धनगढी । सुदूरपश्चिम प्रदेशको बहुप्रतीक्षित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। सरकारले रंगशालाको प्रारम्भिक पूर्वाधार निर्माणका लागि बोलपत्र आह्वान गरेसँगै लामो समयदेखि चर्चामा रहेको आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो।
ड्रिम फाप्ला अभियान सुरु भएको करिब एक दशकपछि सरकारले निर्माण प्रक्रिया अगाडि बढाएको हो। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाअन्तर्गत मंसिर ४ गते ४५ लाख रुपैयाँको बोलपत्र आह्वान गरिएको छ। रंगशाला निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीले विद्युतीय माध्यमबाट बोलपत्र माग गरेको हो। बोलपत्रमा सहभागी हुने निर्माण कम्पनीका लागि ५४ लाख रुपैयाँ धरौटी रकम तोकिएको छ। ठेक्का छनोटका लागि सिंगल स्टेज टु इन्भेलप विधि अपनाइने जनाइएको छ।
पहिलो चरणमा मैदान सम्याउने र माटो भर्ने काम
प्रारम्भिक चरणमा क्रिकेट मैदानको हालको जमिनको सतहमा माटो भर्ने, जमिन सम्याउने तथा प्यारापिटको अगाडिको भागमा ब्लक निर्माणलगायतका काम गरिनेछ। यससँगै रंगशालाको आधारभूत पूर्वाधार विकासलाई अघि बढाउने योजना छ।
धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित करिब साढे ३८ बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण गर्ने सरकारको योजना छ। परियोजना सम्पन्न भएपछि यस क्षेत्रमा क्रिकेट मैदानसँगै विभिन्न खेलकुद गतिविधिका लागि आवश्यक पूर्वाधार विकास गर्ने लक्ष्य राखिएको छ।
एक दशकदेखिको सपना कार्यान्वयनतर्फ
फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको मागसहित सुरु भएको ‘ड्रिम फाप्ला’ अभियानले लामो समयदेखि यस आयोजनालाई अघि बढाउन पहल गर्दै आएको थियो। अभियानका अभियन्ता सुवास शाहीले बोलपत्र आह्वान हुनुलाई वर्षौँदेखिको सपना, संघर्ष र धैर्यताको उपलब्धिका रूपमा लिएका छन्।
जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) लगायतका प्रक्रिया पूरा भएपछि आयोजना निर्माणको चरणमा पुगेको हो। रंगशाला निर्माणले धनगढीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका घरेलु खेल धनगढीमै आयोजना गर्ने सम्भावनासमेत यस आयोजनासँग जोडिएको छ।
फाप्ला रंगशालाको निर्माण प्रक्रिया अघि बढ्नु सुदूरपश्चिमको खेलकुद पूर्वाधार विकासका लागि महत्वपूर्ण कदम भए पनि आयोजना निर्धारित समय र बजेटमा सम्पन्न हुन्छ कि हुँदैन भन्ने विषय आगामी कार्यान्वयनले निर्धारण गर्नेछ।
















Discussion about this post