१२ असोज २०८३, सोमबार
काठमाडौं । राजधानीमा आयोजित एक भव्य समारोहका बीच यस वर्षको ‘मिस युनिभर्स नेपाल’ र ‘मिस अर्थ नेपाल’ का विजेताहरूको घोषणा गरिएको छ। आइतबार साँझ सम्पन्न ग्रान्ड फिनालेमा १४ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि आफ्नो हातमा पारिन्। त्यसै गरी, सोही मञ्चबाट विनिता ओलीलाई ‘मिस अर्थ नेपाल २०२६’ को ताज पहिराइयो।
मुख्य निर्णायकका रूपमा पूर्व मिस युनिभर्स इन्डिया तथा बलिउड अभिनेत्री सेलिना जेटली उपस्थित रहेको उक्त कार्यक्रममा युकेमा बस्दै आएकी नवनियुक्त मिस युनिभर्स नेपाल प्रायश्ना गुरुङले महिला सशक्तीकरण र उद्यमशीलताका लागि ‘द डिग्निटी’ नामक सामाजिक परियोजना सञ्चालन गर्दै आएको जानकारी गराइएको थियो। अर्कोतर्फ, २७ वर्षीया मिस अर्थ नेपाल विनिता ओलीसँग पूर्व अन्तर्राष्ट्रिय एयरहोस्टेसको अनुभव रहेको छ।
विगत लामो समयदेखि मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले सञ्चालन गर्दै आएको मिस अर्थको अधिकार केही समयअघि छाडेको थियो। तर यस वर्ष भने मिस युनिभर्स नेपालको इजाजत प्राप्त संस्थाले नै मिस युनिभर्स र मिस अर्थ दुवैको संयुक्त आयोजना गरी विजेताहरू चयन गरेको हो।















Discussion about this post