसाद पौडेलले गर्नुभएको थियो।
उक्त साधारण सभाले गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदनका साथै सम्पूर्ण वित्तीय विवरणहरू सर्वसम्मत रूपमा पारित गरेको छ। यसका साथै सभाले चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावलाई समेत टुङ्ग्याएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १३ गते एक दिनका लागि बुक क्लोज गरेको हुनाले असोज १२ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य मानिनेछन्।
लमजुङ्ग जिल्लामा ७.५ मेगावाट क्षमताको माथिल्लो फिदिम जलविद्युत आयोजना सम्पन्न गरी २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको भुजुङ्ग हाइड्रोपावरको हाल कुल शेयर पूँजी रु. १ अर्ब रहेको छ। गत आर्थिक वर्षमा कम्पनीले विद्युत बिक्रीबाट मात्रै रु. १७ करोड भन्दा माथि आम्दानी गर्न सफल भएको जनाएको छ। कार्यक्रममा साधारण सेयरधनीका तर्फबाट मन्तव्य राख्दै वक्ताले कम्पनीबाट छिट्टै लाभांश प्राप्त हुने आशा व्यक्त गर्नुभयो। साथै, नयाँ व्यवस्थापनले अपनाएको खर्च कटौती रणनीति र बैंक ब्याज व्यवस्थापनप्रति उहाँले सन्तुष्टि जनाउनुभयो ।
यसैबीच, कम्पनीले आफ्नो पूँजी संरचना थप सुदृढ बनाउन सर्वसधारणका लागि २०८२ साल माघ १२ गतेदेखि माघ १५ गतेसम्म कुमारी क्यापिटल लिमिटेड लाई बिक्री प्रबन्धकको रुपमा चयन गरि साधारण शेयर (आईपीओ) निष्कासन गरेको थियो । हाल नेपाल को दोश्रो बजारमा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको शेयरहरु निरन्तर रुपमा कारोबार भैरहेको छ र लगानीकर्ताले यसबाट राम्रो फाइदा पाउने बिश्वास गरिएको छ।















Discussion about this post