असोज २७, २०८३ मंगलबार
काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल) क्षेत्रका गृहमन्त्रीहरूको पहिलो बैठकले क्षेत्रीय सुरक्षा सहकार्यलाई थप संस्थागत र प्रभावकारी बनाउने प्रतिबद्धतासहित दिल्ली घोषणापत्र जारी गरेको छ। बैठकमा सहभागी नेपालका गृहमन्त्री सुधन गुरुङले आतंकवाद, लागूऔषध ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता प्रमुख चुनौतीहरूविरुद्ध सदस्य राष्ट्रहरूबीच प्रभावकारी सूचना आदानप्रदान र समन्वित प्रतिकार्यको आवश्यकता औंल्याएका छन्। बिमस्टेक स्थापना भएको २९ वर्षपछि पहिलोपटक आयोजित यस बैठकलाई क्षेत्रीय सुरक्षाको संस्थागत विकासमा महत्त्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ।
बैठकमा सुरक्षा सहकार्यका साथै जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई साझा चुनौतीका रूपमा प्रस्तुत गर्दै गृहमन्त्री गुरुङले नेपालले हालैका महिनाहरूमा भोगेका बाढी तथा विपद्का घटनाहरूबाट पाठ सिकेर साझा रणनीति बनाउनुपर्ने बताएका छन्। उनले विपद्को प्रभावकारी सामना गर्न ‘बिमस्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण गर्नुका साथै हिमालदेखि समुद्रसम्मका विविध भौगोलिक अवस्थाहरूमा परिचालन हुन सक्ने संयुक्त कार्यदल गठन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
त्यस अवसरमा भारतीय गृहमन्त्री अमित शाहसँग भएको द्विपक्षीय भेटवार्तामा दुई देशका साझा सुरक्षा चासोका विषयहरूमा छलफल हुनुका साथै नेपाली उद्योगी तथा व्यापारीहरूले भारतीय बजारमा पहुँचका क्रममा भोग्नुपरेका प्राविधिक समस्याहरू (विशेषगरी भारतीय मानक ब्युरो प्रमाणीकरणसम्बन्धी विषय) का बारेमा समेत भारतीय पक्षको ध्यानाकर्षण गराइएको थियो।















Discussion about this post