असोज १६, २०८३ शुक्रबार
काठमाडौं : अर्जेन्टिनी फुटबलका दिग्गज खेलाडी लियोनेल मेस्सीको राष्ट्रिय टोलीबाट बिदाइ खेल नेपालका फुटबल प्रशंसकहरूले कान्तिपुर म्याक्समार्फत प्रत्यक्ष हेर्न पाउने भएका छन्। कान्तिपुर म्याक्सले अक्टोबरमा हुने अर्जेन्टिनाका दुईवटा मैत्रीपूर्ण खेलको नेपालका लागि विशेष प्रसारण अधिकार प्राप्त गरेको छ। गत महिना अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका मेस्सीको बिदाइ खेलको रूपमा हेरिएको अर्जेन्टिना र बेनिनबीचको खेल आगामी बुधबार, अक्टोबर ७ तारिख नेपाली समय अनुसार बिहान ४:४५ बजे प्रत्यक्ष प्रसारण हुनेछ। ब्युनोस आयरेसस्थित ८५ हजार दर्शक क्षमताको रिभर प्लेटको एस्टाडियो मोनुमेन्टल रङ्गशालामा हुने उक्त खेलमा मेस्सीको सहभागिता निश्चित भइसकेको छ।
मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट खेल्ने यो २०८ औँ तथा अन्तिम खेल हुने अपेक्षा गरिएको छ। अर्जेन्टिनाका लागि सर्वाधिक १२५ गोल गरेका ३७ वर्षीय मेस्सीको नेतृत्वमा टोलीले सन् २०२२ को विश्वकपका साथै सन् २०२१ र २०२४ को कोपा अमेरिका उपाधि जितेको थियो। यस ऐतिहासिक क्षणलाई भव्य बनाउन अर्जेन्टिनी फुटबल एसोसिएसनका अध्यक्ष क्लाउडियो तापियाले सन् २०२२ को विश्वकप विजेता टोलीका सम्पूर्ण सदस्यहरूलाई पनि निमन्त्रणा गरेका छन्। बिदाइ खेलअघि अक्टोबर ४, आइतबार बिहान ५:४५ बजे अर्जेन्टिना र बुर्किना फासोबीचको पहिलो ऐतिहासिक मैत्रीपूर्ण खेल पनि कान्तिपुर म्याक्समा प्रत्यक्ष प्रसारण गरिनेछ। यी दुवै खेलहरू कान्तिपुर म्याक्स टेलिभिजनका साथै यसको युट्युब लगायतका डिजिटल र स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध हुनेछन् भने खेलपछिका हाइलाइट्स र रीप्लेहरू नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा एक महिनासम्म हेर्न सकिनेछ।
लियोनेल मेस्सी विश्व फुटबल इतिहासकै सर्वाधिक सफल र प्रतिष्ठित खेलाडी हुन्। मेस्सीको नाममा सर्वाधिक ८ पटक ब्यालोन डी’ओर र ६ पटक युरोपियन गोल्डेन शु जित्ने अद्वितीय कीर्तिमान रहेको छ। सन् २०१२ मा एकै क्यालेन्डर वर्षमा ९१ गोल गर्दै ‘गिजिन वर्ल्ड रेकर्ड’ बनाएका मेस्सीले एफसी बार्सिलोनाका लागि ६७२ गोल र ला लिगामा ४७४ गोल गर्दै इतिहास रचेका छन्। ४५ भन्दा बढी प्रमुख उपाधिहरू जित्दै फुटबल इतिहासकै सबैभन्दा बढी ट्रफी हात पार्ने खेलाडी बनेका मेस्सीको नेतृत्वमा अर्जेन्टिनाले सन् २०२२ को फिफा विश्वकपका साथै दुई पटक कोपा अमेरिका जितेको छ। उहाँ विश्वकपमा सर्वाधिक म्याच खेल्ने र अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन।















Discussion about this post