असोज १३, २०८३ मंगलबार
काठमाडौं : एशियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा भारी वर्षा बाधक बनेपछि नेपालको सुखद यात्रा दुर्भाग्यपूर्ण रूपमा अन्त्य भएको छ। जापानमा जारी २०औँ एशियन गेम्सको तेस्रो क्वार्टरफाइनलमा श्रीलङ्काविरुद्ध मैदान उत्रिन तयार भएको नेपालले वर्षाका कारण टस समेत गर्न पाएन।
अविरल वर्षाका कारण खेल रद्द भएपछि उच्च वरीयताको आधारमा श्रीलङ्का सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिन पुगेको छ। मैदानमा ब्याट र बलको प्रतिस्पर्धाबिना नै केवल वरीयताका आधारमा नतिजा तय हुँदा नेपाली टोली र क्रिकेट समर्थकहरूमाझ निराशा छाएको छ। कुनै पनि खेल नकआउट चरणमा रद्द हुँदा आईसीसी/एसियाली खेलकुदको नियमअनुसार अन्तर्राष्ट्रिय वरीयता (Ranking) मा माथि रहेको टोली अघिल्लो चरणमा पुग्छ। त्यसैले उच्च वरीयता भएको श्रीलङ्का सेमिफाइनल प्रवेश गर्यो र नेपाल प्रतियोगिताबाट बाहिरियो।
नेपालले समूह चरणमा अफगानिस्तानलाई हराउँदै समूह विजेता बनेर क्वाटरफाइनलमा स्थान बनाएको थियो। श्रीलंकाविरुद्धको खेल उसका लागि अर्को ठूलो परीक्षा बन्ने थियो। तर, त्यो परीक्षा नै भएन। अफगानिस्तानले पनि भारतसँग खेल्न पाएन। तर, अफगानिस्तान पूर्ण सदस्य राष्ट्र भएकाले नियमितरूपमा उच्चस्तरीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ। उसले अवसर पाइरहन्छ। नेपाल, हङकङ र मलेसियाका लागि भने भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशजस्ता टोलीसँग खेल्ने अवसर तुलनात्मक रूपमा कम हुन्छ। त्यसैले एउटा क्वाटरफाइनल गुम्नुको असर पनि फरक हुन्छ। ठूलो टोलीसँग खेल्ने एउटा अवसर गुमाउनु भनेको केवल एउटा खेल गुमाउनु होइन, एउटा सम्भावित सिकाइ गुमाउनु पनि हो।
मैदानमा आफ्नो क्षमता प्रदर्शन गरेर नतिजा हात पार्ने नेपालको अवसरलाई वर्षाले खोसे पनि टोलीले एशियन गेम्सको मञ्चसम्म पुगेर देखाएको उच्च मनोबल र प्रदर्शन भने सराहनीय रह्यो।















Discussion about this post