काठमाडौं- बैशाख १५, भिजन अफ शालभेसन चर्च, सितापाइलाका पास्टर एलिया घले, छोरा राज घले सहित लगभग १५ जनाको पुरिएर मृत्यू भएको कुरा जानकारीमा आएको छ। शनिबारदेखि आइरहेको भुकम्पमा परी नेपालमा ज्यान गुमाउने संख्या ५१०० पुगेको गृहमन्त्रालयले जनाएको छ। यो संख्या अहिले ११ बजेसम्मको हो। राजधानी काठमाडौं सहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा मर्नेको संख्या अझै बढ्ने कुरा मन्त्रालयले जनाएको छ। घाइतेहरूको संख्या भने ८१५४ छ। उद्धार कार्य निरन्तर भइ नै रहेकाे छ। विभिन्न देशबाट आएका उद्धार र राहत टोलीहरूले निरन्तर काम गरिरहेका छन्।
काठमाडौं उपत्यकामा भएका पुराना एतिहासिक भौतिक संरचना ध्वस्त भएका छन्। पुराना घरहरू थुप्रै भत्किएका छन्। उपत्यकाका केही चर्चहरूमा शनिवारको संगति गर्दैगर्दा विभिन्न चर्चहरूमा केही व्यक्तिहरूको मृत्यु भएको छ।
कनान चर्च सुकेधारा काठमाडौंमा एकै परिवारका ५ जनाको ज्यान गएको छ । केही व्यक्तिहरू घाइते हुनुभएको छ। अझै पनि उद्दार, उपचार र भत्किएका घरहरूबाट मृतकहरू निकाल्ने काम निरन्तर भैरहेकोले मृतकको संख्या कति हुन्छ भन्न सकिदैन। उपत्यका भन्दा बाहिर सिन्धुपाल्चोक, गोरखा र धादिङमा मानविय क्षति धेरै भएको छ।
अहिलेसम्म ९७ वटा भुकम्पका झड्का गएका छन्। अहिले भुकम्प गएको ७२ घण्टा भएको छ। सोमबार बाट भुकम्पको गति घट्दै गएको छ र भुगर्भविदका अनुसार भुकम्प आउने खतरा कम भएको अनुमान गरेको छ।
अब राहत वितरण र संकलन गर्नेहरूको खाँचो भएको छ। चर्चहरूमा भएको मानविय क्षति र राहतको खाँचो भएमा जानकारी गराउनुहोला हामी सक्दो सहयोग गर्नेछौं।
Discussion about this post