असोज १४, २०८३ बुधबार
काठमाडौँ । देशको पुँजी बजारलाई थप मर्यादित, पारदर्शी र व्यवस्थित बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक तथा दोस्रो दुवै बजार समेट्ने गरी तीन चरणको रणनीतिक सुधार योजना सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले प्रतिनिधिसभाअन्तर्गतको संसदीय समितिको बैठकमा प्रस्तुत हुँदै नीतिगत अस्पष्टता हटाउने, प्रविधि र पूर्वाधारको स्तरोन्नति गर्ने तथा संस्थागत क्षमता बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
धितोपत्र बोर्डले सुधारका प्रयासहरूलाई केवल कागजी दायरामा सीमित नराखी सरोकारवालाहरूको प्रत्यक्ष सहभागितामा अघि बढाउने रणनीति लिएको छ। यसका लागि नेप्से, सीडीएस एन्ड क्लियरिङ, उद्योग वाणिज्य महासंघ तथा मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधिहरू सम्मिलित विशेष सुधार समितिहरू गठन गरिएका छन्। योजनाअनुसार बोर्डले पहिले अवधारणा पत्र प्रस्तुत गर्ने, त्यसपछि समितिहरूमार्फत व्यापक सार्वजनिक परामर्श गरी प्राप्त सुझावका आधारमा अन्तिम नीति निर्माण तथा कार्यान्वयन गर्नेछ।
रणनीतिअन्तर्गत प्राथमिक बजारतर्फ सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रिया, वस्तुनिष्ठ मूल्य निर्धारण (प्राइस डिस्कभरी), योग्य संस्थागत लगानीकर्ताको भूमिका र सेयर बाँडफाँट प्रणालीलाई पारदर्शी बनाउन आवश्यक नियमावली तयार भइसकेको बताइएको छ। उता दोस्रो बजारतर्फ वर्षौंदेखि पारिवारिक व्यवसायका रूपमा सञ्चालित सेयर ब्रोकर कम्पनीहरूलाई फराकिलो ‘इन्डस्ट्रियल’ मोडलमा लैजान चार फरक श्रेणीमा वर्गीकरण गरी स्टक डिलरसिपसहितको दायरा विस्तार गरिने भएको छ।
यसैगरी बजारको मुख्य सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्राविधिक पूर्वाधार, अर्डर म्यानेजमेन्ट र साइबर सुरक्षामा देखिएका प्राविधिक त्रुटिहरू समाधान गर्न बोर्ड कडा रूपमा प्रस्तुत हुने भएको छ। अध्यक्ष भट्टका अनुसार सरकारी निकायहरूबीचको समन्वयहीनता र क्षेत्राधिकारको उल्झन चिर्दै नेप्सेको कार्यशैली सुधार्न ३१ देखि ३२ वटा नयाँ नियामकीय निर्देशनहरू अन्तिम चरणमा पुर्याइएको छ, जुन छिट्टै लागू गरिनेछ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) र सरकारले सेयर बजारको दीर्घकालीन सुधारका लागि विभिन्न नीतिगत, प्राविधिक र संरचनात्मक कदमहरू चालिसकेका छन्। प्राथमिक र दोस्रो बजारलाई पारदर्शी र प्रविधिमैत्री बनाउन नयाँ नियमावली, ब्रोकर वर्गीकरण तथा नेप्सेको सुदृढीकरण जस्ता ठूला निर्णयहरू अघि सारिएका छन्। तर, सरकार र नियामक निकायका यी निरन्तर प्रयासका बाबजुद पनि पुँजी बजारमा त्यसको सकारात्मक प्रभाव देखिन सकेको छैन। लगानीकर्ताको खस्कँदो आत्मविश्वास, तरलताको चाप र समग्र आर्थिक सुस्तताका कारण सुधारका कदमहरू सार्वजनिक हुँदासमेत सेयर बजारले अपेक्षित गति लिन सकेको छैन।














Discussion about this post