नेपाली कांग्रेसका सांसद पुष्पा भुसाल प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन् । उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् ।
प्रतिनिधिसभाको शुक्रबार बसेको दोस्रो बैठकमा भएको मतदानमा १४८ मत प्राप्त गरी उनी प्रतिनिधिसभाको उपसभामुख पदमा निर्वाचित भएकी हुन्।
प्रतिनिधिसभामा तत्काल कायम रहेका २४२ सदस्य संख्या मध्ये १४८ मत भुसालको पक्षमा र ९३ मत मात्रै अर्का प्रतिस्पर्धी विद्या भट्टराईले प्राप्त गरेकी थिइन्।
तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयकै कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि राजीनामा दिए ।
उनको राजीनामापछि पनि सभामुख पद तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नै राख्न चाह्यो । सभामुख र उपसभामुख फरक दलको र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले नेकपाले सभामुख लिन उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गर्न लगायो ।
यही कारण तत्कालीन उपसभामुख तुम्बाहाम्फेले १२ माघ २०७६ माघमा राजीनामा दिएपछि रिक्त भएको उपसभामुख पदका लागि शुक्रबार निर्वाचन भएको हो । यसपटक भुसालल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका तर्फबाट निर्वाचित सांसदको समेत मत पाएर उपसभामुखमा निर्वाचित भएकी हुन् ।
Discussion about this post