शनिवार, मे २८, जेठ १५
‘हाम्रा विरोधीहरूले भने, “…हामी तिनीहरूमाथि जाइलागेर तिनीहरूलाई मारिदिनेछौ र यस कामलाई खत्तम पारिदिनेछौँ ।”’ —नहेम्याह ४:११
कुन कुराले निराशा ल्याउँछ ? (४)
चौथो कारणः डर । ‘हाम्रा विरोधीहरूले भने, “तिनीहरूले चाल पाउन वा देख्न अघि नै हामी तिनीहरूमाथि जाइलागेर तिनीहरूलाई मारिदिनेछाँै र यस कामलाई खत्तम पारिदिनेछौँ ।”’ इस्राएलका शत्रुहरूले यरूशलेमका पर्खालहरू पुनर्निर्माण गरिएको चाहँदैनथे, किन ? घृणाको कारण ! कुनै शहरको वरिपरि पर्खाल भएमा त्यो शहरको सुरक्षा र सम्वृद्धि पक्का हुन्थ्यो । यसकारण तिनीहरूले पहिले त यहूदीहरूको आलोचना गरे; त्यसपछि उनीहरूलाई धम्क्याए । तर त्यहाँ पहिले को निराश भयो ध्यान दिनुहोस्ः ‘तब उनीहरूका बिचमा बस्ने यहूदीहरू आए र तिनीहरूले हामीलाई दशौँ पल्ट यसो भन्ेर चेताउनी दिए “तपाईंहरू जता फर्कनुभए पनि हरेक ठाउँबाट उनीहरूले हामीलाई आक्रमण गर्नेछन्”’ (पद १२) । जब तपाईं लामो समयसम्म नकारात्मक मानिसहरूको सङ्गतमा रहनुहुन्छ, तब तपाईंले पनि तिनीहरूका नकारात्मक कुराहरू टिप्नुहुन्छ । यदि कसैले बारम्बार ‘यो काम गर्न सकिँदैन’ भनेको सुन्नुहुन्छ भने, अन्त्यमा तपाईंले तिनीहरूको कुरा पत्याउन सुरु गर्नुहुनेछ । यसकारण सही मित्रहरू चुन्नुहोस् ! तपाईंको डरलाई बढाउने मानिसहरूदेखि टाढा रहनुहोस् अनि तपाईंको विश्वास निर्माण गर्ने मानिसहरूको सङ्गत गर्नुहोस् । के अहिले तपाईंलाई निराश गराउने, विकास र वृद्धि हुनबाट तपाईंलाई रोक्ने डरहरू तपाईंसँग छन् ? के तपाईंलाई आलोचना वा असहजताको डर लाग्छ ? के तपाईं ठूलो कदम उठाउन र नयाँ जागिर खोज्न डराउनुहुन्छ ? सायद तपाईंले आफैँलाई त्यो कामको निम्ति असक्षम पो ठान्नुभएको छ कि ? सायद तपाईं दबावको सामना गरेर टिक्न सक्दिनँ भनी चिन्तित हुनुहुन्छ कि ? अथवा तपाईं सिद्ध बन्नै पर्छ भनेर डराउनु भएकोे छ कि ? यो कुरा पक्का गरी बुझ्नुहोस्— डरले तपाईंलाई जहिल्यै पनि निराश गराउँछ ! तपाईंले कसमा भरोसा राख्नुभएको छ ? यदि तपाईंले आफैँमा वा अरू मानिसहरूमा भरोसा राख्नुभएको छ भने, यो प्रतिज्ञा पढ्नुहोस्ः ‘परमप्रभु आफैँ तिम्रो अघि जानुहुन्छ र तिमीसँग हुनुहुनेछ । उहाँले तिमीलाई कहिल्यै छोड्नुहुनेछैन नता त्याग्नुहुनेछ । नडराऊ, निरुत्साह नहोऊ’ (व्यवस्था ३१:८)
आत्मिक भोजनः विलाप १: १–३:३९, मत्ती १३: ४७–५८, भजन ११३, हितोपदेश १४: १–४
Discussion about this post