असोज १५, २०८३ बिहीबार
काठमाडौं : दुबईबाट इजरायलको तेल अभिवका लागि उडान भरेको फ्लाई दुबईको विमानमा उडानकै क्रममा एक अप्रत्यासित र भयानक घटना घट्न पुगेको छ। आकाशमै उडिरहेका बेला ककपिटभित्रै एक सहकर्मी पाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरेपछि विमानभित्र तीव्र तनाव सिर्जना भएको थियो। उडान भरेको करिब दुई घण्टापछि घटेको उक्त हिंसात्मक घटनापछि विमानलाई आपत्कालीन रूपमा साउदी अरबतर्फ मोडेर ताबुकमा अवतरण गराइएको थियो।
फ्लाईदुबईको एफजेड १०७३ उडान बुधबार दुबईबाट तेलअभिभका लागि उडेको थियो । विमानमा चालक दलसहित १७४ जना थिए । उडानको क्रममा पाइलटमाथि आक्रमण भएपछि विमानले अत्यन्त तीव्र गतिमा करिब १७ हजार फिट तल झरेको थियो । विमानमा रहेका १७४ यात्रुमध्ये १६६ जना इजरायली नागरिक रहेको सञ्चारमाध्यमले जनाएका छन् । सबै यात्रु सुरक्षित रहेको फ्लाईदुबाईले जनाएको छ ।
आक्रमणमा गम्भीर घाइते भएका भारतीय पाइलट स्मित मच्छरको हाल उत्तरपश्चिमी साउदी अरबको ताबुकस्थित अस्पतालमा उपचार भइरहेको छ। साउदीस्थित भारतीय दूतावासका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ। दूतावासले सामाजिक सञ्जालमार्फत पाइलट स्मितको स्वास्थ्य स्थितिको निरन्तर अनुगमन गरिरहेको र उनको परिवारसँग नजिकको सम्पर्कमा रहेर साउदी अधिकारीहरूसँग आवश्यक समन्वय तथा पूर्ण सहयोग जुटाइरहेको जानकारी दिएको छ।
उक्त घटनाको ठोस कारण र आक्रमणकारी पाइलटको उद्देश्य के थियो भन्ने विषयमा भने आधिकारिक निकायहरूले अहिलेसम्म कुनै स्पष्ट खुलासा गरेका छैनन्। यसैबीच, हवाई उडानमा आईपरेको यस्तो गम्भीर खतरा र विषम परिस्थितिमा पनि संयम अपनाउँदै ठूलो दुर्घटना हुनबाट जोगिएका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय पाइलट स्मित मच्छरको खुला प्रशंसा गर्दै उनलाई ‘हिरो’ को संज्ञा दिएका छन्।
प्रधानमन्त्री नेतान्याहुले सह–पाइलटले विमान दुर्घटनामा पारेर सबै यात्रुलाई मार्ने प्रयास गरेको बताउनुभयो । उहाँले यात्रुहरूले ठुलो विपत्ति रोक्न सहयोग गरेको भन्दै प्रशंसा गर्नुभयो । साथै, घाइते भारतीय पाइलट स्मित मच्छरले असाधारण बहादुरी देखाउँदै प्रतिकार गरेर विमानमा ठुलो दुर्घटना हुन नदिएको बताउनुभयो ।
इजरायलको विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध बिगार्ने उद्देश्यले गरिएको ‘आतङ्कवादी आक्रमणको प्रयास’ भनेको छ । रक्षामन्त्री इजरायल काट्जले यसलाई ‘जिहादी आतङ्कवादी आक्रमणको प्रयास’ भन्नुभएको छ । विदेशमन्त्री गिडियोन सारले संयुक्त अरब इमिरेट्सका शीर्ष कूटनीतिज्ञ अब्दुल्लाह बिन जायद अल नाह्यानसँग कुराकानी गर्दै चरमपन्थी तत्वविरुद्ध सहकार्य गर्न सहमति भएको बताउनुभएको छ ।















Discussion about this post