कात्तिक २९, २०८३ सोमबार
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। कतारमा आयोजना हुने प्रतियोगिताका लागि क्यानले अनुभवी खेलाडी र नयाँ प्रतिभालाई समेट्दै टोली सार्वजनिक गरेको हो।
घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी, सन्दीप जोरा, पवन सर्राफ, बसिर अहमद र लोकेश बम छन्। त्यस्तै अर्जुन कुमाल, नन्दन यादव, दीपक डुम्रे, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनालले पनि टोलीमा स्थान बनाएका छन्।
नेपाल समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) सँगै परेको छ। नेपालले नोभेम्बर २० अर्थात् मंसिर ४ गते भारत ‘ए’सँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने प्रतियोगिताको फाइनल नोभेम्बर २९ मा हुनेछ। प्रतियोगितामा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले आफ्नो ‘ए’ टोली उतार्नेछन्। नेपाल, यूएई र हङकङले भने राष्ट्रिय टोलीका खेलाडी समावेश गर्न पाउनेछन्। यसले नेपाललाई एसियाका बलिया टोलीका युवा तथा दोस्रो तहका खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नेछ।
नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेर राइजिङ स्टार्स एसिया कपमा स्थान बनाएको हो। प्रिमियर कपमा उपविजेता बनेको यूएई र तेस्रो स्थान हासिल गरेको हङकङले पनि प्रतियोगितामा सहभागिता जनाउँदैछन्। अनुभवी खेलाडीको साथमा युवा प्रतिभालाई अवसर दिइएको नेपाली टोलीका लागि यो प्रतियोगिता अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्ने महत्त्वपूर्ण अवसर हुनेछ।














Discussion about this post