अत्यन्तै दुर्गम तर सुन्दर हिमालहरूले सिंगारिएको जिल्ला हुम्ला कर्णाली अञ्चलमा पर्छ। करिब ३ हजार मीटर उचाईमा रहेको सिमीकोट हुम्ला जिल्लाको सदरमुकाम हो। सिम र कोट(डाँडा) मिलेर सिमकोट बनेको हो। स्थानीय बासिन्दाहरू यसलाई सिमकोट नै भन्ने गर्दछन्।
यस जिल्लाको नामाकरणको एउटा रोचक प्रसङ्ग रहेको छ। अनगिन्ती हिम श्रृखलाहरूले भरिएको यो जिल्लाको नामकरण पनि यसैको सेराफेरोमा आधारित छ। केहि व्यक्तिहरूको भनाइ अनुसार यस जिल्लामा अवस्थित प्रसिद्ध खार्पुनाथमा प्रचिनकालमा कोटी होम दगाएको हुनाले यही होम लगाएको अर्थात होमला बाट अपभ्रंस भई हुम्ला भएको भन्ने भनाई रहेको छ भने अर्का थरीको भनाई अनुसार हुल्म लङिरङ्ग अर्थात साँगुरो नदीबाट अपभ्रंस भई हुम्ला भएको हो भन्ने भनाई रहेको छ। यसका अतिरित्त हुण जातिहरूले यही बाटो भएर ल्हा भाज्याङ काटेर तिब्वत क्षेत्रमा प्रवेश गरेको हुनाले हुण र ल्हा बाट हुम्ला भएको भन्ने पनि भनाई रहेको छ।
हुम्लाको छोटो इतिहास:
सन १३९३मा मेदनी बर्मा जुम्लाका शासक भएपछि जुम्लाको शासित प्रदेश हुम्लालाई आफ्ना ज्वाँई बलिराज शाहीलाई दिएका थिए। यिनैको वंशजले सन् १७३६ सम्म यस प्रदेशमा शासन गरे। बहादुर शाहको कालमा विसं १८४६मा जुम्लालाई गोर्खाली फौंजले विजय गरेपछि जुम्ला शासित थियो। भक्ति थापाको नेतृत्वमा आएको फौंजले यो विद्रोह दवाउनुका साथै तिब्बतको खोजेर सम्मको भू-भागलाई नेपालको प्रशासकीय क्षेत्रको रूपमा मिलाएका थिए। तिब्वतको ताक्लाकोटबाट उत्तर पश्चिममा अत्यधिक रूपमा बसेका नेपालीहरूको स्थितिबाट पनि भक्ति थापाले तिब्वतका अरु भागहरू नेपालमा मिलाएका थिए भन्ने स्पष्ट हुन्छ। वि. सं. २०१८ सालमा भएको नेपालको राजनैतिक विभाजनमा हुम्ला एउटा स्वतन्त्र जिल्लाको रूपमा स्थापित हुन पुग्यो।
यो फोटो रेनु चाम्लिङ राईले खिच्नुभएको हो।
Discussion about this post