खुबै हाँसिलो स्वभावकी आमाले भन्दैहुनुहुन्थ्यो, “बाबु अमृत हो खानुस मिठो छ। चाखेको पैसा पर्दैन चाखेर हेर्नुस। मिठो छैन भने नलिनुहोला।” ग्राहकले एउटा केरा चाखे अनि २ दर्जन लिए। “म यो बाटोमा हिँड्न लागेको ३० वर्ष भयो म आमालाई सँधै देख्छु। आमाको व्यापार गर्ने तरिका राम्रो छ।” केरा खाँदै गरेका ग्राहकको भनाइ हो।
काठमाडौंबाट मुग्लीन जाँदा मलेखु पुलभन्दा लगभग १ किलोमिटर अगाडी हाइवेको छेउमा झरना (पानी धारा) नजिकै सितल छाँयामा फलफूल र खानेकुरा विक्री गर्ने स्थानिय दिदीहरूको व्यापार राम्रो चलेको छ। विशेषगरी प्राइभेट गाडी, मोटरबाइक, माइक्रो वस र ट्रकका चालकहरू झरनाको चिसो पानी पिउन गाडी रोक्ने गर्छन। मकै मकै खानुस, काँक्रो खानुस भनेर बोलाउन थाल्छन्। त्यहाँ थुप्रैले विक्री गर्ने भएता पनि एकजना आमाको पसलमा मानिसहरूको घुइँचो हुन्छ। बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने झैं। त्यो आमाले भन्नुहुन्छ, “बाबु अमृत खानुस मिठो छ। चाखेको पैसा पर्दैन चाखेर हेर्नुस। मिठो छैन भने नलिनुहोला।” व्यापारी आमाले मिठो छ अमृत हो भन्न छोड्नुहुन्न। त्यहाँ सोध्ने हेर्ने मान्छेलाई लिन मन लागिहाल्छ। मिठो हँसिलो स्वभावले धेरै फरक पार्दोरहेछ।
Discussion about this post