काठमाडौं । गृहमन्त्री सुदन गुरुङले राजनीतिक दलको पक्षमा लाग्ने र नेताको चाकडीलाई प्राथमिकता दिने सरकारी कर्मचारीमाथि कानुनअनुसार कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राष्ट्रसेवक कर्मचारीको जिम्मेवारी कुनै राजनीतिक दलको झोला बोक्ने वा नेताको चाकडी गर्ने नभई देश र जनताको सेवा गर्नु रहेको बताएका हुन्।
उनले सरकारमा आएदेखि नै कर्मचारीको भूमिका र जिम्मेवारीबारे स्पष्ट पार्दै आएको उल्लेख गर्दै अझै पनि राजनीतिक दलको पक्षमा लागेर राजनीति गर्न पाइन्छ भन्ने सोच कसैले राखेको भए त्यस्तो भ्रम त्याग्न चेतावनी दिएका छन्।
‘यति कुरा पटकपटक स्पष्ट पारिसक्दा पनि कसैले अझै दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको छ भने त्यो भ्रम आजै त्यागे हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही हुने उनको भनाइ छ। यस विषयमा कुनै सम्झौता नहुनेसमेत उनले स्पष्ट पारेका छन्।
गुरुङले नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने बताएका छन्। सरकारलाई कसैको चाकडी गर्ने कर्मचारी नभई जनताको दुःख र समस्या बुझ्ने, आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने तथा देशप्रति जिम्मेवार राष्ट्रसेवक आवश्यक रहेको उनको भनाइ छ।
गृहमन्त्रीको उक्त अभिव्यक्तिले सरकारी कर्मचारीको राजनीतिक संलग्नता, प्रशासनिक निष्पक्षता र सार्वजनिक सेवा प्रवाहको विषयलाई पुनः चर्चामा ल्याएको छ। निजामती कर्मचारीले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दा राजनीतिक प्रभावभन्दा कानुन र सेवाग्राहीको हितलाई प्राथमिकता दिनुपर्ने उनको सन्देश छ।
















Discussion about this post