१० कात्तिक २०८३, मंगलबार
काठमाडौं : बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’ को प्रभाव नेपालमा पनि पर्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हालै एक विशेष बुलेटिन जारी गर्दै आगामी बिहीबारदेखि मौसममा उल्लेखनीय परिवर्तन आउने र विशेष गरी शुक्रबार तथा शनिबार देशका विभिन्न भागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार उक्त चक्रवात शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ अग्रसर भई भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रमा प्रवेश गर्ने आकलन गरिएको छ। यस प्रणालीको प्रभावस्वरूप नेपालमा मौसम पूर्णतया बदली भई देशका अधिकांश स्थानमा वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्नेछ।
प्रस्रुत बुलेटिनअनुसार कात्तिक १२ गते बिहीबारबाट सुरु हुने यो मौसमी प्रणालीको प्रभाव विशेष गरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार निकै प्रभावकारी रहनेछ। यस अवधिमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित मध्यम वर्षा हुने र केही भूभागमा भारी वर्षाको समेत प्रचुर सम्भावना रहेको छ। यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागमा भने भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेकोले सम्बन्धित क्षेत्रहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
यस किसिमको प्रतिकूल मौसमका कारण हाल चलिरहेको धानबाली भित्र्याउने कृषि कार्यमा प्रत्यक्ष असर पर्न सक्ने देखिएको छ। धान काटिसकेका वा काट्न बाँकी रहेका किसानहरूलाई आफ्नो बाली जोगाउन आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा वा भ्रमण गर्ने पर्यटकहरूलाई मौसमको ताजा स्थितिबुझेर मात्रै यात्रा गर्न तथा प्रतिकूल परिस्थितिमा सुरक्षित आश्रयस्थलमा रहन आग्रह गरिएको छ। वर्षा र हिमपातले जनजीवन प्रभावित पार्नुका साथै चिसो बढाउने, बाढी, पहिरो, सडक अवरोध र हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारण र सम्बन्धित सबै निकायलाई पूर्वतयारी तथा सचेतता अपनाउन जोड दिइएको छ।

















Discussion about this post