१२ श्रावण २०८०, शुक्रबार
याङ्गुन । म्यानमारमा विकसित पछिल्लो घटनाक्रमबारे जानकार एक अधिकारी अनुसार म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई राजधानी नेपिटस्थित विशिष्ट व्यक्ति आवासमा सारिएको छ।
सन् २०२१ को सैनिक विद्रोहमा अपदस्थ गरिएकी सुकीले तल्लो सदनका सभामुख ती खुन म्याटसँग भेटवार्ता पनि गरेकी छिन्। उनले चीनका एसियाली मामिलासम्बन्धी विशेष दूत देङ सिजुआनलाई पनि भेट्ने सम्भावना रहेको ती अधिकारीले पुष्टि गरेका छन्। यसै महिना थाइल्यान्डका विदेशमन्त्रीले उनीसँग भेटवार्ता गरेका थिए।
निर्वाचित नेतृ सुकीलाई अपदस्थ गरिएसँगै देशमा भड्केको हिंसामा परी तीन हजार आठ सयभन्दा बढीको मृत्यु भएको छ भने दश लाखभन्दा बढी विस्थापित भएका छन्।
हिरासतमा रहनुभएकी ७८ वर्षीय नोबेल पुरस्कारविजेता सुकीको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त भएको छ। उनीमाथि भ्रष्टाचार, गैरकानुनी रूपमा वाकिटकी राखेको, कोरोना महामारीमा जारी गरिएका प्रतिबन्धको पालना नगरेकोलगायत आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको छ।
Discussion about this post