मंगलवार, जुन ७, जेठ २५
‘मभित्र मेरो हृदय सन्तापित भयो, जति सोचेँ त्यत्ति नै मभित्र आगो दन्कियो ।’ —भजन ३९:३
जब परमेश्वरले तपाईंलाई तपाईंको जीवनको निम्ति दर्शन दिनुहुन्छ, त्यो तपाईंभित्र निभाउन नसकिने आगो जस्तै बल्नेछ । भजनकारले भनेका छन्, ‘मभित्र मेरो हृदय सन्तापित भयो, जति सोचेँ त्यत्ति नै मभित्र आगो दन्कियो ।’ यसकारण, कुन कुराले तपाईंभित्र आगो बाल्छ ? तपाईंभित्र कुन कुरा ‘तातो’ भएर बल्छ ?परमेश्वरले तपाईंलाई कुनै काम गर्न बोलाउनुहुँदा, उहाँले तपाईंभित्र त्यो काम गर्ने इच्छा र त्यो काम गर्न सक्ने क्षमता दुवै सृजना गरिदिनुहुन्छ । तपाईंले आफैलाई असक्षम र अयोग्य ठान्नुभए तापनि, उहाँको यो वचनमा खडा हुनुहोस्ः ‘किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्छा गर्ने र काम गर्ने दुवै तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ’ (फिलिप्पी २:१३) । भारत अंग्रेजहरूको शासनमुनि रहेको समयमै महात्मा गान्धीले एक स्वतन्त्र र सार्वभौम भारतको दर्शन देखे । हेनरी फोर्डले जुन समयमा प्रत्येक अमेरिकी परिवारसँग एक दिन एउटा अटोमोबाइल अर्थात मोटर गाडी हुनेछ भन्ने दर्शन देखेका थिए, त्यस समय उनको नयाँ आविष्कारबाट मानिसहरू डराउँथे । अमेरिकी उद्योगपति ड्यानिएल के. लुडविगले त्यो समयमा ब्रजिलको जङ्गलको केन्द्रमा आत्मनिर्भर औद्योगिक क्षेत्रको दर्शन देखे जुन समय त्यहाँ वरिपरि सयौं माइलसम्म कुनै उद्योगधन्दा, विजुली, र कुनै शहर थिएन । पृथ्वीनारायण शाहले साना राज्यहरुलाई जितेर नेपालको एकिकरणको सपना देखे । जननेता मदन भण्डारीले त्यति नै अघि नै गणतन्त्रात्मक नेपाल राज्यको परिकल्पना गरे र त्यसको बारेमा बोले जति बेला अरु कुनै नेपालीले त्यो कुरा सम्भव देखेको थिएन । त्यसोभए, यस्ता सृजनशील इच्छाहरू कहाँबाट आउँछन् त ? परमेश्वरबाट, जो हाम्रा सृष्टिकर्ता हुनुहुन्छ ! अनि जब परमेश्वरले तपाईंलाई ठूलो विचार दिनुहुन्छ, तब तपाईं सानो सोच लिएर कहिल्यै पनि सन्तुष्ट भएर जिउन सक्नुहुन्न। के कतिपय समयमा तपाईंलाई के कसो गर्नु पर्ने हो भन्ने बारेमा डर लाग्ने र अनिश्चित महसुुस गर्ने समय हुनेछन् ? अवश्य ! डर र भरोसा एउटै सिक्काका दुई पाटा हुन्, अनि तिनीहरू तपाईंको सोचाइमा सधैँ रहनेछन् । तर तपाईंले जसलाई चुन्नुहुन्छ त्यसैले तपाईंको भविष्य निर्धारण गर्नेछ— अनि तपाईंले चुन्नु नै पर्छ !
आत्मिक भोजनः इजकिएल १६: ५३–१९:१४, मत्ती १६: १३–२८, भजन ४८, हितोपदेश १४: ३३–३५
Discussion about this post