कात्तिक १४, २०८३ शनिबार
काठमाडौं । नेपाली साहित्य तथा सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौँमा ‘ग्लोबल अथर अवार्ड २०२६’ आयोजना हुने भएको छ। आगामी नोभेम्बर १ (आइतबार) काठमाडौँ स्थित दुसित प्रिन्सेस होटलमा आयोजना हुने कार्यक्रममा आठ देशका ४५ जना लेखक तथा साहित्यिक व्यक्तित्व सहभागी हुने आयोजकले जनाएको छ।
‘सीमापार साहित्यको उत्सव’ भन्ने नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रमलाई साहित्यिक सम्मानसँगै अन्तर्राष्ट्रिय सांस्कृतिक संवाद र सिर्जनात्मक सहकार्यको अवसरका रूपमा प्रस्तुत गरिएको छ। नेपालसहित भारत, अमेरिका, सिंगापुर, फिजी, क्यानडा, बंगलादेश र संयुक्त अरब इमिरेट्सका लेखक तथा साहित्यिक व्यक्तित्वहरूको सहभागिता रहनेछ। इन्फिनिटी सर्भिसेज प्रालिको आयोजनामा हुन लागेको कार्यक्रम संस्थाकी संस्थापक शीतल खड्काको नेतृत्वमा सञ्चालन हुनेछ। आयोजकका अनुसार कार्यक्रममा विभिन्न देशका लेखकहरूको सिर्जनात्मक योगदानको कदर गर्दै सम्मान प्रदान गरिनेछ। यसले नेपाली लेखक तथा साहित्यिक क्षेत्रका व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रा. डा. चन्दा कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने जनाइएको छ। त्यसैगरी प्रा. डा. सुरेन्द्र केसी, भुवनहरि सिग्देल, एचआरएच राजकुमारी मुफिदा राय्या मुबारोक, एनआरएनएका संस्थापक भीम उदास, प्राध्यापक श्रीधर खत्री, डा. रोहित गुप्ता, उषा शेरचन, प्रा. डा. सनतकुमार वस्ती, कर्ण शाक्य, प्रकाश सायमी र तारा बराललगायतका व्यक्तित्वहरूलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजकले जनाएको छ। यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष नेपाली मौलिक संस्कृति, परम्परागत सीप, हस्तकला तथा स्थानीय उत्पादनको अन्तर्राष्ट्रिय प्रवर्द्धन पनि हो। आयोजकले स्थानीय कालिगढ, उद्यमी तथा साना व्यवसायीलाई आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर उपलब्ध गराउने योजना बनाएको छ। यसबाट साहित्यिक कार्यक्रमलाई आर्थिक तथा सांस्कृतिक गतिविधिसँग जोड्ने प्रयास गरिएको देखिन्छ।
कार्यक्रमकी संस्थापक शीतल खड्काका अनुसार साहित्यले भौगोलिक सीमा र भाषिक भिन्नताभन्दा माथि उठेर मानिस तथा संस्कृतिबीच सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्छ। विभिन्न देशका लेखकलाई एउटै मञ्चमा ल्याएर अनुभव, विचार र सिर्जनात्मक अभ्यास आदानप्रदान गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको उनले बताएकी छन्। अन्तर्राष्ट्रिय लेखकहरूको सहभागितामा आयोजना हुन लागेको यस कार्यक्रमले नेपालको साहित्यिक पहिचानलाई विश्व समुदायमाझ पुर्याउनुका साथै नेपाली कला, संस्कृति र सिर्जनशील उद्यमको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। यद्यपि, कार्यक्रमको वास्तविक उपलब्धि सहभागी लेखकबीच हुने संवाद, स्थापित हुने साहित्यिक सम्बन्ध र त्यसबाट भविष्यमा विकसित हुने सहकार्यले निर्धारण गर्नेछ।
‘नेपाल अथर अवार्ड’का रूपमा सुरु भएको यो साहित्यिक पहल सन् २०२६ मा अन्तर्राष्ट्रिय स्वरूप दिँदै ‘ग्लोबल अथर अवार्ड’का रूपमा विभिन्न देशका लेखक, साहित्यकार तथा सिर्जनशील व्यक्तित्वहरूको साहित्यिक योगदानलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान र सम्मान प्रदान गर्ने उद्देश्यले अघि बढाइएको हो। यस अवार्डले साहित्यलाई केवल व्यक्तिगत सिर्जनाको माध्यमका रूपमा नभई समाज, संस्कृति र राष्ट्रहरूबीच संवाद तथा सम्बन्ध विस्तार गर्ने साझा सेतुका रूपमा स्थापित गर्न जोड दिन्छ। विभिन्न भाषा, भूगोल र सांस्कृतिक पृष्ठभूमिका लेखकलाई एउटै मञ्चमा जोड्दै उनीहरूको लेखन, विचार र सिर्जनात्मक योगदानको कदर गर्नु यसको मूल अवधारणा हो। साथै, नयाँ लेखकलाई प्रोत्साहन गर्ने, साहित्यिक सहकार्य विस्तार गर्ने र नेपाली साहित्य तथा संस्कृतिलाई विश्वमाझ चिनाउने लक्ष्यसमेत यस अवार्डले राखेको छ।














Discussion about this post