चर्चको राहत पाउन क्रिश्चियन नै बन्नुपर्छ भन्ने होइन रहेछ
असार ३१, काठमाडौं, इभान्जेलिकल आशिष चर्च सामाखुसी काठमाडौंका डीकन हाल क्यालिफोर्निया, अमेरिका निवासी शंकर बानिंयाको विशेष पहलमा आज काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा बसोबास गर्ने १०५ विपन्न परिवारलाई अत्यावश्यक खाद्यान्न सहायता वितरण भएको छ । अत्यन्तै नाजुक आर्थिक अवस्थामा जीवनयापन गरिरहेका मानिसहरूलाई चर्चमा पालोपालो बोलाएर खाद्यान्न सहायता वितरण गरिएको थियो ।
इभान्जेलिकल आशिष चर्च, सामाखुसीका बरिष्ठ पास्टर डाक्टर सुन्दर थापाको उपस्थिति तथा चर्चकै पास्टर साकेत कार्कीको संयोजनमा सम्पन्न गरिएको राहत वितरण कार्यक्रममा कुनै पनि भाषा, धर्म, जातजाति वा सम्प्रदायलाई हेरेर भेदभाव गरिएको थिएन । चर्चमा वितरण गरिएको सहायता प्राप्त गर्नेमा क्रिश्चियन र गैह्र–क्रिश्चियनको संख्या प्राय: बराबर थियो । वरिष्ठ पास्टर सुन्दर थापाले सहायता वितरण कार्यका निम्ति पहल गर्नुहुने डीकन शंकर बानियाँ तथा सहायता गर्ने मण्डलीलाई धन्यवाद दिनुभयो । उहाँले यो वा ऊ नभनी गरिएको यो वितरण साँच्चिकै ख्रीष्टको मनले अभिप्रेरित भएको बताउनुभयो ।
सहायता प्राप्त गर्नेमा धेरैजसो एकल महिलाहरू, दृष्टिविहीनहरू तथा दैनिक ज्यालामा काम गर्ने मजदुरहरू थिए । खाद्यान्न सहायता पाएपछि वर्ष ४० का दृष्टिविहीन भिम ठटालले भावुक हुँदै भने, “आज यति खाद्यान्न नपाएको भए मेरो परिवार अब भोकै हुने थियो ।” दैनिक सडकछेउमा बसेर आफूजस्तै दृष्टिविहीन श्रीमतीको साथमा गीत गाउँदै उठाएको पैसाले जीविकोपार्जन गर्ने गरेका उनले लकडाउनपछि कुनै पनि कमाइ नहुँदा आफूसहित श्रीमती र दुई नाबालक छोराहरू भोकै बस्नुपर्ने अवस्थामा पुगेको बताए । उनले थपे, “मानिसहरू अहिले अरूलाई छुन त परै जाओस्, नजिक पर्न समेत डराउँछन्, तर चर्चमा यसरी माया गरेर, सत्कार गरेर राहत दिएकोमा मलाई धेरै खुसी लागेको छ ।
खाद्यान्न सहायता प्राप्त गर्ने सबैले एकदमै ठूलो खुसी व्यक्त गरे । चामलको बोरा काँधमा हाल्दै चर्चको ढोकाबाहिर निस्कने बेलामा एक महिलाले भनिन्, “चर्चको राहत पाउन क्रिश्चियन नै बन्नुपर्छ भन्ने होइन रहेछ ।” इभान्जेलिकल आशिष चर्चका डीकन शंकर बानियाँले अमेरिकामा आफू सहभागी हुने गरेको चर्च कलभरी चापेल द रक, क्यालिफोर्निया (Calvary Chapel the Rock, Santa Rosa, California) ले यस राहत वितरणका लागि सहायता गरेको र सहायता गर्ने मण्डलीप्रति आफू धन्यवादी भएको बताए । साथै आफ्नो कमजोर स्वास्थ्य अवस्थाको बावजुद यस सहायता वितरण कार्यमा खटेर लाग्नु हुने पास्टर साकेत कार्कीप्रति पनि आफू धेरै धन्यवादी रहेको उनले बताए ।
Category: News & Events