१३ मंसिर २०८३, आइतबार
मुगु । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च नेपालको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा पुर्याइएको छ। राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णाली प्रदेशका प्राकृतिक तथा पर्यटकीय सम्पदालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सञ्चालन गरिएको ट्रफी तथा टर्च यात्रा आइतबार रारा पुगेको हो।
नेपालकै ठूलो तालका रूपमा परिचित रारा समुद्री सतहबाट करिब दुई हजार ९९० मिटर उचाइमा अवस्थित छ। नीलो पानी, वरिपरिका हरिया वनजंगल र मनमोहक प्राकृतिक दृश्यका कारण रारा कर्णालीको प्रमुख पर्यटकीय आकर्षणका रूपमा परिचित छ। राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च रारासम्म पुर्याउनुले खेलकुद र पर्यटनलाई एकसाथ जोड्ने प्रयासलाई थप अर्थपूर्ण बनाएको छ। प्रतियोगिताको प्रचारसँगै कर्णालीका पर्यटकीय गन्तव्यको पहिचान विस्तार गर्ने लक्ष्यसमेत यस अभियानले बोकेको छ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको ट्रफी तथा टर्च यात्रा शुक्रबार दैलेखको श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च प्रज्वलन गरी अघि बढाइएको थियो। म्याराथन धावक हरिबहादुर रोकायाको नेतृत्वमा रहेको टोली कालीकोट र जुम्ला हुँदै मुगुको रारा पुगेको हो। टोलीमा ओलम्पियन दीपक विष्ट, देबु थापा, दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाया र कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलगायत खेलकुद क्षेत्रमा योगदान पुर्याएका खेलाडी सहभागी छन्। यसअघि टोलीले जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा ट्रफी तथा ओलम्पिक टर्च पुर्याएको थियो। जुम्ला बजार परिक्रमा गराएर धार्मिकस्थलमा पुर्याइएको ट्रफी र टर्च त्यसपछि रारा लगिएको हो।
रारामा पहिलोपटक ओलम्पिक टर्च पुर्याउन पाउँदा खुसी लागेको ओलम्पियन दीपक विष्टले बताएका छन्। यस अभियानले कर्णालीको प्राकृतिक सुन्दरता र सम्भावनालाई देश–विदेशमा चिनाउन सहयोग पुग्ने उनको विश्वास छ। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ। प्रतियोगिताका १० खेल भने मङ्सिर ८ गतेदेखि नै सुरु भइसकेका छन्। प्रतियोगिताको औपचारिक उद्घाटन मङ्सिर १६ गते सुर्खेतस्थित प्रदेश रङ्गशालामा गर्ने कार्यक्रम छ।















Discussion about this post