काठमाडौं- नव निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा सहित आठ जना मन्त्रीले आज बुधबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियता सपथ ग्रहण गरेका छन्। नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवा मंगलबार दुई तिहाइ बहुमतबाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। शेरबहादुर देउवा नेपालका ४० औं प्रधानमन्त्री हुन्। सपथ ग्रहणपछि प्रधानमन्त्री शेर बहादुर देउवाले सिंहदरबार पुगेर कार्यभार सम्हालेका छन्।
देउवा नेतृत्वको सरकारमा पहिलो चरणमा विजयकुमार गच्छदार (उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास) कृष्णबहादुर महरा (उपप्रधान तथा परराष्ट्र), गोपालमान श्रेष्ठ (उपप्रधान तथा शिक्षा), ज्ञानेन्द्रबहादुर कार्की (अर्थ), फरमुल्ला मन्सुर (श्रम तथा रोजगार), जनार्दन शर्मा (गृह) र प्रभु शाहले (विना विभागीय मन्त्री)को रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन्।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगर, कायमुकायम प्रधानन्यायाधीश गोपाल पराजुली, पूर्वप्रधानमन्त्री, कुटनीतिक नियोगका प्रतिनिधिलगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेको थियो।
Discussion about this post