११ असोज २०८३, आइतबार
जापान ,नागोया : जापानमा जारी २० औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष टी-२० क्रिकेट प्रतियोगितामा समूह ‘ए’ को विजेता बन्दै नेपाली टोलीले क्वार्टरफाइनलको यात्रा तय गरेको छ। निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा शनिबार आयोजना गरिएको समूह चरणको अन्तिम खेलमा नेपाल र आयोजक जापानबीचको भिडन्त खराब मौसम र अविरल वर्षाका कारण नतिजाविहीन टुंगिएको हो। यस अघिल्लो खेलमा बलियो प्रतिद्वन्द्वी अफगानिस्तानमाथि ५ विकेटको शानदार जित दर्ता गरिसकेको नेपालले जापानसँग १-१ अंक बाँड्दै कुल ३ अंकका साथ तालिकाको शीर्ष स्थान कब्जा गर्यो। यस नतिजासँगै आयोजक जापान प्रतियोगिताबाट बाहिरिएको छ भने समूहको उपविजेता बनेको अफगानिस्तान पनि अन्तिम आठमा पुग्न सफल भएको छ।
वर्षाले प्रभावित भई १५ ओभरमा छोट्याइएको उक्त खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ट पुनरागमन गर्दै ४ विकेटको क्षतिमा १४९ रनको मजबुत योगफल खडा गरेको थियो। सुरुआती ब्याटरहरू सस्तैमा समेटिएपछि संकटमा परेको नेपाली इनिङ्सलाई सन्दीप जोरा र लोकेश बमको विस्फोटक साझेदारीले उकासेको थियो। सन्दीपले मात्र ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५७ रनको योगदान दिए भने लोकेशले २२ बलमा ६ छक्का र १ चौकाको मद्दतमा ५२ रनको आक्रामक अर्धशतकीय पारी खेले। जापानका तर्फबाट रियो साकुरानो थोमस, इब्राहिम ताकाहासी, जेक कुसुदा नैरिन र डेक्लान सुजुकीले १-१ विकेट हात पारेका थिए।
नेपालले दिएको १५० रनको विजयी लक्ष्य पछ्याउन जापान मैदान उत्रिनै नपाई भारी वर्षा सुरु भएपछि खेल रद्द गर्ने निर्णय लिइएको थियो। जापानमा बसोबास गर्ने नेपाली समर्थकहरूको बाक्लो उपस्थितिमा मैदान नेपालीमय बनेको थियो भने दर्शकको निरन्तर हुटिङले टोलीको उत्साह बढाएको थियो। अब सेमिफाइनल प्रवेशका लागि नेपालले सेप्टेम्बर २९ (मंगलबार) मा हुने रोमाञ्चक क्वार्टरफाइनल भिडन्तमा टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्नेछ।
तथ्यांकका हिसाबले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा नेपाल र श्रीलंकाबीच अहिलेसम्म एउटा मात्र औपचारिक खेल तय भएको छ; सन् २०२४ को टी-२० विश्वकपमा दुवै टोली एउटै समूहमा रहे पनि अमेरिकाको फ्लोरिडामा भारी वर्षाका कारण टस समेत नभई खेल रद्द भएपछि औपचारिक मैदानमा आमनेसामने हुने यो नै उनीहरूको पहिलो ऐतिहासिक अवसर बन्नेछ।














Discussion about this post