काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आधारभूत सेयरधनीको सेयर बिक्रीसम्बन्धी विवादित निर्देशनलाई परिमार्जन गर्दै नयाँ व्यवस्था सार्वजनिक गरेको छ। यसअघि कायम गरिएको व्यवस्थाप्रति लगानीकर्ता तथा सरोकारवालाहरूले असन्तुष्टि जनाएपछि बोर्ड आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको हो। नयाँ नियमअनुसार अब आधारभूत सेयरधनीले आफूले धारण गरेको कुल सेयरको १५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्नुपर्ने भएमा मात्र ५ कारोबार दिनअघि सम्बन्धित सूचीकृत कम्पनीलाई पूर्वजानकारी गराउनुपर्नेछ।
यसअघि भदौ ९ गते जारी गरिएको निर्देशनमा आधारभूत सेयरधनीले आफूसँग रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बेच्दा १५ दिनअघि नै कम्पनीलाई सूचित गर्नुपर्ने कडा प्रावधान राखिएको थियो। तर, उक्त व्यवस्थाले बजारमा अन्योल र निराशा छाएपछि बोर्डले असोज २३ गते सम्पूर्ण सूचीकृत कम्पनीहरूलाई पत्राचार गर्दै साविकको निर्देशन संशोधन भएको जानकारी दिएको हो। यससँगै पूर्वसूचना दिनुपर्ने बिक्रीको न्यूनतम सीमा ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ भने पूर्वसूचनाको समयावधि पनि १५ दिनबाट घटाएर ५ कारोबार दिनमा झारिएको छ।
संशोधित निर्देशनमा नयाँ नियम लागू हुने दायरालाई समेत थप स्पष्ट पारिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भई धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ बमोजिमको ‘लकइन’ अवधि समाप्त भएका कम्पनीका संस्थापक वा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) का बखत कायम रहेका आधारभूत सेयरधनीहरूमा मात्र यो नयाँ व्यवस्था लागू हुनेछ। सेबोनको यस कदमले सेयर बजारमा व्याप्त अन्योल हटाई लगानीकर्ताको मनोबल उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।














Discussion about this post