नवलपरासी, बैशाख ३०, अभिषेक चर्च रजहर नवलपुरको आयोजना गरेको ईष्टर कप स्कूल प्रतियोगिता सम्पन्न भएको छ। इन्टर स्कूल प्रतियोगिताको उपाधि कुलेनी स्पोर्टस एकेडेमी देवचुली-१७ नवनलपुरले जितेको छ। प्रतियोगितामा १२ वटा टीम सहभागि भएका थिए । रजहरमा शनिबारका दिन भएको फाइनल प्रतिस्पर्धामा जगतपुर चितवनको होप एकेडेमीलाई १-० गोलको अन्तरले पराजित गर्दै कुलेनीले जित गर्न सफल भएको हो। कुलेनीका लागि एकमात्र गोल खेलको ११ औं मिनेटमा रोशन क्षेत्रीले पेनाल्टीमार्फत गरेका थिए ।
विजयी हुन सफल कुलेनीले नगद ५० हजार पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र पायो भने दोस्रो हुनेले २५ हजार नगद, शिल्ड र प्रमाणपत्र पाएको प्रतियोगिता संयोजक तथा रजहर चर्चका पास्टर सुकलाल तामाङले जानकारी गराउनुभएको छ।
प्रतियोगितामा नवलपुर, चितवन र काठमाडौंका १२ टिम सहभागी थिए । बैशाख १८ देखि सुरू भएको खेल १२ दिनसम्म चलेको थियो। समापन समारोहमा व्यवसायी सन्तोष थापाको प्रमुख अतिथ्यमा तथा अभिषेक चर्चका पास्टर लोक बहादुर तामाङको अध्यक्षतामा भएको थियो।
कार्यक्रम संयोजक पास्टर सुकलालग तामाङले नयाँ प्रतिभालाई उत्साह दिन र बलियो बनाउनको लागि फुटबल प्रतियोगिताको आयोजना गरिएको कुरा बताउनुभएको थियो।
कार्यक्रमका अतिथि चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले पनि बोल्ने क्रममा नेपाली फुटबलमा नयाँ नेतृत्व आएकोले देशव्यापीरूपमा फुटबल विकासका लागि सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभएको थियो। अभिषेक चर्चको आयोजनामा भएको प्रतियोगिता र कार्यक्रमले चितवनमा पनि नयाँ प्रतिभा प्रस्फुटन गर्न लाग्ने कुरा संघका अध्यक्षले बताउनुभएको थियो।
रजहर अभिषेक चर्चले आयोजना गरेको प्रतियोगतिमा चर्चका भाइबहिनीहरूले इच्छुकहरूलाई सुसमाचारको सन्देशका विभिन्न पर्चा पनि वितरण गर्नुभएको थियो। अभिषेक चर्च सुसमाचार प्रचारमा खेलद्वारा,सडक नाटक, साँस्कृतिक कार्यक्रम गर्दै ख्रीष्टको सन्देश प्रचार गर्दै आएको छ। हरेक ठाउँमा हुने खेलमा सुसमाचार प्रचार गर्ने गरेको छ।
Discussion about this post