१० मंसिर २०८३, बिहीबार
काठमाडौं । युरोपेली तथा नेपाली चलचित्रमार्फत सेन्सरसिप, सामाजिक धारणा, लैङ्गिक प्रतिनिधित्व र नेपाली सिनेमाको व्यावसायिक दबाबबारे बहस गर्दै १५औँ युरोपेली संघ (ईयू) फिल्म महोत्सव नेपाल काठमाडौंमा सम्पन्न भएको छ।
युरोपेली संघको नेपालस्थित प्रतिनिधिमण्डलले आयोजना गरेको महोत्सव नोभेम्बर २१ र २२ मा काठमाडौंको ठमेलस्थित क्यूएफएक्स छायाँ सेन्टरमा सञ्चालन भएको थियो। महोत्सवमा ११ देशका २९ फिल्म प्रदर्शन गरिएका थिए। यसमा १२ युरोपेली फिचर फिल्म, ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स (बाफ्टा) छनोटका छ छोटा फिल्म, नौ नेपाली विद्यार्थी फिल्म, एउटा एनिमेटेड छोटो फिल्म र नेपाली फिचर फिल्म ‘एलिफेन्ट्स इन द फग’ समावेश थिए।
प्रतिबन्धित फिल्म र बदलिँदो सामाजिक धारणाबारे बहस
महोत्सवको विशेष आकर्षण ‘द फिल्म्स वी वर नट सपोज्ड टु वाच’ शीर्षकको प्यानल छलफल थियो। फिल्म निर्देशक शशांक श्रेष्ठको सहजीकरणमा भएको छलफलमा पटकथाकार विश्वास तिम्सिना (बीटी कान्छा), फिल्म निर्देशक आस्था श्रेष्ठ र कन्टेन्ट क्रिएटर एलेना गुरुङ सहभागी थिए। छलफलमा प्रतिबन्धित फिल्म, सेन्सरसिप तथा गोप्य रूपमा हेरिने चलचित्रले प्रेम, सम्बन्ध र समाजप्रतिको मानिसको धारणा कसरी निर्माण गर्छन् भन्ने विषय उठाइएको थियो। निर्देशक आस्था श्रेष्ठले नेपाली चलचित्रमा महिला पात्रलाई स्वतन्त्र चरित्रका रूपमा प्रस्तुत गर्नुभन्दा पुरुष मुख्य पात्रको कथा अघि बढाउने माध्यमका रूपमा प्रयोग गर्ने प्रवृत्तिमाथि प्रश्न उठाइन्। उनले कलाकारको सहजता र सहमतिलाई सम्मान गर्दै दृश्य छायांकन गर्नुपर्नेमा पनि जोड दिइन्।
पटकथाकार तिम्सिनाले नेपाली चलचित्रमा पुरुष नायकले महिलालाई उद्धार गर्ने परम्परागत कथ्यबाट बाहिर निस्कनुपर्ने धारणा राखे। व्यावसायिक सफलताका लागि पटकथामा प्रेमकथा र प्रेम त्रिकोणजस्ता पक्ष थप्नुपर्ने दबाब रहने अनुभव पनि उनले सुनाए।
नेपाली फिल्ममा महिला र अपांगता भएका व्यक्तिको चित्रणमाथि प्रश्न
कन्टेन्ट क्रिएटर तथा मानसिक स्वास्थ्य अभ्यासकर्ता एलेना गुरुङले नेपाली चलचित्रमा महिला र अपांगता भएका व्यक्तिको चित्रणमाथि आलोचनात्मक टिप्पणी गरिन्। अटिजम भएका बालबालिकासँग काम गरेको आफ्नो अनुभव उल्लेख गर्दै उनले ‘गौँथली’ चलचित्रमा अटिजमको चित्रणप्रति प्रश्न उठाइन्। विवाहपछि महिलाले आफ्ना आकांक्षा त्यागेर परिवारका लागि मात्रै समर्पित हुनुपर्ने कथ्य पनि उनले चुनौती दिइन्।
नेपाली चलचित्रमा गरिबी र दुःखलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने प्रवृत्तिबारे पनि छलफल भएको थियो। ‘गौँथली’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता चलचित्रको उदाहरण दिँदै गुरुङले दर्शकलाई भावुक बनाउने कथामा बढी निर्भर हुने प्रवृत्तिमाथि टिप्पणी गरिन्।
इन्टरनेटको युगमा सेन्सरसिप कति सम्भव ?
छलफलमा इन्टरनेट र सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता तथा सेन्सरसिपमा पारेको प्रभाव पनि उठाइएको थियो। गुरुङले प्रतिबन्ध लगाउँदैमा मानिसले सामग्री हेर्न नछाड्ने भन्दै सम्भावित हानिकारक सामग्रीबारे दर्शकलाई शिक्षित बनाउनु बढी प्रभावकारी हुने धारणा राखिन्।तिम्सिनाले इन्टरनेटको युगमा सेन्सरसिप कठिन हुँदै गएको बताए। निर्देशक श्रेष्ठले भने वयस्क दर्शकलाई सामग्री हेर्ने स्वतन्त्रता दिनुपर्ने र आवश्यक परे उमेरअनुसारको वर्गीकरण अपनाउन सकिने धारणा राखिन्।
सामाजिक सञ्जालका प्रतिक्रिया र एल्गोरिदमले सिर्जनाकर्मीलाई विवादित विषय उठाउन हिचकिचाउने बनाएको विषय पनि छलफलमा समेटिएको थियो।
नोभेम्बर २८ देखि जनकपुरमा महोत्सव
काठमाडौंमा सम्पन्न प्रदर्शनपछि महोत्सव नोभेम्बर २८ र २९ मा जनकपुरमा आयोजना हुँदैछ। गिरिजा चलचित्र मन्दिर, कदमचोकमा १७ वटा फिल्म प्रदर्शन गर्ने कार्यक्रम छ। जनकपुरमा ‘इमर्जिङ भोइसेस इन नेपाली सिनेमा’ शीर्षकको प्यानल छलफलसमेत हुनेछ। यसमा नेपाली विद्यार्थी फिल्म प्रदर्शनबाट छनोट भएका तीन फिल्मका निर्माताले आफ्नो सिर्जनात्मक यात्रा, फिल्म निर्माण प्रक्रिया र नेपाली चलचित्र उद्योगका अनुभवबारे छलफल गर्नेछन्।
आयोजकका अनुसार महोत्सवका प्रदर्शन निःशुल्क छन्। दर्शकले टिकटबिना नै फिल्म हेर्न सक्नेछन्। सबै फिल्म अंग्रेजी सबटाइटलसहित प्रदर्शन गरिनेछन्।















Discussion about this post